काठमाडौँ, ९ माघ । नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाको कारण संघीय संसदको प्रतिनिधिसभा अवरुद्ध भएको बताएको छ ।
आफ्नो सरकारलाई विस्थापित गरी नेपाली कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवाको सरकार गठन भएको ६ महिना पुगेको अवसरमा सरकारको समीक्षा गर्दै सो पार्टीका अध्यक्ष के.पी. ओलीले सो आरोप लगाउनुभएको हो ।
सभामुख सापकोटाले प्रतिनिधिसभाको प्रमुख प्रतिपक्षी दललाई विभाजित गर्ने असंवैधानिक,असंसदीय र पदीय मर्यादाविपरीतको काममा संलग्न भएका कारण संसद् बैठक लामो समयदेखि अवरुद्ध हुन पुगेको एमालेले जनाएको छ ।
आफ्नो १५ बूँदे समीक्षामा एमाले अध्यक्ष ओलीले भन्नुभएको छ , “सत्तापक्षको गलत मनशायका कारण राज्यको अर्को महत्वपूर्ण अंग व्यवस्थापिकासमेत अकर्मण्य अवस्थामा पुगेको छ ।”
विज्ञप्तिमा भनिएको छ, “संसद् अवरोधका लागि नेकपा (एमाले) लाई दोषारोपण गर्ने सत्तापक्षले हेक्का राख्नु पर्छ सभामुखको यस्तो विभेदकारी कदमभन्दा अगाडि २०७८ साउन ३ गतेदेखि साउन मसान्तसम्म हामीले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलाका सम्बन्धमा आफ्नो गम्भीर असहमतिका बाबजुद जनसरोकारका विषयलाई सशक्त ढङ्गले उठाएर प्रतिनिधिसभालाई जीवन्त र क्रियाशील बनाएका थियौं ।”
एमालेले वर्तमान सरकार संविधानले निर्दिष्ट गरेको न्यूनतम दायित्व पूरा गर्नसमेत असफल भएको बताएको छ ।
सरकार राष्ट्रिय हितको रक्षामा चुकेको, महामारीमा अकर्मण्य बनेको र जनतालाई न्यूनतम राहत दिन समेत असमर्थ भएको ओलीको आरोप छ ।
संसदमा प्रमुख प्रतिपक्षी दलका नेता रहनुभएका एमाले अध्यक्ष ओलीले वर्तमान सरकारका कारण राज्यका तीनवटै अंगहरू संकटोन्मुख रहेको र यसले मुलुकलाई असफलताको दिशातिर धकेल्ने जोखिम पैदा भएको उल्लेख गर्नुभएको छ ।


























