काठमाडौं, १ पौष । कुनै समय नेपाल कम्युनिष्ट पार्टीका संयुक्त अध्यक्ष रहेका नेपालका वर्तमान नेकपा एमालेका अध्यक्ष के.पी. ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच निकै तल्लोस्तरमा आरोप प्रत्यारोप चल्न थालेको छ ।
ओलीको आरोप
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन राजा ज्ञानेन्द्र शाह र तत्कालीन विद्रोही नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पाँच बुँदे सहमति गरेको आरोप लगाउनुभएको थियो।
केन्द्रीय कमिटीमा मनोनीत सदस्यको पद तथा गोपनीयता कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले १८ मंसिर २०६० मा ज्ञानेन्द्र र प्रचण्डबीच पाँच बुँदे सहमति भएको दाबी गर्नुभयो ।
तर, सहमतिपत्रमा के–के उल्लेख भएको थियो भन्ने खुलिनसकेको भन्दै उहाँले भन्नुभयो, ‘त्यो पाँच बुँदेमा के थियो ? कि ज्ञानेन्द्रले भन्नुपर्यो, कि प्रचण्डले ।’
प्रचण्डको सहमतिमा ज्ञानेन्द्रले देशमा निरंकुशता ल्याएको भन्दै ओलीले भन्नुभयो, ‘असोज १८ र माघ १९ मा ज्ञानेन्द्रले ‘कु’ गरे ।’ पाँच बुँदे सहमतिपछि राजा ज्ञानेन्द्र देशभर नागरिक अभिनन्दनको कार्यक्रम गर्दै देश दौडाहामा निस्किएको एमाले अध्यक्ष ओलीको आरोप छ ।
एमाले अध्यक्ष ओलीले प्रचण्डमाथि अर्को आरोप पनि लगाउनुभयो । केही दिन पहिले माओवादी अध्यक्ष प्रचण्डले शेयरबजारलाई साम्राज्यवादको विस्तारित रुप भनेर आलोचना गर्नुभएको थियो र त्यसको कारणले ओरालो लागेको शेयरबजार एकै दिन ८० अंकले तल झरेको थियो ।
त्यसप्रति कटाक्ष गर्दै एमाले अध्यक्ष ओलीले’ कुन शेयर दलालले चन्दा दिएन र प्रचण्डले त्यसको रिस फेर्न सिगो पूँजी बजारलाई सरापेको’ आरोप लगाउनुभएको थियो ।
ओलीको आरोपको प्रचण्डद्धारा खण्डन
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू र पूर्वराजा ज्ञानेन्द्रबीच पाँच बुँदे सहमति भएको भन्ने आरोपको खण्डन गर्नुभएको छ। उहाँेले उक्त आरोप शतप्रतिशत झुटो भएको उल्लेख गर्दै क्त सहमति भएको कुरा प्रमाणित गर्न र प्रमाणित गर्न नसके माफी माग्न ओलीलाई चुनौती दिनुभएको छ ।
प्रचण्डद्धारा बिहिबार जारी गरिएको विज्ञप्तिमा एमाले अध्यक्ष ओलीलाई दलाल पूँजीपति वर्ग र प्रतिगमनको राजनैतिक प्रतिनिधिका रुपमा देखा परेका एमाले गुटका अध्यक्ष के.पी. शर्मा ओली, झुट, बेइमानी र धोकाको अर्को नामको रुपमा परिभाषित गर्दै भनिएको छ, “पूर्व राजा ज्ञानेन्द्र शाहसँग प्रचण्डको पाँच बुँदे सहमति भएको थियो भन्ने शत प्रतिशत झुटो कुरा प्रचार गरेर उनले आफ्नो दरिद्र राजनैतिक चरित्र मात्र प्रदर्शन गरेका छन् । म के. पी.ओलीलाई “पाँच बुँदे सहमति” प्रमाणित गर्न र प्रमाणित गर्न नसके झुटो बोलेकोमा जनतासँग माफी माग्न चुनौती दिन्छु ।”
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष मार्क्सवाद र कम्युनिष्ट सिद्धान्तबाट कोसौं टाढा भागेको आरोप लगाउदै भन्नुभएको छ, “मैले भूमण्डलीकृत साम्राज्यवाद र वित्तिय एकाधिकार पूँजीवादबारे गरेको विश्लेषण माथि गरिएको टिप्पणीलाई दलाल पूँजीपति वर्गको एजेण्टको टिप्पणीका रुपमा खारेज गर्दछु ।”
प्रचण्डले अगाडि भन्नुभएको छ,”आजको पूँजीवादको चरित्रबारे मैले गरेको विश्लेषण सही रहेको दाबीसहित नेपालको शेयर बजारका सन्दर्भमा हाम्रो पार्टी र म समेत लाखौं लगानीकर्ताहरुको हितका पक्षमा रहेको स्पष्ट गर्न चाहन्छु । दलाल पूँजीपतिहरुको झुटो प्रचारबाट भ्रमित नहुन म शेयर होल्डर जनसमुदायसँग अनुरोध गर्दछु ।”


















