Prakash Adhikari December 3, 2021

 

काठमाडौं, १७ मसिर । छिमेकी भारतमा समेत कोरोनाभाइरसको ओमिक्रोन भेरिअन्ट फेला परेका बेला नेपालका स्वास्थ्यमन्त्रीले उक्त भेरिअन्टलाई नेपाल आउन नदिनू आवश्यक सबै उपायहरू अपनाइएको बताउनुभएको छ।

उहाँका भनाइमा नयाँ भेरिअन्टलाई समेत दृष्टिगत गर्दै खोप अभियानलाई सरकारले अझ सशक्त, लक्षित समूहमुखी र तीव्र पार्न लागेको छ।

शुक्रवार कुराकानी गर्दै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले कैयौँ लक्षित समूह खोप लगाउन नआएकाले छुट्टै अर्को खोप अभियान चलाउन लागिएको बताउनुभएको हो।

नयाँ भेरिअन्टको खतरा बढेको भन्दै सरकारले शुक्रवारबाटै हङ्‌कङसहित अन्य आठ मुलुकबाट नेपाल आउने यात्रुलाई प्रवेशमा रोक लगाइसकेको जानकारी उहाँले दिनुभयो।

आवश्यक परेमा अन्य देशहरूबाट आउने यात्रुलाई पनि प्रतिबन्ध लगाइने तथा नेपालभित्रै लकडाउनसहित विभिन्न उपाय अपनाउनुपर्ने अवस्था पनि आउन सक्ने उहाँको भनाइ छ।

शून्य मृत्यु

यसैबीच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रवार अपरान्ह जारी गरेको कोभिडसम्बन्धित दैनिक तथ्याङ्कमा विगत २४ घण्टाको अवधिमा कोरोनाभाइरस सङ्क्रमणका कारण शून्य मृत्यु भएको उल्लेख छ।

कोरोनाभाइरस महामारीको दोस्रो लहर सुरु भएयता २४ घण्टामा कोभिडका कारण कसैको पनि मृत्यु नभएको विवरण पहिलो पटक आएको मन्त्रालयले जनाएको छ।

गएको २४ घण्टाभित्र हामीलाई प्राप्त भएको तथ्याङ्कमा कसैको पनि कोभिड १९ सङ्क्रमणका कारण मृत्यु भएको भेटिएन। हाम्रो अभिलेख अनुसार शून्य मृत्यु भएको चैत्र २७ गतेपछि यो पहिलोपटक हो, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारीले भन्नुभयो।

मन्त्रालयले कोरोनाभाइरस सङ्क्रमणबाट मृत्यु हुनेहरूको तथ्याङ्क मन्त्रालय मातहतका निकाय र अस्पतालहरूका साथै नेपाली सेना र स्थानीय तहले उपलब्ध गराउने विवरणका आधारमा तयार गर्ने गरेको छ।

सहप्रवक्ता अधिकारीले करिब ८ महिनापछि शून्य मृत्युको अवस्था आउनुमा कोरोनाभाइरस विरुद्धको खोपको प्रभावकारिता र मानिसहरूमा बढेको चेतनाको स्तर प्रमुख रहेको बताउनुभयो।

“तर हामी यसमा खुसी हुने अवस्था भने आइसकेको छैन। हामीलाई नयाँ भेरिअन्टको जोखिमको चिन्ता छँदैछ”, उहाँले भन्नुभयो।
विगत २४ घण्टामा ७ हजार ८ सय ३६ जनाको परीक्षण गर्दा २ सय ४६ जनामा कोभिड पुष्टि भएको छ। तीमध्ये २ सय २३ जनाको पीसीआर परीक्षणमा र बाँकीको एन्टिजन परीक्षणमा सङ्क्रमण देखिएको हो।

नेपालमा अहिलेसम्म कोभिडसँग सम्बन्धित कारणले ११ हजार ५ सय ३५ जनाको मृत्यु भएको सरकारको तथ्याङ्क छ।

अहिले देशभरि ६ हजार ९ सय जनाभन्दा केही बढी मानिसमा सक्रिय सङ्क्रमण भएको मन्त्रालयले जनाएको छ।

 

खोप अभियान
खतिवडाले नेपालमा अहिले खोप तथा परीक्षणका लागि किट एवम् अन्य सामग्रीको अभाव नरहेको जानकारी दिनुुभयो।

खोपको अभाव नभएकाले गर्दा सबैलाई अनिवार्य रूपमा खोप लगाएर कोभिडबाट सुरक्षित बन्न उहाँले आग्रह गर्नुभएको छ।

विरोध खतिवडा

विरोध खतिवडा

“खोपको अभाव हामी हुन दिँदैनौँ। बढीभन्दा बढी खोप लगाइदिने मान्छे आइदिनुपर्‍यो। आएनन् भने हामी आफैँ पुग्ने कार्यक्रम पनि बनाइरहेका छौँ  “, मन्त्री खतिवडाले भन्नुभयो , “यो महिनाको अन्तिमतिरबाट हामी अभियानको रूपमा प्रत्येक गाउँका टोलटोलमा पुग्नेगरी अभियान सञ्चालन गर्दैछौँ, किनभने लक्षित समूह नआएपछि राज्यको कर्तव्य त अब समूहमा आफू पुग्नु हो।”

