गनी अन्सारी / बीबीसी न्यूज नेपाली
काठमाडौं, २ पौष । नेपाली कांग्रेस जस्तो पुरानो पार्टीका पाका नेताहरुलाई उछिन्दै १४ औं महाधिवेशनबाट महामन्त्रीका दुई पदमा युवा नेताहरु गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएपछि पार्टीमा पुस्तान्तरणको सुरुआत भएका मानिएको छ ।
दुवै जना कांग्रेसको भातृसङ्गठन नेपाल विद्यार्थी सङ्घबाट पार्टी राजनीतिमा प्रवेश गरेका हुन्।
निर्वाचनमा गगन थापा र मीनेन्द्र रिजाल शेखर कोइराला प्यानलबाट, डा. प्रकाशशरण महत र प्रदीप पौडेल सभापति शेरबहादुर देउवा प्यानलबाट, विश्वप्रकाश शर्मा प्रकाशमान सिंह प्यानलबाट अनि डा. राजाराम कार्की विमलेन्द्र निधि प्यानलबाट महामन्त्री पदका उम्मेदवार थिए।
निर्वाचन समितिका अनुसार १४ औँ महाधिवेशनअन्तर्गत सोमवार भएको मतदानमा ४,६८२ जनाले मतदान गरेका थिए। महामन्त्री पदमा खसेका ३३ मत बदर भएका थिए।
हालसम्म घोषित परिणाम अनुसार पार्टी सभापतिमा डा. शेखर कोइरालालाई पराजित गर्दै शेरबहादुर देउवा निर्वाचित हुनुभयो दोस्रो चरणमा । उपसभापति पदमा देउवा समूहका पूर्णबहादुर खड्का र कोइराला समूहका धनराज गुरुङ विजयी भइसक्नुभएको छ।
सहमहामन्त्रीमा देउवा समूहका भिष्मराज आड.दम्बे(आदिवासी जनजाती), डिना उपाध्याय(महिलातर्फ) र डा. शेखर समूहबाट जीवन परियार(दलिततर्फबाट) विजयी हुनुभएको छ ।

मत माग्दै गगन थापा
के भन्छन् गगन थापा र विश्वप्रकाश शर्मा ?
सर्वाधिक मत ल्याएर महामन्त्री निर्वाचित थापाले सबैको मन जितेर अगाडि बढ्ने आफ्नो प्रयास रहने बताउनुभएको छ।
“इमान्दारीपूर्वक म आफ्नो जिम्मेवारी निर्वाह गर्नेछु। एउटा समूहको तर्फबाट लडेको थिएँ, तर अब म सिङ्गो पार्टीको महामन्त्री हुँ”, उहाँले भन्नुभएको छ।
सञ्चारकर्मीहरूसँग कुरा गर्दै शर्माले आफ्नो व्यक्तिगत वा गुटगत जित नभएको प्रतिक्रिया दिनुभएको छ।
“बदलिएको कांग्रेस बनाउने आकाङ्क्षाको जित भएको छ। कांग्रेस हिजोको जस्तै अब चल्दैन। कांग्रेस रूपान्तरित भएर जान्छ”, उहाँले भन्नुभएको छ।
कांग्रेसको विधानअनुसार केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्री पदका लागि निर्वाचन गराउने व्यवस्था छ।
कोषाध्यक्ष चाहिँ निर्वाचित केन्द्रीय सदस्यमध्ये एक जना निर्वाचित हुने विधानमा उल्लेख छ।
त्यसैगरी खुला केन्द्रीय सदस्य ३५ जना, महिला नौ, प्रत्येक प्रदेशबाट तीन-तीन गरी २१, मधेशी र दलित नौ-नौ, आदिवासी जनजातिबाट १५, खसआर्यबाट १३, थारू चार, मुस्लिम तीन र पिछडिएको क्षेत्र, अल्पसङ्ख्यक तथा अपाङ्गता भएकाबाट एक-एक गरी १३४ पदाधिकारी तथा सदस्य निर्वाचनबाट चुनिने व्यवस्था छ।
माथि उल्लिखितबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनीत गर्ने पार्टीको विधानले व्यवस्था गरेको छ।

