काठमाडौँ ,२४ मङ्सिर ।नेपाली कांग्रेसको १४औँ महाधिवेशन काठमाडौँको भृकुटीमण्डप प्राङ्गणमा भव्य समारोहका बीच सुरु भएको छ ।
समारोहको मुख्य मञ्चमा कांग्रेसका शीर्ष नेतासँगै अन्य राजनीतिक दलका प्रमुख तथा विदेशबाट आउनुभएका अतिथिहरु उपस्थित हुनुहुन्छ । कोभिड–१९ महामारीका कारण काठमाडौँ उपत्यका बाहिरबाट सहभागी नबोलाइएको भए पनि पार्टीका महाधिवेशन प्रतिनिधि र स्वतःस्फूर्त रुपमा आएका सहभागीले भृकुटीमण्डप भरिभराउ छ । उद्घाटन अघि पार्टीका संस्थापक र अग्रज नेताका तस्बिरमा माल्यार्पणका साथै मुलुकमा लोकतन्त्र स्थापनाका लागि बलिदान दिने ज्ञातअज्ञातसहिदको सम्मानमा मौनधारण गरियो ।
सहभागीलाई सजिलोका लागि मञ्चका गतिविधि बाहिर देखिने गरी ठूला पाँच डिस्प्ले राखिएको छ । सञ्चारमाध्यमका लागि रिपोर्टिङ गर्न मुख्य मञ्चको दाहिनेतिर छुट्टै ‘स्टेज’ बनाइएको छ । सबैतिर मञ्चको आवाज सुनिने गरी ठूला साउण्ड सिष्टम राखिएको छ । यस महाधिवेशनमा ‘उत्साह, एकता र रुपान्तरण, सफल बनाऔँ नेपाली कांग्रेसको १४औँ महाधिवेशन’ नारा तय गरिएको छ । मुलुकको सबैभन्दा ठूलो र पुरानो लोकतान्त्रिक दलको महाउत्सवलाई राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रले विशेष चासोका साथ हेरिरहेको छ ।
मञ्चको पृष्ठभूमिमा नेपालको नयाँ नक्साभित्र पार्टीका संस्थापक एवं नेताहरु बिपी कोइराला, सुवर्ण शम्शेर, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको तस्विर अंकित प्रचार लोगो राखिएको छ । महाधिवेशनस्थल पार्टीका झण्डा र चुनाव चिह्न रुख अङ्कित झण्डाले सिगारिएको छ भने त्यस वरपर विभिन्न स्थानमा स्वागत द्वार राखिएको छ । महाधिवेशनमा विभिन्न जातजाति वेषभूषा झल्कने नित्र्यसहितका झाँकी प्रदर्शन गरिएको छ । सो क्रममा धिमे नाँच, मगर, गुरुङ, लिम्बू, थारु, भोजपरी, मैथली, खस आर्यका नाच प्रदर्शन गरिएको छ ।
यसैगरी महाधिवेशनका उम्मेदवारका ब्यानरले भृकुटीमण्डप भरिभराउ छ । यस महाधिवेशनमा चार हजार ७०० महाधिवेशन प्रतिनिधि रहने छन् । महाधिवेशनमा भूपू सैनिक सङ्घका स्वयंसेवकले सहभागीको भीड व्यवस्थापन गरेका छन् । नेपाल प्रहरीले सुरक्षाको आवश्यक प्रबन्ध गरेको र ट्राफिक प्रहरीले सवारीको उचित व्यवस्थापनको प्रबन्ध मिलाएको जनाएको छ ।
महाधिवेशनस्थलमा उम्मेदवारले आफ्नो प्रचारका लागि भिजिटिङ कार्ड, पम्पलेट वितरण गर्नुका साथै मतदातालाई आफ्नो पक्षमा आकर्षण गर्न विभिन्न कार्यक्रम गरिहेको देखिन्छ । नेता कार्यकर्तामा हार्दिकता साटासाटा गरेको देखिन्छ । प्रवेशद्वार नजिकै स्वास्थ्य समिति र मिडिया सेन्टर स्थापना गरी आवश्यक सेवा प्रदान गरिएको छ । प्रदर्शनी क्षेत्रमा नेता तथा कार्यकर्ता र शुभचिन्तकको भिडले खचाखच भरिएको छ ।
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कार्यक्रम सञ्चालन गरिरहनुभएको छ । महाधिवेशनमा उपस्थित नेता तथा कार्यकर्ताले नेपाली कांग्रेस एक भएर अघि बढेको हेर्न चाहेको प्रतिक्रिया दिनुभएको छ । यसअघि समारोहमा कांग्रेस काठमाडौँका सभापति कृष्ण बाँनिया (सवुज)ले महाधिवेशनमा आउनु भएको नेता तथा कार्यकता र पाहुनालाई स्वागत अभिवादन गर्नुभएको थियो । महाधिवेशनको उद्घाटनसँगै अतिथिको सम्बोधन क्रम जारी छ ।
