Prakash Adhikari January 22, 2022

काठमाडौं, ८ माघ । नेपालमा शनिवार लगातार पाँचौँ दिन १० हजार भन्दाबढी व्यक्तिमा कोभिड पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

विगत २४ घण्टामा १० हजार २ सय ५४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र कोभिडकै कारण १६ जनाको मृत्यु भएको पनि मन्त्रालयको तथ्याङ्कले देखाउँछ।

अहिलेको वृद्धिसँगै देशभरि भएका सक्रिय सङ्क्रमितको सङ्ख्या ७२ हजार नाघेको छ।

विगत दुई सातादेखि नेपालमा कोभिड १९ निरन्तर बढिरहेको छ।

अहिलेसम्म नेपालमा ११ हजार ६ सय ५१ जनाको कोभिडका कारण मृत्यु भएको छ जुन कुल सङ्क्रमितको १.४ प्रतिशत हो।

तथ्याङ्क के छ?

शनिवार अपराह्न प्रकाशित विवरण अनुसार विवरणअनुसार विगत २४ घण्टामा १४ हजार ४ सय ६२ वटा परीक्षण पीसीआर विधिबाट र ५,७२५ वटा एन्टिजन विधिबाट कुल २० हजार १ सय ८७ परीक्षण गरिएको थियो।

पीसीआर विधिबाट गरिएका परीक्षणमध्ये ५६.८ प्रतिशतमा र एन्टिजन परीक्षणमा ३५।७ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको हो।

हाल देशभरि सङ्क्रमितको सङ्ख्या ७२ हजार ८ सय ६२ रहेको तथ्याङ्कले देखाउँछ। तीमध्ये झन्डै दुईतिहाई काठमाडौं उपत्यकामा रहेको तथ्याङ्कले देखाउँछ।

सक्रिय सङ्क्रमितमध्ये ३४ हजार १ सय ५९ जना काठमाडौंमा, ८ हजार २ सय २० जना ललितपुरमा र ४ हजार ६ सय ४५ जना भक्तपुरमा छन्।

Medical illustration. 3D rendering

विगत २४ घण्टामा काठमाडौंमा ३ हजार ७ सय ६२ जना, ललितपुरमा १ हजार १ सय १० र भक्तपुरमा ४ सय ३४ जना नयाँ सङ्क्रमित थपिएका हुन्।

त्यस्तै मोरङमा २ सय ७३ जना, सुनसरीमा २ सय १२ जना र कास्कीमा ४ सय जना नयाँ सङ्क्रमित थपिएका छन्।

अहिले आईसीयूमा २ सय १० जना र भेन्टिलेटरमा ३७ जना बिरामी भएको मन्त्रालयले जनाएको छ।

विगत २४ घण्टामा निको हुने सङ्क्रमितको सङ्ख्या ७ सय ८ रहेको छ। नेपालमा कुल सङ्क्रमितमध्ये ९०.७ प्रतिशत निको भएका छन्।

अहिले सङ्क्रमित भइरहेका मध्ये अधिकांश २१ देखि ४० वर्ष उमेर समूहका मानिसहरू रहेका छन्।(स्रोतः बीबीसी नेपाली र स्वास्थ्य मन्त्रालय)

 

Share Now

Leave a comment.