काठमाडौं, २३ मंसिर । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरु समक्ष कांग्रेसलाई पहिलो पार्टी बनाउन ध्येयले काममा लाग्न अनुरोध गर्नुभएको छ ।
नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्वमन्त्री डा.प्रकाशशरण महतद्धारा लिखित नेपाली “कांग्रेस एण्ड नेशन बिल्डिङ” नामक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
कार्यक्रमका प्रमुख अतिथि रहनुभएका प्रधानमन्त्री देउवाले भन्नुभयो,“यस १४ औं महाधिवेशनका क्रममा कार्यकर्तामा अत्यन्त उत्साह देखेको छु । महाधिवेशन सम्पन्न गरेर गाँउमा फर्कदा नेपाली कांग्रेसलाई फस्र्ट पार्टी बनाउन लाग्नुहोस् ।”
“नेपाली कांग्रेस र प्रजातान्त्रिक भविष्यको लागि पार्टीको यो १४ औं महाधिवेशन अत्यन्तै महत्वपूर्ण छ” , प्रधानमन्त्री देउवाले भन्नुभयो ।
प्रधानमन्त्री देउवाले सहमहामन्त्री डा.प्रकाश शरण महतले अत्यन्तै मिहेनत गरेर पुस्तक लेख्नुभएकोमा प्रशंसा गर्दै भन्नुभयो, “डा. प्रकाश शरण महत अत्यन्तै डेडिकेटेड व्यक्ति हो । जे काममा लाग्यो,लागेको लाग्यै गर्ने ।”
उहाँले अग्रेजी भाषामा लेखिएको यो पुस्तकलाई नेपाली भाषामा अनुवाद गरेर प्रकाशन गर्न अनुरोध गर्दै भन्नुभयो, “अंग्रेजी कमजोर हुनेले पनि यो पुस्तकमा लेखिएका विषयमा जानकारी राख्न पाउनुप¥यो ।”
नेपाली कांग्रेसका सभापति समेत रहनुभएका प्रधानमन्त्री देउवाले भोलिदेखि पार्टी महाधिवेशन सुरु हुने उल्लेख गर्दै पार्टीमा भरसक सहमतिबाटै नेतृत्व चयन गर्ने प्रयास गर्ने र संभव नभएमा स्वच्छ प्रतिस्पर्धा गरिने र त्यसलाई सबैले सहज र स्वभाविक ढंगले लिनुपर्ने कटुता ल्याउन नहुने बताउनुभयो ।
सभापति देउवाकै नेतृत्वमा आगामी निर्वाचन जित्छौ : डा.महत
पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै पुस्तकका लेखक तथा नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाश शरण महतले पार्टी सभापति शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीले आगामी निर्वाचनमा तीन वटै तहमा चुनाव जितेर बहुमतको सरकार बनाउने दावी गर्नुभयो ।
सहमहामन्त्री डा. महतले भन्नुभयो,“सभापति देउवाको नेतृत्वमा नेपाली कांग्रेस समावेशी राजनीतिमा प्रवेश गरेको छ । सबै नेपालीलाई बराबरीको हिस्सेदार बनाएको छ । त्यसलाई पूर्णता दिने जिम्मेवारी पूरा गर्न उहाँलाई दोस्रो कार्यकाल भए बल पुग्नेछ ।”
उहाँले पार्टीमा आफ्नो स्पष्ट बहुमत रहे पनि त्यसको उपयोग गर्दा पार्टीमा विभाजनको रेखा कोरिन नदिन सहमतिका आधारमा पार्टी सञ्चालन गरेर पार्टी सभापति भएकै दिनदेखि देउवाले अत्यन्त बुद्धिमतापूर्ण र दूरदृष्टिपूर्ण काम गर्नुभएको पनि उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “बहुमत,अल्पमतका आधारमा निर्णय गर्दा अन्य पार्टीमा आएको विग्रह हेर्दा सभापतिको विचार सही रहेको पुष्टि हुन्छ ।”
पार्टीका सहमहामन्त्री डा. महतले नेपाली कांग्रेसलाई आधुनिक,गतिशील र आमजनतासंग जोडिने बनाउने बाचा गर्दै भन्नुभयो, “आफ्नो गाऊँ ठाउँमा बसेर काम गर्ने कार्यकर्ताले पनि केन्द्रका नेताहरुलाई नचिनिकनै कामका आधारमा मूल्यांकन भएको थाहा पाउने पद्धति विकसित गरिनेछ ।” उहाँले अब काम भएन भनेर कुरा गरेर दिन कटाउने दिन आउन नदिने बताउदै भन्नुभयो, “आगामी कार्यकालमा पार्टीले काम दिएको दियै गर्नेछ । कार्यक्रम दिनेछ । चिया पसलमा बसेर नेता तथा सहकर्मीहरुको कुरा काट्ने अवसर दिने छैन ।”
उहाँले पार्टीलाई वैचारिक ढंगले पनि सबल बनाइने उल्लेख गर्दै नेता र कार्यकर्ता एक स्वरले पार्टी र आफ्नो नेतृत्वको सरकारले गरेका कामको पक्षमा उभिने अवस्था तयार पारिने पनि बताउनुभयो । उहाँले नेपालको आर्थिक र सामाजिक रुपान्तरण नेपाली कांग्रेसको नेतृत्वमा गरिने दावी पनि गर्नुभयो । उहाँले नेपालको आवश्यकता र राष्ट्रहित केन्द्रीत विदेश नीति अवलम्बन गरिने पनि उल्लेख गर्नुभयो ।