महाधिवेशनको बन्द सत्र शनिबार भृकुटीमण्डपको हलमा हुनेछ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन मङ्सिर २४ गते विहान १० बजे हुनेछ । उम्मेदवार मनोनयन दर्ता मङ्सिर २५ गते बिहान १० देखि साँझ ५ बजेसम्म, उम्मेदवारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझ मङ्सिर २५ गते साँझ ५ देखि ७ बजेसम्म र दाबी विरोधउपर निर्णय मङ्सिर २५ गते साँझ ७ देखि ९ बजेसम्म हुने समितिले जनाएको छ ।
उम्मेदवारको पहिलो नामावली प्रकाशन मङ्सिर २५ गते राति ९ देखि १२ बजेसम्म, मनोनयन पत्र फिर्ता लिइसक्नुपर्ने समय मङ्सिर २६ गते बिहान ११ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन मङ्सिर २६ गते दिउँसो १२ः१५ बजे र मतदान मङ्सिर २७ गते बिहान ८ बजेदेखि हुने समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिनुभयो ।
‘उत्साह, एकता र रुपान्तरण’ भन्ने नारा
कार्यक्रममा सहभागी हुन देशका विभिन्न स्थानबाट नेता तथा कार्यकर्ता भृकुटीमण्डपमा भेला भएका छन् ।
कार्यक्रममा जननेता बिपी कोइराला, सुर्वण शम्सेर, सन्तनेता कृष्णप्रसाद भट्टराई, शान्तिनायक एवं पूर्वप्रधानमन्त्री एवं सभापति गिरिजाप्रसाद कोइराला, पूर्वसभापति सुशील कोइलाको तस्बिरमा सभापति शेरबहादुर देउवाले माल्यापर्ण गर्नुभयो । ‘उत्साह, एकता र रुपान्तरण’ भन्ने नाराका साथ कांग्रेसले महाधिवेशनको आयोजना गरेको हो ।
काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट परम्परागत भाँकीसहितको जुलुस कार्यक्रमस्थलमा पुगेको छ । उद्घाटन शत्रको आकर्षणको केन्द्रमा महिला समूहले बजाएको पञ्जेबाजा देखिएको थियो । तामाङ, शेर्पा, गुरुङ, थारु किराँत राई समुदायको सांस्कृतिक प्रदर्शन पनि अर्को आकर्षणको केन्द्र बनेको थियो ।
विभिन्न समुदायले आ–आफ्ना सांस्कृतिक भाँकीसहित महाधिवेशनको उद्घाटनस्थलमा भेला भएका छन् । महाविधेशनस्थलमा जताततै कांग्रेसको चारतारे झण्डाले सजाइएको छ भने आकर्षक मञ्चसमेत बनाइएको छ । काठमाडौँ उपत्यकाका कार्यकर्ताले परम्परागत नेवारी पोशाक र धिमे बाजाका साथमा प्रदर्शन गरेका थिए ।
आजदेखि तीन दिनसम्म चल्ने महाधिवेशनमा चार हजार ७०० प्रतिनिधि सहभागी हुने छन् । महाधिवेशनले एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्रीसहितका पदाधिकारी चयन गर्नेछ । यस्तै, १३४ सदस्यीय केन्द्रीय कार्यसमिति चयन हुनेछ । कोषाध्यक्ष भने केन्द्रीय समितिले चयन गर्नेछ ।
महाविधेशनमा सत्तारुढ गठबन्धनमा सहभागी दलका शीर्ष नेताले शुभकामना दिने कार्यक्रम तय भएको छ । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चा नेपालका उपाध्यक्ष दुर्गा पौडेलले महाधिवेशनको सफलताको शुभकामना दिने कार्यक्रम रहेको छ ।
यस्तै, प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले महाविधेशनलाई सफलताको शुभकामना दिनुहुनेछ । यस्तै, भारतलगायतका देशबाट आएका नेताले पनि सम्बोधन गर्ने कार्यक्रम छ ।




















