काठमाडौं, ८ मंसिर । नेपाली कांग्रेसको १४ आं महाधिवेशनका क्रममा पाँचथर,बैतडी, रोल्पा र जुम्ला जिल्लामा नयाँ नेतृत्व आएको छ ।
एक मात्र संघीय प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा मंसिर ६गते नै जिल्ला अभिवेशन भएको थियो । एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा मंसिर १० गते जिल्ला अधिवेशन हुने भएको छ ।
पाँचथर कांग्रेस सभापतिमा जबेगू विजयी
नेपाली कांग्रेस जिल्ला कार्यसमिति पाँचथरको सभापतिमा रुपनारायण जबेगू विजयी हुनुभएको छ । प्रतिद्वन्द्वी सुरेन्द्रकुमार दाहाललाई २०० बढी मतान्तरले पराजित गर्दै जबेगू सभापति निर्वाचित हुनुभएको हो ।
गएराति सम्पन्न मतगणनाअनुसार जबेगू ६३४ मत प्राप्त गर्दै विजयी हुनुभएको हो । दाहालले भने ४१६ मत प्राप्त गर्नुभयो । उपसभापति पदमा भने वृजहाङ आङदेम्बे र डिकेन्द्रकुमार चेम्जोङ विजयी हुनुभएको छ । आङदेम्बे ६२५ र चेम्जोङ ४५१ मत प्राप्त गर्दै विजयी हुनुभएको हो ।
सचिव पदमा दीपक नेपाल ५२७ मत र डेकेन्द्रकुमार तामाङ ४७० मत प्राप्त गर्दै विजयी हुनुभएको छ । सचिव पदमा धनराज तुम्बापोले ४१४, सुवराज थापाले ३७७ र एकराज नेम्वाङले १५६ मत प्राप्त गर्नुभएको छ । यस्तै सहसचिव पदमा ६०८ मत प्राप्त गर्दै सन्तोष श्रेष्ठ र ४९९ मत प्राप्त गर्दै गजेन्द्र राई विजयी हुनुभएको छ । सहसचिव पदमा धनसिंह नेम्वाङले ४३० र कृष्णकुमार फियाकले ३७० मत प्राप्त गर्नुभएको छ ।
यस्तै निर्वाचन भएका जिल्ला सदस्य पदमा गणेशप्रसाद पोखरेल, विजयहाङ आङदेम्बे, धनकुमार लावती, देउकुमार योङहाङ र शशीराज आङदेम्बे विजयी हुनुभएको छ ।
यस्तै विमला हाङसरुम्बा, राजकुमार नेम्वाङ, रमेशभगत प्रधानाङ्ग, दिला खेवाङ, मविन्द्र योङया, चन्द्रकुमार आङदेम्बे, वीरेन्द्रकुमार शेर्मा, डिलेन्द्रकुमार शेर्मा, लिला राई, मनकुमारी शेर्मा, गोविन्दबहादुर फुयाल विजयी हुनुभएको छ । बाँकी जिल्ला कार्यसमितिका सदस्य भने निर्विरोध निर्वाचित भइसकेका छन् ।
बैतडीको सभापतिमा चन्द विजयी
नेपाली कांग्रेस बैतडीको सभापतिमा चतुरबहादुर चन्द विजयी हुनुभएको छ । आज बिहान सार्वजनिक भएको मत परिणामअनुसार चन्द ३२० मतान्तरले विजयी हुनुभएको हो ।
सभापतिमा चन्दले ८०९ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम् प्रतिद्वन्दी शिवराज भट्टले ४८९ मत प्राप्त गरेको जिल्ला निर्वाचन अधिकृत पुष्पराज जोशीले जानकारी दिनुभयो । यस्तै उपसभापतिमा वीरबहादुर विष्ट ६५८ मत प्राप्त गरी विजयी हुनुभयो । अर्का उपसभापतिमा चन्द प्यानलका खगेन्द्रसिंह धामी ६२४ मतसहित विजयी हुनुभयो । उपसभापतिमा चन्द प्यानलका रमेशदत्त पाण्डे ९६०८० र भट्ट प्यानलका हरिसिंह धामी ९५५२० मत ल्याएर पराजित हुनुभयो ।
