महेश आचार्य
नेपाल भ्रमणमा सोमवार काठमाण्डू उत्रिएलगत्तै पाकिस्तानी प्रधानमन्त्री शाहिद खाकन अब्बासीले आफ्ना नेपाली समकक्षी केपी ओलीसँग भेटवार्ता गरेका छन्।
उक्त भेटवार्तामा भएका कुराकानीबारे औपचारिक विवरण आइसकेका छैनन्, तर उनको काठमाण्डू आगमनलाई नेपालमा धेरैले चासोपूर्वक हेरेका छन्।
प्राय: प्रभावहीन जस्तो देखिएको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कलाई सक्रिय पार्ने तथा नेपालको राजनीतिक उपलब्धिमा नेतृत्वलाई बधाई दिन अब्बासी आएको बताइएपनि उनको भ्रमणलाई पछिल्लो भूराजनीतिक प्रतिस्पर्धासँग जोडेर हेर्नुपर्ने कैयौंको मत पाइन्छ।
१९ औं सार्क शिखर सम्मेलन अनिश्चित
अर्थ
२४ घण्टाभन्दा पनि कम समयको आफ्नो नेपाल बसाइमा प्रधानमन्त्री ओलीका अतिरिक्त राष्ट्रपति विद्या भण्डारीसँग भेटेर अब्बासी सोमवार स्वदेश फर्कदैछन्।
झण्डै साढे दुई दशकपछि अकस्मात सरकार प्रमुखको तहबाट इस्लामावादबाट भएको उक्त भ्रमणले व्यापक प्रतिक्रिया जन्माइदिएको पाइन्छ, खासगरी भूराजनीतिसँग जोडेर।
भारतसँग अत्यन्तै कटु सम्बन्ध रहेको पाकिस्तान चीनसँग असाध्यै निकट देखिन्छ, जसको बढ्दो प्रभावबाट दिल्ली चिन्तित छ।
पाकिस्तानी प्रधानमन्त्रीको काठमाण्डू आगमनलाई नेपालमा धेरैले चासोपूर्वक हेरेका छन्
अनौपचारिक रुपमै भएपनि कित्ताकाँट जस्तो देखिने यो अवस्थाको छाया पाकिस्तानी प्रधानमन्त्रीको पछिल्लो नेपाल भ्रमणमा पनि परेको आशय दर्शाउँछन् एक जना पूर्व कूटनीतिज्ञ डक्टर दिनेश भट्टराई।
उनले भने, “नेपालको ऐतिहासिक क्षणमा पहिलो विदेशी पाहुनाका रुपमा पाकिस्तानी प्रधानमन्त्री यहाँ आउनु अर्थपूर्ण छ। यसलाई क्षेत्रीय रुपमा विकसित भूराजनीतिक घटनाक्रमसँग जोडेर हेर्नुपर्छ”।
प्रभाव
भारतको नेपाल लगायत दक्षिण एसियाली मुलुकमा रहेको भनिएको परम्परागत प्रभावलाई चीनले चुनौती दिइरहेको बुझाइमाझ त्यो उसको निकट मित्र पाकिस्तानलाई सुखद विषय भएको ठम्याउन गाह्रो छैन।
पछिल्लो भ्रमणलाई त्यही प्रभाव संयुक्त रुपमा दरो पार्ने दिशामा चालिएको कदमका रुपमा अर्थ्याउनेहरु पनि देखिन्छन्।
त्यस्तै संकेत गर्दै घुमाउरो शैलीमा पाकिस्तानका लागि पूर्व नेपाली राजदूत बलबहादुर कुँवरले भने, “पाकिस्तान र चीनको सम्बन्ध असाध्यै राम्रो छ। चीनले नेपालमा पनि राजनीति र विकास निर्माणमा प्रभाव विस्तार गरिरहेको छ। चीनले जुन खालको भूमिका निर्वाह गरिरहेको छ त्यसमा समर्थन दर्शाउन पनि यो भ्रमण भएको हुनसक्छ”।
तस्वीर कपीराइटPM’S SECRETARIAT
Image caption
भारतसँग अत्यन्तै कटु सम्बन्ध रहेको पाकिस्तान चीनसँग असाध्यै निकट देखिन्छ, जसको बढ्दो प्रभावबाट दिल्ली चिन्तित छ
तर प्रधानमन्त्री ओलीलाई वैदेशिक मामिलामा सल्लाह दिंदै आएका राजन भट्टराई क्षेत्रीय भू-राजनीति र त्यसमा पनि चीनलाई जोडेर हेर्ने दृष्टिकोणप्रति सहमत छैनन्।
उनले भने, “स्वतन्त्र मुलुकहरूको वैदेशिक सम्बन्ध स्वतन्त्र हुन्छ। दुई देशबीचको सम्बन्धलाई तेस्रो मुलुकसँग जोडेर हेर्नुहुन्न”।
पाकिस्तानी प्रधानमन्त्रीको भ्रमणलाई लिएर यस्ता फरक धारणा देखिएपनि नेपालप्रति क्षेत्रीय तथा अन्तर्राष्ट्रिय रुपमा रुचि बढेको निचोडमा भने प्रायस: सबै सहमत भएको पाइन्छ।
त्यस्तो रुचिसँगै ओली नेतृत्वको सरकारले कसरी सम्बन्धमा सन्तुलन मिलाउँछ त्यसले नै नेपालको भावी कूटनीतिक यात्रा कतिको सहज, असहज होला भन्ने निर्क्यौल गर्नेछ।