Prakash Adhikari March 4, 2018

 

काठमाडौं,२० फागुन ।राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा राष्ट्रियसभा सदस्यमा मनोनित तीन जनाविरुद्ध परेको रिटको सुनुवाइ स्थगित भएको छ ।

आइतबार न्यायाधीश हरिकृष्ण कार्की र प्रकाशमान सिंह राउतको संयुक्त इजलासमा यस मुद्दाको सुनुवाई सुरु भएको थियो ।

निवेदकको तर्फबाट बहस गर्दै अधिवक्ता बाबुराम जोशीले दुबै न्यायाधीशले यो मुद्दा हेर्न नमिल्ने तर्क दिएपछि यो मुद्दा अप्ठेरोमा पर्न पुग्यो ।

अधिवक्ता जोशीका अनुसार न्यायाधीश राउतले अन्तरिम आदेश दिएको तथा कार्की केपी ओली नेतृत्वको अघिल्लो सरकारमा महान्यायाधिवक्ता भएकाले ओली सरकारले गरेको सिफारिसबारे मुद्दा हेर्न मिल्दैन ।

दुवै न्यायाधीशले आपसी छलफलपछि पक्षहरुलाई मुद्दा हेर्न नमिल्ने जानकारी गराएका छन् ।

पूर्ववती शेरबहादुर देउवाको सरकारले गरेको सिफारिस रद्द फिर्ता लिएर ओली सरकारले डा.युवराज खतिवडा, रामनारायण विडारी र विमला पौडेलको नाम सिफारिस गरेको थियो ।

राष्ट्रपतिले ओली सरकारले सिफारिस गरेका तीन जनालाई राष्ट्रियसभा सदस्य मनोनित गरेपछि देउवा सरकारले सिफारिस गरेका गोपाल बस्नेत, चाँदनी जोशी र कृष्णप्रसाद पौडेल न्यायको लागि जना सर्वोच्च गएका थिए ।

सर्वोच्चले यस अगाडि नै तीन जनाको शपथ रोक्न अन्तरिम आदेश दिइसकेको छ ।

Share Now

Leave a comment.