सानेपा(ललितपुर), ५ पौष । कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा महिला खुलातर्फको केन्द्रीय सदस्यमा पार्टी सभाति शेरबहादुर देउवा पक्षका ८ जना र डा.शेखर कोइराला पक्षका एक जना निर्वाचित हुनुभएको छ ।
केन्द्रीय निर्वाचन समितिका अनुसार महिलातर्फ खुला केन्द्रीय सदस्यमा डिला संग्रौलाले सर्वाधिक मतसहित ल्याउनुभएके छ । उहाँले २ हजार ८ सय ८५ मत पाउनुभयो ।
त्यस्तै पुष्पा भुसालले २ हजार ७ सय १८, डा. आरजु राणाले २ हजार ५ सय ३६, अम्बिका बस्नेतले २ हजार ३ सय ३९, इश्वरी न्यौपानेले २ हजार २ सय ५९, सरिता प्रसाईंले २ हजार ९६, रमा कोइराला पौडेलले १ हजार ८ सय ५८, सुशीला ढकाल आचार्यले १ हजार ८ सय ४ र रंगमती शाहीले १ हजार ७ सय ८९ मत पाउनुभएको थियो।
निर्वाचितमध्ये प्रसाईंबाहेक सबै शेरबहादुर देउवा समूहका भएको बताइएको छ ।
निर्वाचितमध्ये संग्रौला, भुसाल, बस्नेत, न्यौपाने, प्रसाईं र कोइराला पौडेल यसअघि नै केन्द्रीय सदस्य थिए ।
ढकाल, राणा र शाही पहिलो पटक केन्द्रीय सदस्य बनेका हुन् ।
महिला खुला तर्फको ९ पदका लागि ३० जनाले उम्मेदवारी दिएका थिए ।


















