Prakash Adhikari December 12, 2021

काठमाडौं, २६ मसिर । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४औँ महाधिवेशनबाट आफू सभापतिमा निर्वाचित भएमा आगामी राष्ट्रिय निर्वाचनमा कांग्रेसलाई सबै ठाउँमा जिताउने विश्वास दिलाउनुभएको छ ।

कांग्रेसको १४ औँ महाधिवेशनका सन्दर्भमा लुम्बिनी प्रदेशले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले निर्वाचनमा कांग्रेसलाई बलियो बनाउन पनि सभापतिमा जित्नैपर्ने बताउनुभयो । “प्रजातन्त्रलाई बचाउनु पर्नेछ, त्यसैले अहिले पार्टी सभापतिमा जिते भोलि कांग्रेसलाई सबै ठाउँमा जिताउने छु । सभापति जितेमा सरकारलाई पनि हाँकेर लैजान सकिन्छ । सभापति हारेमा प्रधानमन्त्री कमजोर हुन्छ भनेर आलोचना हुन्छ”, प्रधानमन्त्री देउवाले भन्नुभयो ।

प्रधानमन्त्री देउवाले लामो सङ्घर्ष र शहीदको बलिदानबाट प्राप्त प्रजातन्त्रलाई बचाउन र सुदृढ तुल्याउन पनि कांग्रेसले जित्नैपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालको इतिहासले पनि प्रधानमन्त्री र पार्टी सभापति एउटै व्यक्ति भएको खण्डमा स्थायित्व हुन्छ भन्ने छ । पार्टीमा झगडा भइरहेको इतिहास तपाईंहरुलाई थाहा नै छ, गिरिजाबाबुसँग कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहबीचको झगडा हेर्नुभएको छ, पार्टी सभापति एउटा र प्रधानमन्त्री अर्को हुँदा तालमेल मिलेन त्यसैले विगतबाट पाठ सिकेर कांग्रेसको सभापति र प्रधानमन्त्री एउटै बनाउनुपर्छ त्यसका लागि अहिले मौका आएको छ । यो शेरबहादुरको लागि मात्र हैन । यो राष्ट्र र प्रजातन्त्रको कुरा हो ।”

पार्टी बलियो नभए प्रजातन्त्र कमजोर हुने र बलियो पार्टीले मात्रै प्रजातन्त्र बचाउनसक्ने उल्लेख गर्दै देउवाले कांग्रेस भनेको प्रजातन्त्र हो प्रजातन्त्र भनेकै कांग्रेस हो भन्नुभयो । “प्रजातन्त्रमा पार्टी सभापति एउटै भएको खण्डमा देशमा कुनै किसिमको झैझगडा हुँदैन, अहिलेको आवश्यकता हो प्रजातन्त्रलाई बचाएर बलियो सरकार बनाउन पार्टी सभापतिमा जित्नैपर्छ”, उहाँले भन्नुभयो ।

प्रधानमन्त्री देउवाले आफू पार्टी सभापति भएको खण्डमा अहिलेको सरकार टिकिरहने र राष्ट्रिय निर्वाचन पनि यही सरकारले गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “म पार्टी सभापति भएको खण्डमा यो सरकार टिकिरहनेछ, आफूले सभापतिमा हारेको खण्डमा नैतिकरूपमा बसिरहन मिल्दैन भनेर सबैले हल्ला गर्नेवाला छन्, त्यसैले पनि अहिलेको परिस्थितिमा सभापति जित्नुपर्ने आवश्यकता मैले देखेको छु ।”

कांग्रेसका पूर्व महामन्त्री कृष्ण सिटौलाले अहिलेको परिस्थितिमा सबै दलले स्वीकार्नसक्ने वातावरण निर्माणका लागि देउवाको नेतृत्व अपरिहार्य भएको बताउनुभयो ।

पार्टीका महामन्त्री पूर्णबहादुर खड्काले पार्टी र देशको राजनीतिलाई सन्तुलित ढङ्गले अघि बढाउन पनि देउवाको नेतृत्व अपरिहार्य भएकाले पार्टी सभापतिमा जित्नैपर्ने आवश्यकता रहेको बताउनुभयो । कांग्रेस भरत शाहले पार्टीलाई सुदृढ तुल्याई राष्ट्रियतालाई बलियो बनाएर स्वतन्त्र निर्वाचन गराउन सभापतिमा देउवाले जित्नैपर्ने आवश्यकता रहेको बताउनुभयो ।

तीनै तहमा कांग्रेसको सरकार !

