Prakash Adhikari December 26, 2021

काठमाडौं, ११ पौष । नेकपा माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशनमा १ हजार ६ सय ३१ जना प्रतिनिधि सहभागी हुने भएका छन ।

नियमित प्रक्रियाबाट चयन भएका १ हजार ४ सय ८३ जना प्रतिनिधि र १० प्रतिशत मनोनयन गर्दा महाधिवेशन प्रतिनिधि १ हजार ६ सय ३१ पुगेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो ।

माओवादीले १० प्रतिशत प्रतिनिधि चयनको जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको छ ।

माओवादी केन्द्रीय कार्यालयका अनुसार आयोजक समितिबाट १ सय ७९ सहभागी हुनेछन् ।

यस्तै सल्लाहकारबाट १ सय ४९, जेष्ठ कम्युनिस्ट मञ्चबाट १ सय २५, केन्द्रीय विभागबाट १ सय २, केन्द्रीय प्रतिनिधि २७ र प्रदेश प्रतिनिधिबाट ८ सय ३ जना राष्ट्रिय सम्मेलनमा प्रतिनिधि चयन भएका छन् ।

प्रदेश प्रतिनिधिमा प्रदेश–१ बाट ९६, प्रदेश–२ बाट १ सय ६, वाग्मती प्रदेशबाट १ सय २८, गण्डकी प्रदेशबाट ७४, लुम्बिनी प्रदेशबाट १ सय ५, कर्णाली प्रदेशबाट ८७, सुदूरपश्चिम प्रदेशबाट ८४, प्रवास प्रदेशबाट ३४, विशेष प्रदेशबाट ४२ र सम्मर्क समन्वय प्रदेशबाट ८३ जना सहभागी हुने व्यवस्था गरिएको छ ।अध्यक्ष प्रचण्डले कूल १ सय ४८ प्रतिनिधि मनोनयन गरेपछि कूल प्रतिनिधि संख्या १ हजार ६ सय ३१ जना पुग्नेछ ।

माओवादी केन्द्रको महाधिवेशनले सबै पदाधिकारीको निर्वाचन गर्छ कि गर्दैन अझै निश्चित भएको छैन । आवश्यक तयारी नभएकोले अध्यक्ष बाहेकका पदाधिकारी चयन नगर्ने सम्भावना बढेको छ ।

राष्ट्रिय सम्मेलन आयोजना गर्ने भनेको माओवादी केन्द्रले उद्घाटन हुनुभन्दा एक दिन अघि मात्र सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय गरेको छ ।

महाधिवेशन नेतृत्व चयन भन्दा पनि विचारको बहसमा केन्द्रीत गर्नुपर्ने प्रचण्डको भनाइ छ । उहाँले महाधिवेशनमा पेस गर्ने प्रस्तावसमेत स्थायी कमिटीमा पेस गर्नुभएको थियो । बैठकमा प्राप्त सुझावका आधारमा त्यसलाई पूर्णता दिइएको छ ।

यसअघि २०६९ माघमा मकवानपुर जिल्लाको हेटौंडामा आयोजना गरिएको सातौं महाधिवेशनको मोडेलमा नेतृत्व चयन गर्ने तयारी अध्यक्ष प्रचण्डको रहेको बुझिएको छ । अध्यक्षमा प्रचण्डलाई चुनौती दिने नेतृत्व माओवादीमा तयार नभएकाले उहाँले चाहे अनुरुप नेतृत्व चयन हुनेमा शंका छैन ।

 

Share Now

Leave a comment.