Prakash Adhikari November 30, 2021

नेपाली कांग्रेस धनुषा क्षेत्र नं ४ को कार्यसमिति, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यसहित सबैपदमा सर्वसम्मतिले नेतृत्व चयन भएको छ । क्षेत्रीय सभापतिमा कुमरकान्त झा, सचिवमा बुधेश्वर महतो र जगदीश यादव, सहसचिवमा सञ्जयकुमार यादव र शैलेन्द्र महतो सर्वसम्मत चयन हुनुभएको हो । त्यसैगरी एक महिलासहित चारा सदस्य निलम ठाकुर, अर्जुनकुमार महतो, रामजुलुम यादव र रामदयाल महतो चयन हुनुभएको छ ।

प्रदेशको ४ (क) बाट इन्दु यादव, जुगलकुमार यादव र राजु साह तथा प्रदेश ४ (ख) बाट किरणकुमारी सिंह, मोहन मण्डल र मकेश्वर यादव चयन हुनुभएको छ । त्यस्तै समानुपातिकतर्फ महिलामा निर्मला कोइराला, शशिकला बराल, मधेसी पुरुषमा कमल राउत, रामनरेश मिश्र, खस आर्यबाट रामेश्वर घिमिरे, दलितबाट अम्बर परियार र अल्पसङ्ख्यकबाट राजेश्वर झालाई चयन गरिएको छ ।

यसैगरी महाधिवेशन प्रतिनिधिमा तरुण दलका पूर्वकेन्द्रीय अध्यक्ष तथा पूर्वमन्त्री महेन्द्र यादव, पूर्वसांसद डा चन्द्रमोहन यादव, क्षीरेश्वरनाथ नगरपालिका प्रमुख योगेन्द्र पजियार, वासुलाल महतो, राजकुमार महतो, धीरेन्द्र मोहन झा, समीर घिमिरे, सन्तोष यादव, कोमलकान्त झा, नवकिशोर यादव, सरु लामा, तुल्सा आचार्य, सरिता यादव, रचना श्रेष्ठ माथेमा, वीरेन्द्रकुमार सिंह, रामवरण पासमान, पवनदेवी दास, इब्राहिम राइन, निर्मला झा, मीनादेवी, विणा यादव, बुलन यादव, रामपदारथ यादव, अशोक ठाकुर र मनोज मिश्रलाई सर्वसम्मतिले चयन गरिएको छ ।

त्यस्तै महासमिति सदस्यमा भने पुरुष तर्फबाट महेन्द्र यादव, डा चन्द्रमोहन यादव, वासुलाल महतो, योगेन्द्र पजियार र सन्तोष यादव तथा महिलातर्फबाट तुल्सा आचार्य र रचना माथेमा श्रेष्ठ, समानुपातिक महिलाबाट बीना यादव, पुरुषबाट राजकुमार महतो, आदिवासी जनजातिबाट वीरेन्द्रप्रसाद सिंह र खस आर्यबाट समीर घिमिरेलाई चयन गरिएको छ ।

सर्लाही वडा अधिवेशन मा झडप, निर्वाचन अधिकृतसहित ६ घाइते

नेपाली कांग्रेस सर्लाहीको वडा अधिवेशनस्थलमा झडप भएको छ । बलरा नगरपालिका–८ गहडीयामा झडप हुँदा मतदान अधिकृतसहित ६ जना घाइते भएका छन् ।

कांग्रेसको एउटा समूहले आफूहरुसँग बहुमत रहेको भन्दै मतदान अधिकृत उमेशचन्द्र झालाई नियन्त्रणमा लिएर एकलौटी हिसाबले अधिवेशन गराउन खोजेपछि झडप भएको हो । मतदान अधिकृत झालाई प्रहरीले मतदानस्थलबाट उद्धार गरी लैजान खोज्दा उनीमाथि ढुङ्गामुढा प्रहार गरिएको प्रहरीले जनाएको छ । सो क्रममा प्रहरी निरीक्षक सुरेश ठाकुर, प्रहरी सहायक निरीक्षक अरुणकुमार यादव, प्रहरी हवल्दारद्वय अवधेशप्रसाद यादव र राजेश चौधरी तथा प्रहरी जवान रामानन्द यादव घाइते भएका छन् । प्रहरीले झडपलाई नियन्त्रणमा लिन तीन राउण्ड अश्रु ग्यास प्रहार गरेको थियो ।

गम्भीर घाइते निर्वाचन अधिकृत झा र प्रहरी सहायक निरीक्षक यादवलाई उपचारका लागि वीरगञ्ज पठाइएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडाले जानकारी दिनुभयो । अन्य घाइतेको जिल्ला अस्पताल मलङ्गवा र सर्लाहीमा उपचार भइरहेको छ । झडपपछि वडा अधिवेशन स्थगित गरिएको छ ।

यसअघि आइतबार पनि बलरा नगरपालिका–९ अचलगढमा कांग्रेसको दुई समूहबीच झडप भएको थियो । जिल्लाका ११ नगरपालिका र नौ गाउँपालिकाका दुई सय वडामध्ये आइतबार १६० भन्दा बढी वडामा सहमतिबाटै नेतृत्व चयन भएको थियो । बाँकी वडामा आज मतदान प्रक्रिया अघि बढाइएको जिल्ला निर्वाचन अधिकृत भरत राउतले बताउनुभयो । जिल्लामा सदस्यता सम्बन्धी विवाद रहेको छ ।

Share Now

Leave a comment.