काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत सभापति चयनका लागि दोस्रो चरणको मतदान सुरु भएको छ।
राजधानीको भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा साढे ३ बजेदेखि मतदान सुरु भएको हो।
पहिलो चरणमा सभापतिका पाँच उम्मेदवारमध्ये कसैको पक्षमा पनि बहुमत नआएपछि शीर्ष मत ल्याउने दुई उम्मेदवार शेरबहादुर देउवा र डा. शेखर कोइराला दोस्रो चरणमा प्रतिस्पर्धा गर्दैहुुनुहुन्छ।
सभापतिका उम्मेद्वार देउवालाई पहिलो चरणको निर्वाचन परिणाममा तेस्रो, चौथो र पाँचौ स्थानमा आउनुभएका सभापतिका उम्मेदवारहरू प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले समर्थन गर्ने हुनुभएको छ। कांग्रेसको१४ औं महाधिेशनमा ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधि रहेका छन्।
पहिलो चरणमा ४ हजार ६ सय ७९ जनाले मतदान गरेका थिए भने ७६ मत बदर भएको थियो।
मतदान सकिएको केही घण्टामै मतगणना शुरू गर्ने र आजै नतिजा आइसक्ने कांग्रेस निर्वाचन समितिले जनाएको छ।
दोस्रो चरणको निर्वाचनमा पनि प्रधानमन्त्री तथा सभापति पदका उम्मेदवार शेरबहादुर देउवाले मत खसालिसक्नुुभएको छ । यस्तै सभापतिका अर्का उम्मेदवार शेखर कोइराला पनि मत खसाल्न मतदानस्थलतर्फ जानुभएको छ।


















