धनगढी(कैलाली), ११ पौष । सशस्त्र प्रहरी बल(एपीएफ)ले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी २० प्रतियोगिताको उपाधि जितेको छ।
धनगढीको फाप्ला क्रिकेट मैदानमा सम्पन्न खेलमा प्रदेश १ ले दिएको ६८ रनको लक्ष्य एपीएफले ३ विकेट क्षतीमा १४.२ ओभरमै हासिल गरेको थियो।
गत संस्करणको फाइनलमा एपीएफलाई पराजित गर्दै प्रदेश १ ले उपाधि जितेको थियो। यस पटकको नतिजा त्यसको बदला लिएजस्तो भएको छ ।
एपीएफको लागि ज्योति पाण्डेले अविजित ३६ तथा ममता चौधरीले अविजित १९ रन योगदान दिएका थिए। त्यस्तै इन्दु बर्माले ५ रन र रोमा थापाले ४ रन जोडे ।
एपीएफलाई रोक्ने क्रममा प्रदेश १ को बलिंगमा रुबिना क्षेत्रीले ३ विकेट हात पारिन । उनले ४ ओभरमा १ मेडन ओभर गर्दै १० रन खर्चिन्।
यस अघि टस हारेर ब्याटिंग गरेको प्रदेश १ ले २० ओभरमा ६ विकेट गुमाउदै ६७ रन मात्र बनाउन सक्यो।
खेलमा रुबिना क्षेत्रीले ३४, अप्सरी बेगमले ११, स्मृति कटुवाल ६,काजल श्रेष्ठ ४,सबनम राई ३,निशा शाह २ र संगीता राईले १ रन बनाए ।
प्रदेश १ लाई रोक्न एपीएफको बलिंगमा सीता राना मगरले ३ विकेट, रेखा रावलले २ विकेट तथा करुना भण्डारीले १ विकेट हात पारे।
उपाधिसहित विजेता एपीएफले ५ लाख रुपैयाँ तथा उपविजेता प्रदेश १ ले ३ लाख रुपैयाँ हात पारे।


