यस्तै सचिवमा चन्द प्यानलका प्रेमबहादुर चन्द ६४० तथा देवराज जोशी ६३३ मत प्राप्त गरी विजयी हुनुभयो । सचिवमा पराजित भट्ट प्यानलका रमेशसिंह भण्डारीले ५९५ र कर्णबहादुर बोहराले ५२९ मत प्राप्त गर्नुभयो । सहसचिवमा पनि चन्द प्यानलकै दीपेन्द्रबहादुर चन्द ६६६ र दशरथसिंह चाड ६५४ मत ल्याएर विजयी हुनुभएको निर्वाचन अधिकृत जोशीले जानकारी दिनुभयो । सो पदमा पराजित भट्ट प्यानलका घनश्याम भट्टले ५३० र रमेश कोलीले ५७४ मत ल्याउनुभयो ।
एक उपसभापतिबाहेक सबै पदाधिकारीमा चन्द प्यानलकै उमेदवार विजयी भएका छन् । जिल्लामा एक हजार ४०२ प्रतिनिधि रहेकामा एक हजार ३४८ मत खसेको थियो ।
रोल्पा कांग्रेस सभापतिमा किशोर विजयी
नेपाली कांग्रेस रोल्पाको सभापतिमा किशोर आचार्य विजयी हुनुभएको छ । आचार्यले प्रतिस्पर्धी मानबहादुर खत्रीलाई ६२ मतान्तरले पछि पार्दै विजयी हुनुभएको हो ।
आचार्यले ५०२ मत प्राप्त गर्दा खत्रीले ४४० मत पाएका पाउनु भएको थियो । कार्यसमितिको अन्य पदाधिकारीमा पनि आचार्यको प्यानल विजयी भएको छ । कार्यसमितिको उपसभापितमा कविता उपाध्यायले ४७५ र हरिबहादुर पुनले ५०३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उपसभापतिको प्रतिस्पर्धी अमृत घर्तीले ४३० र लेखमणि डाँगीले ४४२ मत प्राप्त गर्नुभएको थियो ।
यसैगरी सचिवमा तिलबहादुर बुढाथोकी ५१३ र शेरबहादुर थापाले ४४५ मत प्राप्त गरी विजयी हुनुभएको छ । सचिवका प्रतिस्पर्धी दीपक श्रेष्ठ ४०८ र रेगबहादुर पुनले ३९७ मत प्राप्त गर्नुभएको थियो । सहसचिवमा गंजबहादुर क्षेत्री ५५३ र सुनिलकुमार वली ४७२ मत प्राप्त गरी विजयी हुनुभएको छ । सहसचिवका प्रतिस्पर्धी लीलाधर आचार्य २६६ र हुकुम बुढाले ३८१ मत प्राप्त गर्नुभयो । कूल एक हजार ९३ मतदाता रहेको रोल्पा कांग्रेसको निर्वाचनमा एक हजार ४२ मत खसेको निर्वाचन अधिकृत सूर्यबहादुर वलीले जानकारी दिनुभयो ।
निर्वाचनमा मानबहादुर खत्री र किशोरकुमार आचार्यले सभापतिमा प्रतिस्पर्धा गर्नुभएको थियो । कार्यसमिति सदस्य र महाधिवेशन प्रतिनिधिको मतगणना चलिरहेको छ ।
कांग्रेस जुम्ला सभापतिमा शाही विजयी
नेपाली कांग्रेस जुम्लाको जिल्ला सभापतिमा कर्णबहादुर शाही निर्वाचित हुनुभएको छ ।
आज सम्पन्न भएको मतगणनामा अर्का उम्मेदवार दीपबहादुर शाहीलाई पाँच मतले पछि पार्दै उहाँ विजयी भएको सहायक निर्वाचन अधिकृत दुर्गाबहादुर बस्नेतले बताउनुभयो । थप विवरण आउन बाँकी रहेको निर्वाचन मण्डलले जनाएको छ ।


















