Prakash Adhikari January 10, 2022

 

काठमाडौं, २६ पौष । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले भारतको ओेगटेको नेपाली भूमि लिपुलेकमा स्वेच्छिक ढंगले भारतले गरिरहेको सडक विस्तारमा आपत्ति जनाएको छ।

सोमबार एक विज्ञप्ति जारी गर्दै पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का विदेश विभाग प्रमुख झलनाथ खनालले नेपाली भूमि लिपुलेकमा भारतले सडक विस्तार जारी राखेकोमा विरोध गर्नुभएको हो।

खनालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केही दिनअघि दिएको अभिव्यक्तिको निन्दा समेत गर्नुभएको छ।

‘भारतीय सरकारले नेपाली भूमि लिपुलेकमा हाम्रो अखण्डतालाई उल्लंघन गर्दै गरेको सडक विस्तार र भारतीय नेताहरूले दिएको उक्साउने अभिव्यक्तिप्रति हाम्रो पार्टी घोर निन्दा गर्दछ,’ उहाँले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ, ‘हामी नेपाल सरकारलाई आफ्नो सीमा क्षेत्रको रक्षा गर्न आवश्यक कदम चाल्न अनुरोध गर्न चाहन्छौं।’

भारतीय सरकार लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्र नेपाली भूभाग रहेकोबारे राम्रोसँग जानकार रहेको बताउदै खनालले नेपाल सरकारको अनुमतिबिना कुनै पनि काम गर्नु अवैध भएको उहाँले उल्लेख गर्नुभएको छ।

भारतीय प्रधानमन्त्री मोदीले डिसेम्बर ३० तारिखमा उत्तराखण्डको हल्दवानीमा चुनावी सभालाई सम्बोधन गर्दै लिपुलेकमा सडक विस्तारको काम भइरहेको बताउनुभएको थियो।

भारतीय प्रधानमन्त्री मोदीले तिब्बतको मानसरोवर जाने लिपुलेक सडकको विस्तार कार्य भइरहेकोमा गर्व व्यक्त गर्दै विगतको सरकारका कारण मानसरोवार जाने बाटो नबनेको मा आलोचना गर्नुभएको थियो।

भारतले नेपाली भूमि हुँदै सडक निर्माण गरेको नेपालले आपत्ति जनाउदै लिपुलेक,कालापानी,लिम्पियाधुरालाई नेपाली सीमामा समेटिएको नक्सा नेपालको संसदले पारित गरेर संविधानको अनुसूचीमा समावेश गरिसकेको छ।

नेपालले सो भूमि लिने सम्बन्धमा कुनै रणनीति अख्तियार गर्न मेसो नपाएकै बेला भारतले उक्त क्षेत्रमा सडक विस्तार कार्य जारी राखेको कुरा भारतीय प्रधानमन्त्री मोदीले सार्वजनिक गर्नुभएको छ।

 

Share Now

Leave a comment.