Prakash Adhikari December 23, 2021

जनकपुरधाम(धनुषा), ८ पौष। नेपाली काँग्रेस प्रदेश नं २ को नयाँ नेतृत्वका लागि आज बिहान ८ बजेदेखि मतदान हुँदै छ।

बुधवार नै मतदान हुने कार्य तालिका रहे पनि मतपत्र छपाइमा ढिलाइ भएको भन्दै निर्वाचन समितिले बुधवार साँझ मतदान प्रक्रिया स्थगित गरी आज बिहान ८ बजेदेखि मतदान गर्न लागेको हो।

जनकपुरधामस्थित गोपाल धर्मशालामा मतदान हुने कार्यक्रम तय भएको निर्वाचन समितिका संयोजक प्रह्लाद गौतमले जानकारी दिनुभयो। सहमतिमा नेतृत्व टुङ्गो लगाउने प्रयास असफल भएपछि दुई समूह छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका हुन्।

संस्थापन पक्षले काँग्रेस रौतहटका सभापति कृष्ण यादवको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ भने संस्थापन इतर पक्षले काँग्रेस प्रदेश नं २ संसदीय दलका नेता रामसरोज यादवको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ।

केन्द्रीय निर्वाचनमा दोस्रो चरणमा सभापति पदमा शेरबहादुर देउवालाई समर्थन गर्नुृभएका नेता विमलेन्द्र निधिले डा.शेखर कोइराला समूहसंग मिलेर रामसरोजलाई उठाउनुभएको हो ।

बुधबार राति निर्वाचन गर्ने कि बिहिबारलाई सार्ने भन्ने विषयमा भनाभन हुँदा बुधबार दुई पक्षका कार्यकर्ताबीचमा झडप पनि भएको थियो ।

प्रदेश २ को कार्य समितिको कूल ७२ पदका लागि १ सय ७४ ले विभिन्न पदमा उम्मेदवारी दिएका छन्। त्यसमध्ये पाँच सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् भने छ उम्मेदवारले उम्मेदवारी फिर्ता लिइसकेका छन्।

पाँच जना सदस्य निर्विरोध

नेपाली कांग्रेस प्रदेश-२ समितिको जारी अधिवेशनमा पाँच जना सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचन समितिका अनुसार खुल्लातर्फ सप्तरीका आशाराम चौधरी, महिलातर्फ सप्तरीकै विमला देवी साह र महोत्तरीकी उषा देवकोटा निर्विरोध निर्वाचित भएका हुन् ।

यस्तै, मधेसी महिलातर्फ पर्साकी किरण कुमारी र आदिवासी जनजातिमा मनमया तमाङनी निर्विरोध निर्वाचित भएका छन् ।

 

Share Now

Leave a comment.