काठमाडौं, ४ पौष । कर छलीको अभियोगमा राजस्व अनुसन्धान विभागले कोकाकोलाको नेपालको अध्यक्ष शुक्ला वासिमसहित १५ जना निर्देशकहरुमाथि मुद्दा दायर गर्ने अन्तिम तयारी गरेको छ ।
कम्पनीको किनबेचमा भएको राजश्वको छलीको लामो समयको अनुसन्धानपछि विभागले बोटलर्स नेपाल लिमिटेडका तत्कालीन र वर्तमान गरी १५ जना सञ्चालकहरूलाई सात दिनभित्र विभागमा उपस्थित हुन सार्वजनिक सूचना जारी गरेको छ ।
विभागले बोटलर्स नेपालमा शेयर किनबेच र स्वामित्व हस्तान्तरणमा नेपाल सरकारलाई बुझाउनु पर्ने कर नबुझाएकोमा अध्यक्ष शुक्ला वासिनसहित १५ जना निर्देशकलाई यससम्बन्धमा स्वयं उपस्थित भएर स्पष्टीकरण दिन सात दिने सार्वजनिक सूचना जारी गरेको छ ।
सो अवधिमा उपस्थित नभए राजश्व छलीमा मुद्दा दायर गर्ने चेतावनी विभागले दिएको छ ।
विभागले कम्पनी बोटलर्स नेपाल लिमिटेडमा २०७७ मंसिर २३ गते १ बजे छापा मारेर कम्पनीका सम्पूर्ण महत्वपूर्ण दस्तावेज, कम्प्युटर हार्डडिस्क, ल्यापटप कब्जामा लिएको थियो । त्यसपछि कम्पनीका वर्तमान प्रबन्ध सञ्चालक प्रदीप पाण्डे, सञ्चालक समितिका तीन जना नेपाली सदस्य सुरेन्द्र सिलवाल, नर्मदेश्वरनारायण सिंह र त्रिलोचन उप्रेती, वित्त निर्देशक अशोक मण्डल, कम्पनी सचिव प्रतिमा बर्मासहित अन्य पदाधिकारीसँग पटक-पटक बयान लिएको थियो ।
विभागले बोटलर्स नेपालको सञ्चालक समितिकी अध्यक्ष शुक्ला बासन, सञ्चालकहरू माल्भिन तान चुन पिन, मोहमद अमिन, गौरव खोशला, सन्दीप बजोरिया, देवब्रत मुखर्जी, सुमन्त दत्ता, जहबार सोलाइ कप्पुस्वामी, संकेत रे, डेनिस मेरी लुइस ल्वेन्स, केथ ल्यान स्टाचे, चोलिया डे सिल्भाका नाममा सूचना जारी गरेको छ ।
विभागले तत्कालीन प्रबन्ध सञ्चालकहरू सलमान लतिफ रान, पुनित चन्द्रपाल बार्सने र वित्त नियन्त्रक सुमीत गोयल यो स्वामित्व किनबेच प्रक्रियामा कर छली गरेको अभियोगमा प्रतिवादी बनाइएका छन् ।
विभागले दिएको जानकारी अनुसार बोटलर्स नेपालका दुई प्लान्टको किनबेच प्रक्रियामा करिब ५ अर्ब रुपैयाँ राजस्व छली भएको अनुसन्धानले देखाएको छ ।
तत्कालीन अधिराजकुमारी हेलन शाहको नाममा २०२९ सालमा दर्ता भएको बोटलर्स नेपाल प्रालिमा भारतीय लगानीकर्ता नकुल धर्मचन्द कमानीले २०३५ सालमा ५ करोड भारु लगानी गरि २०३६ सालदेखि नेपालमा कोकाकोलाको उत्पादन सुरु गरेका थिए । कमानीले सन् १९८३ मा दरबारलाई आफ्नो स्वामित्व बेचेपछि पनि बोटलर्स नेपालको स्वामित्व पाँच पटकसम्म किनबेच भएको छ ।
अन्तिम पटक सन् २००४मा एफएन्डएन कोकाकोका सिंगापुरले दक्षिण अफ्रिकाको गुत्से परिवारलाई बोटलर्स नेपालको सम्पूर्ण शेयर बेचेको र सन् २००७ मा यो कम्पनीलाई स्टक एक्सचेन्जमा सूचीकृत गरिएपछि ७६ प्रतिशत स्वामित्व गुत्से स्वामित्वको कोकाकोला साउथ एसियामा रहँदै आएको थियो ।
सन् २०१४ मा गुत्से परिवारले आफ्नो स्वामित्वको सेयर अमेरिकी माउ कम्पनी द कोकाकोला कम्पनीलाई बेचेर फर्किएपछि यी दुई मुख्य स्वामित्व किनबेच प्रकरणमा नेपालका नियामकीय निकायलाई सही जानकारी नदिइ यहाँ तिर्नुपर्ने अग्रिम आयकर, आकस्मिक लाभकर, पुँजीगत लाभकरलगायतका कर छलिएको पाइएको हो ।
बहुराष्ट्रिय टेलिकम कम्पनी एनसेलको स्वामित्व परिवर्तनमा भएको कर छलिपछि नेपाली सञ्चार माध्यममा कोकाकोलाको कर छलीको खोजी सुरु भएको थियो । यो प्रकरणलाई आर्थिक पत्रकार गजेन्द्र बुढाथोकीले निरन्तर खोतलिरहनुभएको छ । उहाँको सम्पादनमा प्रकाशित लुम्बिनी सञ्चार र टक्सार म्यागाजिनले यसमा श्रृखलाबद्ध रुपमा खोजी समाचार प्रकाशित गर्दै आएका छन् ।



