परिणामले के सङ्केत गर्छ ?
देउवा सभापतिमा दोहोरिए पनि अरू मुख्य पदमा अर्को समूहका नेताहरू पनि चुनिएका छन्।
उपसभापतिमा खड्का देउवानिकट भए पनि अर्का उपसभापति गुरुङ शेखर कोइराला समूहका नेता हुन्।
महामन्त्रीमा निर्वाचित भएका नेताद्वय थापा र शर्मा दुवै जना देउवाइतर समूहका हुन्।
“यो नतिजाले एउटा प्रष्ट सङ्केत के गर्छ भने नेपाली कांग्रेसको आमपङ्क्ति रूपान्तरणका लागि नेतृत्व हस्तान्तरणका लागि आतुर छ”, राजनीतिक विश्लेषक विष्णु सापकोटाले बीबीसीसँग भन्नुभएको छ।
“आगामी महाधिवेशनबाट कांग्रेसमा आमूल रूपमा नयाँ नेतृत्व आउँछ र त्यसपछि कांग्रेस त्यसैले अगाडि बढ्छ जस्तो लाग्छ।”
पार्टी नेतृत्व परम्परागत रूपमा कब्जा भएको स्थितिबाट मुक्त गराउने प्रयास गरिए पनि त्यो पूर्ण रूपमा सफल नहुँदा सभापतिमा देउवा पुनः निर्वाचित भएको सापकोटाको ठम्याइ छ।

नेपाली कांग्रेस
“तर यसपालि पुनर्निर्वाचित भए पनि नेतृत्व हस्तान्तरणका लागि अब देउवा तयार रहनुपर्छ भन्ने सन्देश पनि यसले दिएको छ”, उहाले थप्नुभयो।
आफैँ महाधिवेशन प्रतिनिधिमा उठेका अर्का विश्लेषक पुरञ्जन आचार्य देउवाको विकल्पमा समयमै कसैलाई अगाडि सार्न नसक्नु पनि पुरानो नेतृत्व दोहोरिनुको एउटा कारण भएको बताउनुहुन्छ ।
अरू पदमा देखिएको नतिजाले भने सकारात्मक सन्देश प्रवाह गरेको उहाँको तर्क छ।
“यो महाधिवेशनले नेपाली कांग्रेसबारे न्यारेटिभ परिवर्तन गरेको छ। कांग्रेस बूढाहरूको पार्टी हो भन्ने जुन न्यारेटिभ थियो त्यो परिवर्तन हुन्छ”, बीबीसीसँग आचार्यले भन्नुभयो।

मीनेन्द्र रिजाल र देउवा
रक्षामन्त्रीबाट डा.मिनेन्द्र रिजालको राजीनामा ?
महामन्त्री पदमा पराजित मिनेन्द्र रिजालले रक्षामन्त्री पदबाट राजीनामा दिनुभएको छ।
मतगणनाको प्रारम्भिक परिणाम आउँदा आफू निकै पछि परेपछि उहाँले फेसबुकमा लेख्दै रक्षामन्त्रीको पदत्याग गर्ने घोषणा गर्नुभएको थियो।
प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाएपछि रिजालले रक्षा मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गर्दै आफ्नो राजीनामाबारे जानकारी गराउनुभएको थियो।
ूजे राजनीतिक सम्पत्ति आजका दिनमा मेरालागि आवश्यक हुन्थ्यो मैले चाहेका गर्न खोजेका काम गर्नका लागि। त्यो गुमाएँ कि जस्तो लाग्यो। एउटा निर्वाचन हारेको मात्रै होइन मसँग पुँजी रहेन जस्तो लागेर पनि रक्षा मन्त्रीबाट राजीनामा दिनुपर्छ भन्ने लाग्यो,ू आफ्नो राजीनामा घोषणा गर्दै रिजालले भन्नुभयो।
आगामी दिनमा पनि देशका लागि योगदान दिने वाचा गर्दै डा. रिजालले पार्टी राजनीतिमा सक्रिय रहने नरहनेबारे आफूले कुनै निर्णय लिई नसकेको बताउनुभएको छ।


















