बुटवल(रुपन्देही), १७ मंसिर । नेपाली कांग्रेसको लुम्बिनी प्रदेश अधिवेशनअन्तर्गत सभापतिका लागि दुई जनाको उम्मेदवारी परेको छ ।
संस्थापन पक्षबाट भरत शाह र संस्थापनइतरबाट अमरसिंह पुनले शुक्रबार उम्मेदवारी दर्ता गराउनुभएको छ । त्यस्तै दुई जना प्रदेश उपसभापतिका लागि चार जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
लुम्बिनीको उपसभापतिमा अष्टभुजा पाठक, भुवन श्रेष्ठ, राजु खनाल र सुधाकर पाण्डेले मनोनयन दर्ता गराउनुभएको छ । पाठक र श्रेष्ठ रामचन्द्र पौडेल समूहका हुनुहुन्छ भने खनाल र पाण्डे संस्थापननिकट।
दुईजना महामन्त्री पदका लागि भने पाँच जनाको उम्मेदवारी परेको छ । जसअनुसार खिमानसिंह रायमाझी, जन्मजय तिमिल्सिना, ताराप्रसाद फुल्लेल, विक्रम खनाल र सुरेन्द्रराज आचार्यले उम्मेदवारी दिनुभएको । खनाल र आचार्य पौडेल पक्षका हुनुहुन्छ भने बाँकी तीन जना संस्थापन समूहका ।
त्यसैगरी सहमहामन्त्री (महिला) मा दुई जना र पुरुषमा चार जनाको उम्मेदवारी परेको निर्वाचन समिति संयोजक बुद्धबहादुर थापाले जानकारी दिनुभयो ।
कांग्रेसका दुवै समूह प्यानल बनाएर चुनावी प्रचारमा जुटेका छन् ।
शनिबार बिहान साढे ८ बजेदेखि मतदानको कार्यक्रम तय गरिएको निर्वाचन समितिले जनाएको छ । यसअघि शुक्रबारै कांग्रेसको संस्थापनइतर समूहले भैरहवामा पत्रकार सम्मेलन गरी आफ्नो प्यानलका उम्मेदवार सार्वजनिक गरेको थियो ।
सभापति देउवा पक्षले भने बिहीबार नै आफ्ना उम्मेदवार सार्वजनिक गरेको थियो । चुनावमा दुवै पक्षले जित्ने दाबी गरेका छन् । संस्थापन समूहका सभापतिका उम्मेदवार शाहले आफ्नो जित निश्चित रहेको बताउँदै कांग्रेसलाई अझ एकताबद्ध बनाएर लैजाने बताउनुभयो ।
संस्थापनइतर समूहका सभापतिका उम्मेदवार पुनले जिल्ला अधिवेशनको परिणामले प्रदेशको निर्वाचनको परिणाम पनि आफ्नो पक्षमा पर्ने दावी गर्नुभयो ।


















