दुबाई(युनाइटेड अरब इमिरेट्स),६ मंसिर । युएईमा आज सुरु भएको टी २० विश्वकप एसिया छनोट अन्तर्गत पहिलो खेलमा नेपाल हंगकंगसंग ६ विकेटले पराजित भएको छ।
युएईको आईसीसी ग्लोबल एकेडेमी मैदानमा भएको खेलमा नेपालले दिएको १ सय ५ रनको लक्ष्य हंगकंगले ४ विकेट क्षतिमा २ ओभर बाँकी रहँदै हासिल गर्यो।
हंगकंगको ब्याटिंगमा ओपनर मरिको हिलले ४४ रन, केरी चानले १७, नताशा माइल्सले १६, इमा लाईले अविजित १३ रन,सान्जिन सहजादले ७ र यस्मिन दासवानी २ रनको योगदान दिएका थिए।
हंगकंगलाई रोक्ने क्रममा नेपालको बलिंगमा कविता कुँवर , सीता राना मगर र सबनम राईले समान एक एक विकेट लिए।
यस अघि टस हारेर ब्याटिंग गरेको नेपालले २० ओभरमा ३ विकेट क्षतिमा १ सय ४ रन बनाएको थियो। नेपालको लागि सीता राना मगरले ४० रन इन्दु बर्माले ३१ रन, काजल चौधरीले ४ र रुविना क्षेत्रीले २ रन बनाएक थिए ।
नेपाललाई रोक्ने क्रममा हंगकंग बलर चान का मान र केरी चानले समान एक विकेट लिए।
प्रतियोगिता अन्तर्गत नेपालले दोश्रो खेल मंगलबार नोभेम्बर २३मा भुटानसंग खेल्नेछ। खेल नेपाली समय दिउसो ३ :१५ बजे सुरु हुनेछ।
सन् २०२३ को फेब्रुअरीमा दक्षिण अफ्रिकामा आयोजना हुने महिला विश्वकप टी ट्वान्टी विश्वकपको छनोट अन्तर्गत नेपालले पहिलो खुड्किलोको रुपमा एसिया छनोट खेल्न लागेको हो।
प्रतियोगितामा नेपाल सहित आयोजक युएई, भुटान, हंगकंग, मलेसिया र कुवेत गरि ६ टिम सहभागी छन्। हरेक टिमले एकअर्का संग एकएक खेलमा प्रतिस्पर्धा गरेपछि उत्कृष्ट हुने एउटा टिम आगामी वर्ष आयोजना हुने ग्लोबल छनोट प्रतियोगितामा छनोट हुनेछ।
नेपाली महिला टोलीले २०१९ को टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा हङकङलाई चार विकेटले हराएको थियो ।


