उहाँले धर्म,संस्कृति,परम्परा,भेष भूषा र भाषामा विविधता भएको नेपालमा नेपाली कांग्रेसले तिनको संरक्षण र सम्बर्धन गर्ने पनि उल्लेख गर्नुभयो ।
प्रतिबन्धित कालमा कांग्रेसको नीतिको खोजी
आज विमोचित पुस्तक डा.प्रकाश शरण महतले त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर तह(अर्थशास्त्र)मा तयार गर्नुभएको थेसिसको परिस्कृत रुप हो ।
कक्षा ७ मा अध्ययनरत रहदादेखि नै नेपाली कांग्रेसको आर्दश, सिद्धान्त, नीतिबाट प्रभावित भएर नेपाल विद्यार्थी संघको राजनीतिमा प्रवेश गरी संघको महामन्त्री हुँदै नेपाली कांग्रेसको राजनीतिमा प्रवेश गर्नुभएका डा.महतले थेसिस तयार पार्ने क्रममा ब्यहोरेको ब्यथाको पनि उल्लेख गर्नुभएको थियो । “नेपाली कांग्रेसले लिएको आर्थिक नीतिको बारेमा किन नलेख्ने भनेर मैले यो विषय चयन गरे डा.महतले भन्नुभयो,“ तर पञ्चायतको जगजगी भएको बेलामा प्रतिबन्धित नेपाली कांग्रेसको सरकारको पालाको आर्थिक नीतिको खोजी गर्ने अनुमति विश्वविद्यालयले मुस्किलले दियो ।”
उहाँले नेपाली कांग्रेसको बारेमा त्यतिबेला सन्दर्भ सामग्री खोज्न कठिन भएको उल्लेख गर्दै भन्नुभयो, “तर त्यही बेलामा २०१७ सालमा नेपाली कांग्रेसलाई प्रतिबन्धित गर्दा सरकारले जफत गरेका सामग्री नेपाली कांग्रेसको जमल अफिसमा फिर्ता भयो । धुलो टक्टक्याउदै महिनौ लगाएर मैले थेसिस तयार पारे ।”
डा.महतले नेपाली कांग्रेसले लिएको आर्थिक नीति नै आध्निक नेपालको आर्थिक नीति भएको उल्लेख गर्दै राणाकालमा देशको बजेट, कार्यक्रम र नीति नै आउने नगरेको बताउनुभयो । उहाँले २००७ सालको क्रान्तिदेखि नेपाली कांग्रेसले तयार पारेको आर्थिक सामाजिक विकास नीति वि.पी.कोइरालाको सरकारले कार्यान्वयन गरेको पनि उल्लेख गर्नुभयो ।
सो सरकारले विश्व समाजवादी आन्दोलनको अनुभव र नेपाली कांग्रेसले २०१२ सालमा लिएको प्रजातान्त्रिक समाजवादकोे नीतिको सही कार्यान्वयन गरेको पनि उल्लेख गर्नुभयो ।
वि.पी.कोइरालाको सरकारले उत्पादनको माध्यममा सबै जनताको पहुँच पु¥याउने कार्यको थालनी गरेको पनि बताउनुभयो । “उत्पादनका आधार जमीन र कृषि भएकोले सामन्ती भूमिपतिहरुले ओगटेको भूमि र विर्ता उन्मूलनको कार्यक्रम वी पीको सरकारले ल्यायो” डा.महतले भन्नुभयो, “शिक्षामा विद्यालयदेखि विश्वविद्यालय स्थापना ग¥यो, औद्योगिक र पूर्वाधार विकासका कदम चाल्योे ।”
उहाँले भन्नुभयो, “समाजवादको गन्तव्य समानता र समृद्धि हो र समृद्धिको पहुँचमा आम जनतालाई पु¥याउनु हो ।” उहाँले विदेशी सहयोग लिंदा दाताको दबाव र प्रभाव नपरोस् भनेर राष्ट्र संघको महासभामा सम्बोधन गर्दा वि.पी.ले विदेशी सहयोग राष्ट्र संघ मार्फत जानुपर्ने अभिव्यक्ति दिनुभएको पनि उल्लेख गर्नुभयो ।
वी.पी.कोइराला स्कूल अफ डेमोक्रेसीको आयोजनामा भएको समारोहमा पुस्तकमाथि प्रकाश पार्दै राष्ट्रिय योजना आयोगका पूर्व सदस्य तथा अर्थविद् डा.पोषराज पाण्डेले यो पुस्तक नेपाली कांग्रेसका आर्थिक नीतिको प्रकाशित तथा अप्रकाशित सूचनाहरुको दस्तावेजमात्र नभएर नेपाली कांग्रेसका संस्थापक नेताहरु वी.पी.कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, गिरिजाप्रसाद कोइरालादेखि वर्तमान सभापति शेरबहादुर देउवासम्मको सानिध्य पाउनुभएको डा.महतले उहाँहरुको भावनाको प्रतिबिम्ब पनि उतार्नुभएको बताउनुभयो ।
कार्यक्रमका अतिथि र सहभागीहरुलाई योजना आयोगका पूर्व सदस्य डा.प्रभु बुढाथोकीले स्वागत गर्नुभएको थियो । उहाँले प्रजातान्त्रिक समाजवाद अंगीकार गरेका मुलुकहरुमा सुशासन कायम भएको र भ्रष्टाचार कम भएको पनि उल्लेख गर्नुभएको थियो ।





















