काठमाडौं, २१ पौष । आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि ४३ जनाले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।
राष्ट्रिय सभामा यही फागुनबाट रिक्त हुने २० जना सांसदको पदमध्ये निर्वाचनबाट पूर्ति हुने १९ सिटका लागि माघ १२ गते निर्वाचन हुँदैछ। सो निर्वाचनका लागि आयोगको निर्वाचन कार्यतालिका अनुसार मंगलबार परेको उम्मेदवार मनोनयन दर्ता अन्तर्गत ४३ जनाले उम्मेदवारी दर्ता गराएका हुन्।
निर्वाचन आयोगका सहायक प्रवक्ता कोमलप्रसाद धमलाले सातवटै प्रदेशबाट ४३ जनाले उम्मेदवारी दर्ता गराएको जानकारी दिनुभयो।
निर्वाचनका लागि नेकपा एमाले १९ जना, नेपाली कांग्रेसबाट ६ जना, नेकपा (माओवादी केन्द्र) बाट ५ जना, नेकपा (एकीकृत समाजवादी) बाट ५ जना, जनता समाजवादी पार्टी, नेपालबाट २ जना, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट २ जना, नेपाल मजदुर किसान पार्टीबाट २ जना, लोकतान्त्रिक समाजवादी पार्टीबाट १ जना र राष्ट्रिय जनमोर्चाबाट १ जनाले उम्मेदवारी दर्ता गराएको सहायक प्रवक्ता धमलाले बताउनुभएको छ।
निर्वाचन आयोगको निर्वाचन कार्यतालिका अनुसार पुष २१ गते उम्मेदवारको विरोधमा उजुरी दिनको लागि बिहान १० बजेदेखि ४ बजेसम्मको समय छुट्याइएको छ।
२२ र २३ गते उजुरीउपर छानविन हुने, २३ गते नै उम्मेदवारको नाम प्रकाशन हुनेछ भने २४ गते उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिनको लागि समय दिइएको छ। २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेसँगै निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका रहेको आयोगका सहायक प्रवक्ता धमलाले बताए।
यो निर्वाचनमा गठबन्धनमा रहेका सत्तारुढ दलले एमालेको पक्षमा रहेका सिटहरु फुत्काउने रणनीति तय गरेका छन् । नेकपा एमालेले १९ वट सिटमा उम्मेद्वारी दिएको र अन्य कुनै राजनीतिक दलसंग गठबन्धन नगरेको हुनाले एमालेले निर्वाचन हार्ने आँकलन गरिएको छ । २४ गते उम्मेद्वारी फिर्ताको कार्यक्रम रहेकोले र निर्वाचन माघको १२ गते भएकोले सो अवधिमा नयाँ गठबन्धन हुनसक्ने संभावनार्लाई नकार्न पनि सकिदैन ।
यो निर्वाचनले नेकपा एमालेको संगठन कति खिइएको रहेछ भन्ने आधार पनि स्पष्ट पार्नेछ ।
राष्ट्रियसभा सदस्यका लागि हरेक प्रदेशका उम्मेदवारलाई सो प्रदेशका प्रदेशसभा सदस्यहरु र पालिकाका प्रमुख–उपप्रमुखहरुले मतदान गर्ने संवैधानिक प्रावधान छ ।
रिक्त १९ राष्ट्रिय सभा सदस्यको पदका लागि माघ १२ मा हुने निर्वाचनबाट सात महिला, तीन दलित, दुई अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक र सातजना अन्य समूहबाट निर्वाचित हुनेछन् ।
निर्वाचन आयोगका अनुसार प्रदेश १ बाट तीन, प्रदेश २ बाट दुई, बागमतीबाट दुई, गण्डकीबाट तीन, लुम्बिनीबाट तीन, कर्णालीबाट तीन र सुदूरपश्चिमबाट तीन जना निर्वाचित हुनेछन् । चुनावका लागि १२ दल निर्वाचन आयोगमा दर्ता भएका थिए ।
को को बने उम्मेदवार ?
नेपाली काँग्रेस
नेपाली काँग्रेसले प्रदेश १ मा गोपालकुमार बस्नेत, बागमतीमा कृष्णप्रसाद पौडेल, गण्डकीमा कमला पन्त, लुम्बिनीमा युवराज शर्मा, कर्णालीमा दुर्गाकुमारी गुरुङ र सुदूरपश्चिममा नारायण मिश्रलाई उम्मेदवार बनाएको छ ।
माओवादी केन्द्र
माओवादी केन्द्रबाट प्रदेश २ मा उर्मिला अर्याल, गण्डकीमा सुरेश आलेमगर (अन्य समूह) र भरत सुनार (दलित), कर्णालीमा नरबहादुर विष्ट (अपांगरअल्पसंख्यक) र सुदूरपश्चिममा जगत पार्की (दलित)ले उम्मेदवारी दिनुभएको छ ।
नेकपा (एकीकृत समाजवादी)
नेकपा एकीकृत समाजवादीबाट प्रदेश १ मा जयन्ती राई, बागमतीबाट गोमा तिमिल्सिना, लुम्बिनीबाट राजेन्द्रलक्ष्मी गैरे, कर्णाली प्रदेशबाट उदय बोहरा र सुदूरपश्चिमबाट मदनकुमारी साह (गरिमा) राष्ट्रिय सभा सदस्यको उम्मेदवार बन्नुभएको छ ।
जसपा( जनता समाजवादी पार्टी)ले प्रदेश १ र २ मा एक–एकजना उम्मेदवार बनाएको छ । जसमा प्रदेश एकबाट अल्पसंख्यक समूहबाट हेमराज राई र प्रदेश २ को खुला समूहबाट खालिद सिद्दिकीले राष्ट्रिय सभा सदस्यको उम्मेदवारी दिनुभएको छ ।
राजमो :गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाले लुम्बिनीमा राजेश विश्वकर्मालाई उम्मेदवार बनाएको छ ।
नेकपा एमाले
एमालेका तर्फबाट प्रदेश १ बाट गुरु बराल, सुमित्रा भण्डारी र सोनाम ग्याल्जेन शेर्पाले उम्मेदवारी दिनुभएको छ भने प्रदेश २ बाट उसमान अन्सारी र विना र साहले । त्यस्तै वागमती प्रदेशबाट गोपाल शाक्य र निरकुमारी कुँवरलाई उम्मेदवारी दिनुभएको छ ।
त्यसैगरी गण्डकी प्रदेशमा अर्जुनकुमार सुनाम, लीला पोखरेल थनेत र पुण्यप्रसाद पौडेल उम्मेदवार बन्नुभएकोछ भने लुम्बिनी प्रदेशमा कृष्णबहादुर सुनार, भारती खनाल र रामदयाल गुप्ताले उम्मेदवारी दिनुभएको छ । कर्णाली प्रदेशबाट एमालेले पदमबहादुर माझी, गंगा थापा र चूडामणि शर्मालाई उम्मेदवार बनाएको छ ।
लोसपा: लोसपाबाट प्रदेश २ मा रुपा कुमारी यादव उम्मेदवार बन्नुभएको छ ।
नेमकिपा: नेपाल मजदुर किसान पार्टीले बागमतीमा गीता काफ्ले र कृष्ण तामाङलाई उम्मेदवार बनाएको छ ।
राप्रपा: अमर बहादुर विष्ट र रञ्जु प्यकुरेललाई प्रदेश १ मा राष्ट्रियसभा सदस्य उम्मेदवार बनाएको छ ।


















