काठमाडौं, ५ माघ । नेपालमा बुधबार हालसम्मकै सबैभन्दा बढी संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको दैनिक कोरोना ब्रिफिडमा विगत २४ घण्टामा ११ हजार ३ सय ५२ जनामा कोरोना संक्रमण भेटिएको जानकारी दिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अहिले देखिएको कोरोनाभाइरसको नयाँ लहर आगामी साता उच्चबिन्दुमा पुग्ने आकलन गरेको छ।
नेपालमा कोभिड महामारीको दोस्रो लहर वैशाख अन्तिम सातामा उच्चबिन्दुमा पुगेको थियो। वैशाख २९ गते सार्वजनिक गरिएको २४ घण्टाको विवरणमा ९,३०५ जनामा सङ्क्रमण पुष्टि भएको थियो।
विज्ञहरूले अहिले नेपालमा तेस्रो लहर सुरु भएको सङ्केत पाइएको बताएका छन्। पौष २५ गते पुष्टि हुने सङ्क्रमितको सङ्ख्या १,००० नाघेको विवरण आएकोमा नौ दिनपछि माघ ४ गते मङ्गलवार सरकारले २४ घण्टाको अवधि १० हजार जनाभन्दा बढी सङ्क्रमित फेला परेको तथ्याङ्क सार्वजनिक गर्यो।
नेपालमा कोभिड महामारी सुरु भएपछि दैनिक पुष्टि भएको यो नै सङ्क्रमितको सर्वाधिक सङ्ख्या हो। खासगरी कोरोनाभाइरसको नयाँ भेरिअन्ट ओमिक्रोन अतिसङ्क्रामक रहेकाले सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको विज्ञहरू बताउँछन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार सङ्क्रमितको लक्षण तथा जीन सीक्वन्सिङको नतिजा हेर्दा अधिकांशमा ओमिक्रोन नै देखिएको छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्णप्रसाद पौडेलका अनुसार सङ्क्रमणको उच्चबिन्दु पुग्दा प्रयोगशालाले पुष्टि गरेका सङ्क्रमितको सङ्ख्या करिब २० हजार पुग्ने प्रक्षेपण गरिएको छ।
उच्चबिन्दुमा पुग्ने आकलनका आधार के ?
आकलनका आधारबारे सहप्रवक्ता अधिकारी भन्नुहुन्छ, “सामाजिक गतिविधि, जनस्वास्थ्यको मापदण्डको पालना गर्ने कुराहरू, सङ्क्रमणको आफ्नै गति, भाइरसको प्रवृत्ति, खोपको दायरामा आएका मानिसको सङ्ख्या यी यावत् विषयलाई हेरेर हामीले पूर्वानुमान गरेका हौँ।”
एउटा मानिसले अरू कति मानिसलाई सङ्क्रमण सार्न सक्छ भन्ने दर ुआर भ्यालूु हेरेर त्यसका आधारमा पनि उच्चबिन्दु पुग्ने आकलन गरिने उनले बताए।
“एक जनाले एक जनालाई सार्नु भनेको सङ्क्रमण उस्तैउस्तै रहनु हो। तर एक जनाले चार जनालाई र ती चार जनाले एक हप्तामा छुट्टाछुट्टै अरु चार(चार जनालाई सार्छन्। त्यसरी गुणात्मक रूपमा बढ्ने हुन्छ”, अधिकारीले भन्नुभयो, “अहिलेको अवस्था बढ्नेगरी नै देखिराखिएको छ।”
स्वास्थ्य प्रणालीमा कस्तो प्रभाव?
महामारीको लहर उच्चबिन्दुमा पुग्ने अनुमान भइरहँदा सरकारले स्वास्थ्य प्रणालीमा पर्ने असर न्यूनीकरणका लागि अहिले चौथो र्यापिड एक्शन प्लान तय गरेर त्यसलाई कार्यान्वयनमा ल्याइएको मन्त्रालयले जनाएको छ।
उक्त योजनाअनुसार प्रयोगशालालाई चाहिने थप सामान खरिद गर्ने, अस्पतालहरूमा शय्या व्यवस्थापन गर्ने काम रहेको बताइएको छ।
सङ्क्रामक रोग विशेषज्ञहरूले अहिलेको भेरिअन्ट कम घातक देखिए पनि सङ्क्रमित हुनेको सङ्ख्या तीव्र रूपमा बढिरहेकोले त्यसले स्वास्थ्य प्रणालीलाई प्रभावित गर्ने हुँदा कम आँक्न नमिल्ने बताएका छन्।
सङ्क्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदी भन्नुहुन्छ, “अरु देशको आँकडाको आधारमा आईसीयूमा भर्ना हुने दर डेल्टाको तुलनामा एकचौथाइ मात्रै छ। तर के बुझ्नुपर्यो भने ओमिक्रोनले डेल्टाले भन्दा कम्तीमा चार गुना बढी छ नि त। यसरी हेर्दा आईसीयू त उत्तिनै मानिसलाई चाहिने भयो नि।”
खोप कार्ड
खोप कार्डबारे कस्तो निर्णय ?
सङ्क्रमण तीव्र गतिमा बढिरहँदा सरकारले काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले महामारी नियन्त्रणका लागि भन्दै नयाँ नियमहरू सार्वजनिक गरेका छन्।
नयाँ नियमअनुसार सार्वजनिक स्थालमा जाँदा माघ ७ गते शुक्रवारदेखि खोप कार्ड अनिवार्य देखाउनुपर्नेछ।
काठमाडौं, भक्तपुर र ललितपुर तीनवटै जिल्ला प्रशासन कार्यालयले उस्तै बेहोराका नियमसहित सूचना जारी गरेका छन्।
ती नियम यस प्रकार छन्ः
- माघ मसान्तसम्म आमसभा, जुलुस, भेलालगायतका गतिविधि गर्न नपाइने
- गोष्ठी, सभा, सेमिनार, बैठकजस्ता क्रियाकलापहरू सञ्चालन गर्दा भर्चूअल माध्यमबाट गर्नुपर्ने
- भौतिक रूपमा उपस्थिति जनाएर गर्नुपर्ने कार्यक्रममा स्वास्थ्य प्रोटोकल अपनाएर २५ जनामात्रै उपस्थित हुन पाइने
- सिनेमाघर, डान्सबार, दोहोरी, नाचघर, क्लब, जिमखाना, स्विमिङ पुल माघ १५ गतेसम्म बन्द रहने
स्वास्थानी मेला
धार्मिक स्थलमा हुने नित्यपूजा र प्रार्थनाबाहेकका सबै गतिविधिमा रोक लगाउने निर्णय तीनवटा जिल्ला प्रशासन कार्यालयले गरेका छन्
- सार्वजनिक यातायातमा सीट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने
- मास्क नलगाएका मानिसलाई पाँच रुपैयाँ लिएर मास्क उपलब्ध गराउन सकिने
- धार्मिक स्थलमा हुने नित्यपूजा र प्रार्थनाबाहेकका सबै पूजामा रोक
- डिपार्टमेन्टल स्टोर, शपिङ मललगायतका क्षेत्रमा एक पटकमा २५ जन मात्रै जान पाइने