Prakash Adhikari January 21, 2022

 

काठमाडौं, ७ माघ । सत्तारूढ पाँच राजनीतिक दलको बैठक आज अपरान्ह बस्ने भएको छ।

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल संयोजक रहेको सत्तारूढ राजनीतिक समन्वय समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज अपरान्ह ४ बजे बस्ने गरी बोलाइएको छ।

यसअघि बिहीबार निर्धारित सो बैठक सत्तारुढ गठबन्धनका तीन ठूला दलका शीर्ष नेताहरुको छलफलका कारण स्थगित भएको थियो ।

बिहिबार अपरान्ह प्रधानमन्त्रीसमेत रहनुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको थियो।

सत्ता गठबन्धनमा रहेका दलहरु २०७९ सालामा हुने तीन तहका निर्वाचन बारे स्पष्ठ हुन सकेका छैनन् । कांग्रेस बाहेकका दलहरु यही गठबन्धनलाई चुनावमा पनि कायम राख्ने दाउमा छन् ।

सत्तारुढ गठबन्धनका बीचमा वैशाखमा स्थानीय तहको चुनाव गर्ने कि तीनै तहको चुनाव एकैपटक गर्ने कि वैशाखमा संघीय चुनाव गरेर प्रदेश र स्थानीय चुनाव पछि गर्ने भन्नेमा अन्योलग्रस्त छन् ।

सरकार समन्वय राजनीतिक समितिमा सरकारका एक मन्त्रीसहित गठबन्धनका ५ दलबाट २ ।२ जना सदस्य रहेका छन्।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले स्थानीय तह चुनाव वैशाखमै गरिनुपर्ने बताइरहेको छ।

संविधानअनुसार ५ वर्ष कार्यकाल सकिएको छ महिनाभित्र स्थानीय तहको चुनाव गर्नुपर्ने उल्लेख भए पनि स्थानीय तह निर्वाचन ऐनअनुसार भने कार्यकाल सकिनुभन्दा दुई महिनाअगाडि नै निर्वाचन गरिसक्नु पछ भनिएको छ।

सत्तागठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरु भने निर्वाचन ऐनको व्यवस्था संविधानसंग बाझिने देखिएकोले ऐनलाई संविधानअनुसार हुने गरी व्यवस्था गरेर स्थानीय निर्वाचन केही महिना पर सार्न चाहिरहेको देखिएको छ ।

 

Share Now

Leave a comment.