Prakash Adhikari January 20, 2022

गौंडाकोट(नवलपुर), ६ माघ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल मौलाकालिका मन्दिर जानका लागि केबुलकार निर्माण शुरु गरिएको छ । सम्पूर्ण प्रक्रिया सकेर केबुलकार निर्माणका लागि कन्स्ट्रक्सनको काम शुरु भएको हो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालको मौलाकाली केबुलकार कम्पनीले आगामी एक वर्षभित्र मौलाकालिका मन्दिरमा केबुलकार सञ्चालनमा ल्याउने गरी निर्माणको काम शुरु गरेको हो ।

‘मौलाकाली केबुलकार सञ्चालनका लागि औपचारिक अनुमतिका सबै काम सकिएको छ,’ ढकालले भन्नुभयो, ‘अब हामी फिल्डमा कन्स्ट्रक्सनको काममा जुटेका छौँ ।’

केबुलकार निर्माणको काम शुरु भइसकेको उल्लेख गर्दै उहाँले बढीमा एक वर्षभित्र केबुलकार सञ्चालनमा ल्याउने बताउनुभयो ।

‘केबुलकारसँगै निर्माण हुने होटलका लागि केही समय लाग्न सक्छ तर आगामी पुस महिनाभित्र केबुलकार सञ्चालनमा ल्याइसक्छौँ,’ ढकालले भने, ‘अब आउने माघे सङ्क्रान्तिमा केबुलकार चढेर मौलाकालिका माताको दर्शन गर्न पाइन्छ ।’

ढकालको कम्पनीले गैँडाकोटमा केबुलकारसँगै होटलसमेत सञ्चालनमा ल्याउनेछ ।

मौलाकाली केबुलकार कम्पनीले करिब साढे १ अर्बको लागतमा आयोजना अगाडि बढाएको हो । निर्माण सम्पन्नपछि सर्वसाधारणका लागि समेत शेयर निस्कासन गर्ने योजना रहेको उपाध्यक्ष ढकालले बताउनुभयो ।

‘केबुलकार निर्माणका लागि सबै फर्मालिटी सकिसकेका छौँ, फर्मालिटीका लागि धेरै समय लाग्ने गर्दथ्यो,’ ढकालले भन्नुभयो, ‘होटलसहितको सम्पूर्ण संरचना तयार गर्नका लागि भने बढीमा दुई वर्ष लाग्ने हाम्रो अनुमान छ ।’

टपस्टेशनमा कन्स्ट्रक्सन निर्माणका लागि नापजाँचको काम भइरहेको छ । मन्दिर नजिकै रहेको हेलिप्याडमा केबुलकारको टपस्टेशन निर्माण हुनेछ भने मौलाकालिका फेदीमा बटम स्टेशन हुने ढकालले जानकारी दिनुभयो ।

केबुलकारले एकतर्फि लम्बाई १ हजार २ सय मिटर लामो हुनेछ । केबुलकारमा १२ वटा डब्बा राखेर यात्रु ओसारिने उहाँले बताउनुभयो ।

केबुलकार सञ्चालनमा आएपछि भक्तजन १० मिनेटको यात्रामा मौलाकालिका मन्दिर पुग्ने ढकालको भनाइ छ । अहिले मन्दिर पुग्न करिब १ हजार ८ सय ८२ खुड्किलो उक्लिँदा ४५ मिनेट समय लाग्ने गरेको छ ।

केबुलकार सञ्चालनमा आएपछि यहाँको पर्यटकीय क्षेत्रमा हरेकतर्फबाट टेवा पुग्ने नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष रहनुभएका व्यवसायी ढकालको भनाइ छ ।

‘यहाँ केबुलकार सञ्चालनमा आएपछि गैँडाकोट र नवलपुरलाई मात्रै नभइ छिमेकी जिल्लालाई समेत हरेक तरिकाबाट फाइदा पुग्छ,’ वरिष्ठ उपाध्यक्ष ढकालले भन्नुभयो, ‘पर्यटन, कृषि, व्यवसाय, होटल रेस्टुराँ, रोजगारी सिर्जजनासहित धेरै तरिकाले स्थानीयलाई फाइदा पुग्छ ।’

केबुलकार निर्माणका लागि स्थानीयले ४९ प्रतिशतसम्म रकम राख्न सक्नेगरी सहमति भएर काम अगाडि बढेको गैँडाकोट नगरपालिका प्रमुख छत्रराज पौडेलले बताउनुभयो ।

ऐतिहासिक धार्मिकस्थलका रुपमा रहेको मौलाकालिका मन्दिरमा लामो समयदेखि केबुलकार सञ्चालनको माग उठेकाले स्थानीय सहभागिता व्यवसायी ढकाललाई निर्माणको जिम्मा दिइएको पौडेलको भनाइ छ ।

धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका निवर्तमान अध्यक्ष विष्णुहरि रिमालले मौलाकालिका मन्दिरको इतिहास करिब ५०० वर्ष पुरानो भएको बताउनुभयो ।

पाल्पाली राजा मणि मुकुन्दसेन देवघाट स्नानका लागि जाँदा यहाँ मौला गाडिएको ठाउँमा पूजा गरेर जाने गरेको इतिहास भएको रिमालको भनाइ छ ।

पूर्वपश्चिम महेन्द्र राजमार्गको नारायणी नदीको पुलबाट करिब चार किलोमिटर उत्तरतर्फ समुद्र सतहदेखि ५ सय ६१ मिटर उचाइमा मौलाकालिका भगवतीको मन्दिर छ ।

विगतमा वर्षको दुई पटक मन्दिरमा पूजाआजा हुने गरिएको भए पनि अहिले दैनिकरुपमा मन्दिरमा पूजाआजा हुने गरेको छ ।

‘पहिले चैते दशैं र बडा दशैंमा मन्दिरमा पूजाआज हुने गर्दथ्यो, ४२ सालपछि मन्दिरमा दैनिकरुपमा पूजा हुँदै आएको छ,’ रिमालले भन्नुभयो ।

Share Now

Leave a comment.