मन्त्री खतिवडाले राज्य नै समुदायमा पुगेर खोप लगाउनुपर्ने अवस्था आउनुको कारणबारे भन्नुभयो, “पहिले बोलाउने आउनूस् भनेर, अब आएनन् भन्दैमा रिस गर्नु त भएन तँ आइनस् भैगो भन्न पाइएन।”

“त्यसकारण हामी पुग्नुपर्‍यो। हामी पुग्छौँ। अहिले विभिन्न वडाका केन्द्रमा मात्र केन्द्रित गरेका थियौँ भने अब वडाका केन्द्रभन्दा बेगरका विभिन्न बस्ती, टोल जहाँ सेन्टर पर्छ…. एउटै वटाका चारपाँचवटा पोइन्टमा केन्द्रित भएर एउटै वडामा चारपाँचवटा स्थानमा जान्छौँ।”

उहाँले लक्षित समूहले खोप लगाउने दरमा वृद्धि हुन नसकेकाले अभियान चलाउन लागिएको बताउनुभयो।

खतिवडाका भनाइमा यो महिनाको अन्तिममा सुरु हुने अभियानका क्रममा देशभरि गरेर १६ हजार जति बिन्दुमा एकै पटक खोप लगाइनेछ।

कोभिड

कोभिड
ओमिक्रोन भेरिअन्ट रोक्न के गर्दैछ नेपाल ?

खतिवडाका अनुसार सरकारले अहिलेलाई हङ्‌कङसहित अन्य आठ देशबाट आउने यात्रुलाई नेपाल प्रवेशमा रोक लगाएको छ।

त्यस्तै भारतमा समेत ओमिक्रोन भेरिअन्ट देखा परिसकेकाले विभिन्न सीमानाकामा १६ वटा हेल्थ डेस्क राखेर एन्टिजन परीक्षण र मानिसहरूलाई क्वारन्टीनमा पठाउने व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

सरकारले प्रवेश रोकिएका देशहरूमा ट्रान्जिट परेका यात्रुहरूलाई कसरी व्यवस्थापन गर्ने भन्नेबारे पनि काम अघि बढाइसकेको खतिवडाको भनाइ छ।

त्यस्तै शङ्का लागेका व्यक्तिलाई विशेष निगरानी गरेर थप परीक्षण गरी त्यो ओमिक्रोन भेरिअन्ट हो किन हैन भन्ने पत्ता लगाउने काम पनि गर्न लागिएको स्वास्थ्यमन्त्रीले बताउनुभयो।

नयाँ भेरिअन्टलाई हुने खालका औषधि वा खोप बन्यो र त्यसलाई विश्व स्वास्थ्य सङ्गठनले मान्यता दियो भने नेपालले विशेष प्राथमिकता दिएर किन्ने मन्त्री खतिवडाले बताउनुभएको छ।

तर नेपालमा अहिले कोभिडबाट बच्ने उपायहरू अपनाउन धेरैले छाडेको भन्दै स्वास्थ्यमन्त्रीले भन्नुभयो, “अहिले नेपालमा लापरबाही बढेको छ। म सबैलाई लापरबाही नगरी कोभिडबाट बच्ने उपायहरू अपनाउन र होसियार हुन आग्रह गर्छु।”

कोरोनाभाइरस

नेपालमा कतिले लगाए कोभिड खोप ?

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार हालसम्म नेपालको कुल जनसङ्ख्यामध्ये ३३.३ प्रतिशतले कम्तीमा एक मात्रा खोप लगाइसकेका छन्।

पूर्ण मात्रा खोप लगाउनेहरू भने २८.२० प्रतिशत छन्।

तर खोप दिनयोग्य जनसङ्ख्यामा हिसाब गर्ने हो भने यो विवरण निकै उच्च हुनजान्छ।

गत माघमा खोप अभियान सुरु भएयता बिहीवारसम्म नेपालमा एक करोड ८६ लाखभन्दा बढी मात्रा खोप खपत भइसकेको छ।

स्वास्थ्य सेवा विभागले दिएको जानकारीअनुसार अहिले केन्द्र र प्रदेश वितरण केन्द्रहरूमा समेत रहेको गरी नेपालमा करिब ५० लाख मात्रा खोप मौज्दात छ।

नेपालमा १२ देखि १८ वर्षसम्मका किशोरकिशोरीलाई पनि फाइजरको कोभिड खोप दिइएको छ

नेपालमा १२ देखि १८ वर्षसम्मका किशोरकिशोरीलाई पनि फाइजरको कोभिड खोप दिइएको छ

नेपालमा अहिले पनि १८ वर्षमाथिका सबैलाई खोप लगाउने अभियान सञ्चालन भइरहेको छ।

केही साताअघि सीमित मात्रामा १२ वर्षमाथिका बालबालिकालाई पनि फाइजर खोप दिइएको थियो।

शुक्रवार पनि कोभ्याक्स सुविधाअन्तर्गत नेपालमा मोडेर्नाको १ लाख ८८ हजार मात्रा खोप आउने विभागका अधिकारीहरूले जानकारी दिएका छन्।

उक्त खोप पनि फाइजरजस्तै १२ वर्षमाथि उमेरकालाई दिन मिल्ने बताइएको छ।

माइनस १५ देखि २५ डिग्री सेल्सीअसमा भण्डारण गर्नुपर्ने उक्त खोप कसलाई र कुन क्षेत्रमा लगाइदिने भन्ने तय भइनसकेको बताइएको छ।(बीबीसीबाट)

 

Share Now

Leave a comment.