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका शेरबहादुर देउवाले आगामी निर्वाचनबाट तीन तहका कांग्रेसका सरकार बनाउन आफू लागेको बताउनुभएको छ ।

नेपाल महिला सङ्घले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले आगामी तीनै तहका निर्वाचनमा विजय प्राप्त गर्ने कांग्रेसको लक्ष्य रहेको बताउँदै त्यसका लागि आफू लागि परेको उल्लेख गर्नुभयो । साथै उहाँले आफूलाई सभापतिमा पुनः विजयी गराउन पनि सबैलाई आग्रह गर्नुभयो । पार्टीको १४औँ महाधिवेशनमा उहाँले सभापति पदमा उम्मेदवारी दिनुभएको छ ।

महाधिवेशनअन्तर्गत सोमबार बिहानदेखि मतदान हुँदैछ । प्रधानमन्त्री देउवाले कांग्रेसले पार्टीमा महिला सहभागितालाई उच्च स्थान दिएको उल्लेख गर्दै विधानमा ३३ प्रतिशत सहभागिता सुनिश्चित गरिएको बताउनुभयो । पार्टी विधानमा महिलासहित अन्य समावेशीको सहभागिता सुनिश्चित गरिएको बताउँदै उहाँले यस्तो समावेशी पार्टी अरु कोही नभएको जानकारी दिनुभयो । उहाँले पार्टीमा महिला सहभागिता बढाउन आग्रह गर्नुभयो ।

प्रधानमन्त्री देउवाले कांग्रेसको नेतृत्वमा समावेशी व्यवस्थासहितको संविधान जारी गरिएको बताउँदै संविधानले राज्यका उच्च पददेखि सबै निकायमा महिला सहभागिता सुनिश्चित गरेको बताउनुभयो । साथै उहाँले स्थानीय सरकारमा ४१ प्रतिशत सहभागिता प्रतिनिधित्व भएको जानकारी गराउनुभयो ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू अहिले नेपाली कांग्रेसको सभापति मात्र नभएर नेपालको प्रधानमन्त्री पनि भएकाले आफूले पार्टी सभापति हार्दा देशको प्रधानमन्त्रीले नै हारेको अर्थ लगाएर आफूलाई हटाउने खेल हुनसक्ने आशङ्का व्यक्त मात्र गरेको स्पष्ट गर्नुभएको छ ।

उहाँले आज बिहानको एक कार्यक्रममा आफूले जित्नैपर्ने भनेको भनी प्रचार गरिएको विषयको खण्डन गर्दै यदि आफूले सभापतिको निर्वाचन हारेमा प्रधानमन्त्रीबाट पनि हटाउने प्रयास हुनसक्ने र देशको प्रधानमन्त्रीले हार्यो भनेर नैतिकताको प्रश्न उठाउन सक्नेतर्फ आफूले जानकारी मात्र गराएको बताउनुभएको हो ।

उहाँले आज नेपाली कांग्रेस बाग्मती प्रदेशद्वारा आयोजित कार्यक्रममा भन्नुभयो, ‘‘यहाँँ सभापति हार्ने जित्नेभन्दा पनि प्रधानमन्त्री हार्ने जित्ने हो भन्ने सन्दर्भमा मैले भनेको हुँ, म अहिले सभापति छु, प्रधानमन्त्री पनि छु, सभापतिमा हारेँ भने प्रधानमन्त्री हा¥यो भन्छन्, नैतिकताको कुरा उठाउँछन् । यो सरकार चुनावसम्म नजान पनि सक्छ । मैले जित्नुको अर्थ चुनावसम्म यही सरकार हुन्छ र त्यसपछि भोलि गाउँदेखि केन्द्रसम्म कांग्रेसको बहुमतको सरकार हुन्छ भनेको हो ।’’

उहाँले आफ्नो पार्टीभित्र र बाहिरका साथीहरूको सहयोगबाट आफूले केपी शर्मा ओलीको डर, त्रासबाट देश र जनतालाई मुक्त गराएको स्मरण गर्नुभयो । प्रधानमन्त्री देउवाले भन्नुभयो “सार्वभौम जनता कसैसँग डराउनु हुँदैन तर हिजो गाउँ–गाउँमा हाम्रा साथीहरू डराउनुपर्ने अवस्था ल्याइएको थियो । अहिले मैले ओलीको त्यो डर त्रासबाट हाम्रा साथीहरुलाई मात्र नभएर देशलाई नै मुक्त गराएको छु । यस्तै अवस्था अब रहीरहनका लागि पनि मैले सभापति जित्नुपर्छ भन्ने पसङ्ग मात्र निकालेको हो ।”

उहाँले आफूलाई सहयोग गरेकामा कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई धन्यवाद पनि दिनुभयो । प्रधानमन्त्री देउवाले भन्नुभयो “सिटौलाजी उहाँ आफू पदाधिकारीमा नबसेरै, सदासयता राखेर हामीलाई सहयोग गर्नुभएको छ, म उहाँलाई विशेष धन्यवाद दिन चाहन्छु ।”

Share Now

Leave a comment.