Prakash Adhikari December 8, 2021

कुन्नर(तमिलनाडु,भारत), २२ मंसिर । भारतका ‘चिफ अफ डिफेन्स स्टाफ’ जनरल विपिन रावतको हेलिकोप्टर दुर्घटनामा निधन भएको छ । उहाँ सवार भारतीय वायु सेनाको एमआई १७ भी ५ हेलिकोप्टर आज दिउँसो भारतको तमिलनाडुको कुन्नरमा दुर्घटना हुँदा रावतसहित १३ जनाको मृत्यु भएको हो । सुलुरस्थित सैन्य शिविरबाट वेलिङटनका लागि उडेको हेलिकप्टर दुर्घटना परेको थियो ।

भारतीय वायु सेनाको आधिकारीक ट्वीटर एकाउन्टबाट प्राप्त जानकारीअनुसार, रावतसँगै उनकी पत्नी मधुलिका रावत तथा अन्य ११ सैनिकको मृत्यु भएको छ । भारत सरकारले रावतलाई दुई वर्ष अघि चिफ अफ डिफेन्स स्टाफको जिम्मेवारी दिएको थियो । उहाँ भारतका पूर्वस्थल सेना प्रमुख एवं नेपाली सेनाका पूर्वमानार्थ महारथी हुनुहुन्छ । उहाँलाई नेपाली सेनाको मानार्थ महारथीबाट २९ मार्च २०१७ मा सम्मान प्रदान गरिएको थियो ।

बुधबार तमिलनाडुको निलगिरि पहाडी जिल्लाको कूनर नजिकै दुर्घटना भएको थियो । स्रोतका अनुसार डिएनए परीक्षणमार्फत शवको पहिचान पुष्टि हुनेछ । छानविनको आदेश भएपनि सिडीएस रावत, उहाँकी श्रीमती र अन्य सैनिक कर्मचारी बोकेको आइएएफको एमआई–१७–भी–५ हेलिकोप्टर दुर्घटनामाबारे सरकारले बिहीबार संसदलाई जानकारी गराउने बताइएको छ ।

विमान कोयम्बटोरस्थित सुलुर आईएएफ सैन्य सिविरबाट वेलिङ्गटनस्थित ‘डिफेन्स स्टाफ कलेज’तर्फ जाँदै थियो ।

यसैबीच रक्षामन्त्री राजानाथ सिंहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई दुर्घटनाबारे जानकारी गराउनुभएको छ । भारतीय प्रधानमन्त्री मोदीले घटनाबारे प्रतिक्रिया दिँदै ट्वीटमा सैनिक हेलिकोप्टर दुर्घटनाले आफूलाई स्तब्ध बनाएको उल्लेख गर्नुभएको छ ।

हेलिकोप्टर दुर्घटना भएको ठाउँबाट निकालिएका शवहरु सैनिक अस्पताल वेलिङ्गटन लगिएको छ ।

यसअघि तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनले घटनाप्रति दुःख व्यक्त गर्दै उद्धार कार्यमा आवश्यक सबै सहयोग उपलब्ध गराउन स्थानीय प्रशासनलाई निर्देशन दिएको बताउनुभएको थियो ।
प्रारम्भिक जानकारीमा तामिलनाडुका वनमन्त्री के रामचन्द्रनले भने दुर्घटनामा सवार पाँच जनाको मृत्यु भएको जानकारी दिनुभएको थियो ।

दुर्घटनाग्रस्त हलिकोप्टरमा सवार जनरल रावतसहित मृतक सैनिक तथा कर्मचारीहरूको नामावली भारतीय वायु सेवाले सार्वजनिक गरिसकेको छ ।

दुर्घटनामा सिडीएस जनरल रावत र उहाँकी पत्नी मधुरिका रावत, ब्रिगेडियर एलएस लिडर, लेफ्टिनेन्ट कर्नल हरजिन्दर सिंह, एनके गुरसेवक सिंह, एनके जितेन्द्र कुमार, एल÷एनके विवेक कुमार, एल÷एनके बी साई तेजा र हाव सत्पाललगायत विमानमा सवार थिए । आइएएफले दुर्घटनाको छानविन गर्न निर्देशन दिएको छ ।

Share Now

Leave a comment.