मेलबर्न(अष्ट्रेलिया), १४ पौष । नेपाली क्रिकेट टिमका नवनियुक्त कप्तान सन्दीप लामिछाने नेपालमा उनलाई उठाउने गुरु पुबुदु दासनायक मुख्य प्रशिक्षकको रुपमा भित्रिएको भोलिपल्टै अष्ट्रलियामा भैरहेको बिग ब्यास लिगमा चम्केका छन् ।
यस पहिलेको तीन खेलमा विकेटविहिन रहेका नेपाली राष्ट्रिय क्याप्टेन सन्दीप लामिछानेले आज मेलबर्नविरुद्ध भएको खेलमा तीन विकेट लिए ।
बिग ब्यास लिगमा सन्दीपले एकै खेलमा ३ विकेट लिएको यो चौंथो पटक हो।
बुधबारको पहिलो खेलमा सन्दीपले पहिलो विकेट जेक फ्रेसरको लिए। उनले २१ रन बनाएर आक्रामक ब्याटिंग गरिरहका फ्रेसर र हार्पर बीचको साझेदारी तोड्दै होबार्टलाई खेलमा फर्काए।
त्यसपछि सोहि ओभरमा उनले मोहम्मद नाबीको विकेट लिए । त्यसपछि उनले अन्तिम विकेटको रुपमा जाहिर खानको विकेट लिए ।
३.५ ओभर बलिंग गरेका सन्दीपले ३२ रन खर्चेर ३ विकेट लिए। विकेट मात्रै हैन सन्दीपले खेलमा रन आउट पनि गरेका छन् । उनले १३ औं ओभरमा जेम्स प्याटिन्सनलाई रन आउट गरेका थिए।
सन्दीपले सन् २०२० मा मेलबर्न बिरुद्धनै ३ विकेट लिएका थिए। उनले सन् २०१९ मा सिड्नी सिक्सर्स बिरुद्ध र सन् २०१८ मा होबर्ट हरिकेन्स विरुद्ध ३ विकेट लिएका थिए।
बुधबारको खेलमा सन्दीपको होबर्ट हुरिकन्सले मेलबर्र्न रिनिगेट्सलाई ८५ रनको अन्तरले पराजित गरेको छ ।
खेलमा सन्दीपको होबर्ट हुरिकेन्स सात खेलमा ४ जित र ३ हारसहित १७ अंक हासिल गर्दै तेस्रो स्थानमा छ । समान खेलमा ६ जित र १ हारसहित २१ अंक जोडेर सिड्नी सिक्सर्स र पर्थ स्कोर्चर क्रमश पहिलो र दोस्रो स्थानमा छन् ।
त्यस्तै लिगमा ६ खेलमा ३ जित र ३ हार ब्यहोर्दै सिड्नी थन्डर्स १३ अंकसहित चौथो स्थानमा छ । पाँचौ स्थानमा ७ खेलमा २ खेल जितेर ५ खेल हारेको ब्रिसबेन हिट १० अंकसहित रहेका छन् भने छैठौं स्थानमा ६ खेलमा ३ खेल जितेको र ३ हारेको मेलबर्न स्टार १० अंक लिएर बसेको छ ।
६ खेलमा १ जित र ५ हार ब्यहोरेको एलिडेड स्ट्राइकर ७ अंकसहित सातौ स्थानमा छ भने मेलबर्न रिनिगेड्स ६ खेलमा १ जित र ५ हार सहित ५ अंक लिएर अंक तालिकाको पुछारमा उभिएको छ।


















