डडेल्धुरा, ७ मंसिर । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र उहाँकी धर्मपत्नी तथा नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा महाधिवेशन प्रतिनिधिका लागि सर्वसम्मत चयन हुनुभएको छ ।
उहाँहरु दुवै जना गृह जिल्ला डडेल्धुराबाट महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन हुनुभएको हो । उहाँहरु दुवै जनाले मञ्जुरीनामा मार्फत उम्मेदवारी दिनुभएको हो ।
कांग्रेस पार्टीको विधानको धारा १५ को उपधारा १ ९ग० मा केन्द्रीय समितिका पदाधिकारी र सदस्य स्वतः एक अवधिका लागि महाधिवेशन प्रतिनिधि हुने उल्लेख छ ।
सभापतिमा प्यालनसहित साउँद विजयी
नेपाली कांग्रेसको सातौं जिल्ला अधिवेशनबाट डडेल्धुराको सभापतिमा भीमबहादुर साउँद विजयी हुनुभएको छ।
सभापतिका प्रत्यासी चूडामणि ठकुराठीलाई पराजित गर्दै साउँद विजयी हुनुभएको हो ।
साउँदले ७ सय ३४ मत पाउदा ठकुराठीले ७६ मत पाउनुभएको थियो।
साउँद परशुराम नगरपालिकाका मेयर हुनुहुन्छ । यस्तै‚ उपसभापतिमस लक्ष्मीप्रसाद अवस्थी, डिल्लीराज जोशी, सचिवमा हेमराज चटौत र शेरबहादुर भण्डारी विजयी हुनुभएको छ ।
उपसभापति द्वय अवस्थी र जोशी निर्विरोध निर्वाचित हुनुभयो भने सचिव पदमा भने निर्वाचन भएको थियो। सहसचिवमा प्रेमराज महर र गोविन्दराज बोहरा निर्विरोध निर्वाचित हुनुभएको छ।
निर्वाचित हुनेहरुमा खुला सदस्यमा अमरगढी नगरपालिकाबाट दुर्लभसिंह झुकाल, हरिप्रसाद अवस्थी र विस्नादेवी गैराल, परशुराम नगरपालिकाबाट अर्जुनसिंह साउँद, दलबहादुर साउँद र बसन्ती देवी पाण्डेय, आलिताल गाँउपालिकाबाट प्रेमबहादुर पातली र गोमती देवीबोहरा, भागेश्वर गाउँपालिकाबाट उपेन्द्र जोरा र शान्तिदेवी जैशी, अजयमेरु गाँउपालिकाबाट रामबहादुर विष्ट र ईश्वरी चन्द, नवदुर्गा गाँउपालिकाबाट नरबहादुर विष्ट र उत्तरा रोश्यारा, गन्यापधुरा गाँउपालिकाबाट चन्द्रादेवी विष्ट हुनुहुन्छ ।
यसैगरि महिला खसआर्यतर्फ पशुरपति कुमारी बोहरा, जला विष्ट बोगटी, वसन्ती भण्डारी र लक्ष्मी पनेरु सर्वसम्मत चयन हुनुभएको छ । दलित महिला सदस्यमा दीपा कामी सर्वसम्मत हुनुभयो भने जनजातितर्फ वसन्तीदेवी थापा सर्वसम्मत ।
यसैगरी डडेल्धुरा जिल्लाबाट महाधिवेशन प्रतिनिधिमा डा. आरजू राणा देउवा सर्वसम्मत हुनुभयो। खुला महिलाबाट राणासहित सरस्वती खड्का, कौशिला भट्ट र कलावतीदेवी बोहरा सर्वसम्मत महाधिवेशन प्रतिनिधि निर्वाचित हुनुभएको छ।
दलितमहिला समावेशी महाधिवेशन प्रतिनिधिमा हरिनादेवी कामी र दलितपुरुष समावेसी महाधिवेशन प्रतिनिधिमा सञ्जय जैरु सर्वसम्मत निर्वाचित हुनुभएको छ।
समावेशी जनजाती महाधिवेशन प्रतिनिधिमा बलबहादुर गुरुङ र समावेशी अपाङ्ग अल्पसंख्यकतर्फ जयप्रकाश भट्ट सर्वसम्मत निर्वाचित हुनुभएको छ।
कुल २४ जना महाधिवेशन प्रतिनिधिमा खुला महिला ४, दलित, जनजाति र अपाङ्ग गरी ७ जना सर्वसम्मत भए पनि खुला १० जनामा २१ जना, खसआर्य महिला ३ जनामा ४ र खस आर्य पुरुष ४ जनामा ६ जनाको उमेदवारी रहेको छ। महाधिवेशन प्रतिनिधिको मत गणना जारी रहेको छ।