Prakash Adhikari December 2, 2021

काठमाडौँ, १६ मंसिर । कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत आज सातै प्रदेशको अधिवेशन सुरु हुँदैछ ।

सातै प्रदेशमा हुने अधिवेशनको सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम छ ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री देउवाद्धारा बिहीबार दिउँसो २ बजे भर्चुअल माध्यमबाट एकैसाथ सातै प्रदेश महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम तय भएको जानकारी दिनुभएको छ ।

२०७२ सालमा नेपाली कांग्रेसको नेतृत्वमा संविधानसभाबाट जारी भएको संविधानले देशमा ७ प्रदेशको व्यवस्था गरी २०७४ सालमा भएको संघीय र प्रदेश निर्वाचनपछि सरकारले प्रदेश प्रमुख नियुक्त गरी संघीय शासनको जग बसाए पनि पार्टीले प्रदेश तहमा तदर्थ समिति स्तरको संरचना बनाउन सकेको थिएन ।

नेपाली कांग्रेसका लागि यो नयाँ संरचनाको पहिलो र ऐतिहासिक अधिवेशन हो । नेपाली कांग्रेसको प्रदेश अधिवेशनमा (क) प्रदेश सभा निर्वाचन क्षेत्रबाट निर्वाचित प्रदेश अधिवेशन प्रतिनिधि सदस्य,(ख) प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनबाट केन्द्रीय महाधिवेशनका लागि निर्वाचित केन्द्रीय महाधिवेशन प्रतिनिधि सदस्य,(ग) सम्बन्धित प्रदेशभित्रका निवर्तमान केन्द्रीय सभापति, उप–सभापति, महामन्त्री,कोषाध्यक्ष, सह–महामन्त्र र केन्द्रीय कार्यसमितिका सदस्य एक अवधिका लागिप्रदेश अधिवेशनका सदस्य,(घ) प्रदेशभित्रका जिल्ला कार्यसमितिका सभापति र (ङ) प्रदेशका भ्रातृ÷शुभेच्छुक संघ संस्थाका प्रमुख प्रतिनिधि हुन पाउने व्यवस्था छ तर प्रदेशका भ्रातृ÷शुभेच्छुक संघ संस्थाका प्रमुखलाई मतदानको मात्र अधिकार हुनेछ, उम्मेदवार बन्न पाउने छैनन्।

नेपाली कांग्रेसको प्रदेश १ को अधिवेशन विराटनगरमा हुनेछ । त्यस्तै, प्रदेश २ को जनकपुर, वाग्मतीको हेटौँडा, गण्डकीको पोखरा, लुम्बिनीको बुटवल, कर्णालीको सुर्खेत र सुदूरपश्चिमको धनगढीमा अधिवेशन हुने भएको छ ।

अधिवेशन उद्घाटन समारोहको अध्यक्षता भने सात प्रदेशमा फरक–फरक नेताहरूले गर्नु हुनेछ ।

कांग्रेसले प्रदेश अधिवेशन सम्प्न्न गर्नका लागि अधिवेशन व्यवस्थापन समिति गठन गरेको थियो । जसअनुसार प्रदेश १ मा कृष्णप्रसाद सिटौला, २ मा रमेश रिजाल, वाग्मतीमा प्रकाशमान सिंह, गण्डकीमा गोपालमान श्रेष्ठ, लुम्बिनीमा बालकृष्ण खाँण, कर्णालीमा जीवनबहादुर शाही र सुदूरपश्चिममा दिलेन्द्रप्रसाद बडूको संयोजकत्वमा प्रदेश महाधिवेशनहरू सम्पन्न हुनेछन् ।

निर्वाचन कार्यक्रम

समितिले मङ्सिर १६ गतेदेखि प्रदेश कार्यसमितिको निर्वाचन कार्यतालिका तय गरेको छ । मङ्सिर १६ गते बिहान १० बजे मतदाता नामावली प्रकाशित गर्ने, मङ्सिर १७ गते बिहान ८ देखि ११ बजेसम्म उम्मेदवार मनोनयन पत्र दर्ता गर्ने, सोही दिन दिउँसो ११ देखि १ बजेसम्म मनोनयन पत्रमाथि पर्ने दाबी विरोध दर्ता गर्ने, जाँचबुझ गर्ने र मङ्सिर १७ गते २ बजे सो उपर निर्णय गर्ने प्रदेश निर्वाचन कार्यतालिका रहेको छ ।

मङ्सिर १७ दिउँसो २ देखि साँझ ५ बजेसम्म उम्मेदवारको नेपाली वर्णानुक्रम (देवनागरी लिपी) पहिलो नाम प्रकाशित गर्ने, सोही दिन साँझ ६ः३० मनोनयन फिर्ता लिने, साँझ ७ः३० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र मङ्सिर १८ गते विहान ८ बजेदेखि प्रदेश कार्यसमितिका लागि मतदान सुरु हुने समिति संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिनुभयो ।
कांग्रेसको १४औँ महाधिवेशन यही मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुँदैछ ।

Share Now

Leave a comment.