केन्टकी(संयुक्त राज्य अमेरिका), २६ मसिर(बीबीसी) । संयुक्त राज्य अमेरिकाका छवटा राज्यमा शुक्रवार राति आएका विध्वंशकारी आँधीबेहरीका कारण कम्तीमा ९४ जनाको मृत्यु भएको पुष्टि अधिकारीहरूले गरेका छन्।
त्यहाँ आँधीका कारण सम्पर्कविहीन भएका दर्जनौँ अरू मानिसलाई जीवित उद्धार गर्न सकिन्छ कि भनेर व्यापक खोजी भइरहेको छ। शुक्रवार ३० वटा आँधीबेहरी आएका थिए।
प्रभावित क्षेत्रमा सहायताका लागि सरकारले यथासम्भव प्रयास गर्ने आश्वासन राष्ट्रपति जो बाइडनले दिनुभएको छ।
कन्टकी राज्यमा मात्र ८० जनाभन्दा बढीको मृत्यु भएको र मृतकको सङ्ख्या १०० नाघ्न सक्ने कन्टकीका गभर्नर एन्डी बिशिअरले बताउनुभएको छ।
उहाँले टोर्नेडो भनिने उक्त आँधीबेहरीलाई राज्यको इतिहासकै सबैभन्दा नराम्रो भन्नुभएको छ।
सङ्कटकाल
कन्टकीमा गभर्नरले सङ्कटकाल घोषणा गर्नुभएको छ।
राष्ट्रपति बाइडनले शुक्रवारको आँधी अमेरिकामा आएका ठूलामध्ये एक भएको टिप्पणी गर्नुभएको छ।
मेफील्ड सहरस्थित एउटा मैनबत्ती कारखानाभित्र दर्जनौँ मानिसको मृत्यु भएको छ। त्यहाँ कार्यरत १ सय १० जनामध्ये ४० जनाभन्दा बढीलाई जीवितै उद्धार गरिएको थियो भने ६० जना अझै हराइरहेका छन्।
उक्त आँधीबेहरीका कारण अन्य राज्यमा मानिसहरूको मृत्यु भएको छ।
उहाँका अनुसार आँधीबेहरीको ३ सय ६५ किलोमिटर लामो मार्गमा पर्ने सबै ठाउँमा ठूलो क्षति पुगेको छ।
“यो अवर्णनीय छ”, उहाँले भन्नुभयो, “तपाईँ औद्योगिक भवनका केही भाग, छाना वा रूख देख्नुहुन्छ यदि ती सग्ला बचेका छन् भने।”
,
मेफील्डस्थित मैनबत्ती कारखानाको भग्नावशेषमा उद्धारकर्मीहरू
“भाँचिन सकेका रहेनछन् भने आधा बाङ्गिएका धातुका ठूला खम्बाहरू, यथास्थानमा नभएका भवनहरू, उडाएर थचारिएका ठूला ट्रकहरू। अनि सम्भवतः मानिसहरू भित्र भएका अत्यन्त धेरै घरहरू पूरै क्षति पुगेका।”
धेरै काउन्टीबाट मानिसको मृत्यु भएको खबर आएक भए पनि मेफील्डस्थित कारखानामा मृत्यु हुने मानिसको सङ्ख्या ठूलो भएको उहाँले बताउनुभयो।
रकम निकासा
राष्ट्रपति बाइडनले एउटा सङ्घीय आकस्मिक विपद् घोषणापत्रमा हस्ताक्षर गर्दै उक्त राज्यका लागि रकम निकासा गर्नुभएको छ।
कन्टकी राज्यमा आकस्मिक सेवाका कर्मचारीहरूले विभिन्न कारखानाका भग्नावशेषमा मानिसहरूको खोजी गरिरहेका छन्।
कारखानाका भग्नावशेषबाट हालसम्म दर्जनौँ मानिसको उद्धार गरिएको छ। तर अब त्यस्ता स्थानमा मानिसहरू जीवितै भेटिने सम्भावना कम भएको अधिकारीहरूले बताएका छन्।
प्रहरी कार्यालय र अग्नि नियन्त्रण केन्द्रहरूमा पनि क्षति पुगेपछि उद्धारमा कठिनाइ उत्पन्न भएको छ।
त्यहाँ हजारौँ मानिसहरू पानी र इन्धनबिना रहन बाध्य छन्।
आँधीबेहरीले रेलहरू पनि प्रभावित भए



आँधीबेहरीले कन्टकीमा धनजनको ठूलो क्षति भएको छ
आफन्त गुमाएका वा तिनको स्थिति थाहा नभएका व्यक्तिप्रति सहानुभूति प्रकट गर्दै बाइडनले सङ्घीय सरकारले यथासम्भव सहयोग गर्ने बताउनुभएको छ।
उहाँका अनुसार आपत्कालीन सेवा हेर्ने निकायका टोलीहरू आइतवार कन्टकी जाने तथा थप स्रोत र साधन उपलब्ध गराउने छन्।
त्यसमा घरमा क्षति पुगेका मानिसका लागि अस्थायी आवासको व्यवस्था गर्नु पनि पर्छ।
अरू राज्य पनि प्रभावित
दक्षिणी इलनोयको एड्वार्ड्सभिलस्थित एमजनको एउटा गोदाम अर्को आँधीमा भत्किएको अधिकारीहरूले बताएका छन्।
उक्त राज्यका प्रहरी प्रमुखका अनुसार त्यहाँ छ जनाको मृत्यु भयो भने कति जना हराइरहेका छन् त्यो निर्क्योल भएको छैन।
उक्त कम्पनीका संस्थापक जेफ बेजोसले शोक प्रकट गर्दै प्रभावित समुदायलाई सहयोग गर्ने वाचा गरेका छन्।
टेनसीको सङ्कट व्यवस्थापन निकायका प्रवक्ताले उक्त राज्यको पश्चिमोत्तर क्षेत्रमा तीन जनाको मृत्यु भएको बताउनुभएको छ। तर अरू विवरण दिइएको छैन।
आर्कन्स राज्यमा दुई जनाको मृत्यु भएको छ। एउटा नर्सिङ होम भत्किँदा तीमध्ये एक जनाको ज्यान गएको हो।
मिजुरी राज्यमा पनि आँधीका कारण एक जनाको मृत्यु भएको पुष्टि भएको छ।
राष्ट्रपति बाइडनले आवश्यक परे मिजुरी, आर्कन्स, इलनोय, टेनिसी राज्यलाई पनि आर्थिक सहायता उपलब्ध गराइने बताउनुभएको छ।
सन् १९२५ मा मिजुरीमा एउटा आँधीबेहरीले ३ सय ५२.५ किलोमिटर दूरी पार गरेको थियो। त्यसलाई दूरीको हिसाबमा अमेरिकामा अहिलेसम्म आएको सबैभन्दा लामो आँधीबेहरी मानिएको छ।
त्यसको प्रकोपमा परेर ६ सय ९५ जनाको मृत्यु भएको थियो ।


















