Prakash Adhikari January 26, 2022

काठमाडौं, १२ माघ । नेपाल डेमोक्रेट युनियनले मित्र राष्ट्र चीनलाई रसुवा र तातोपानी नाकाबाट हुने व्यापार सहज बनाउन आग्रह गरेको छ ।

युनियनका  सिद्धार्थ गौतमद्धारा प्रकाशित प्रेस विज्ञप्तिमा चीनले रसुवा र तातोपानी नाकामा अघोषित नाकाबन्दी गरेर हजारौं कन्टेनर रोक्दै आएको जनाउदै यसले नेपाली व्यापारी प्रताडित र हतोत्साहित भएको जनाएको छ।

राससका अनुसार नेपालबाट चीनतर्फको निर्यात ठप्प छ। रसुवा भन्सार कार्यालय टिमुरेको चालु वर्षको ६ महिनाको राजस्व संकलनको तथ्यांकले पनि यसको पुष्टि गरेको छ। चीनबाट भने नियन्त्रित रुपमा सामानहरु आइरहेका छन्

प्रमुख भन्सार अधिकृत रामप्रसाद मैनालीका अनुसार गत साउनदेखि पुससम्मको ६ महिनाको अवधिमा ४ अर्ब ३३ करोड ४५ लाख ९ हजार संकलन भएको छ। कोभिड महामारी सुरु भएयता चिनियाँ नाकाबाट दैनिक नौवटा मात्रै कन्टेनर नेपालका लागि छाडिन्छ।

ती कन्टेनर रसुवागढीको मितेरी पुल छेउमा सामान झारेर फर्कन्छन्। ती सामान नेपाली कन्टेनरमा लोड गरेर ल्याइन्छ। नेपाली व्यापारी अर्डर गरेका सामान चिनियाँ अधिकारीहरुको खटनमा नाकाबाट नियन्त्रित परिमाणमा पठाउने गरिए पनि नेपालबाट चीनतर्फ भने केही पनि जाँदैन।

दुई आर्थिक वर्षको राजस्व असुली तुलनात्मकरुपमा हेर्दा यस वर्ष झण्डै साढे दुई गुनाले बढेको रसुवागढी भन्सारले जनाएको छ । गत वर्षको यही अवधिमा १ अर्ब ७२ करोड २४ लाख २ हजार मात्र असुली भएको थियो। साना–ठूला सबै प्रकारका सवारी साधन, निर्माणाधीन हाइड्रोपावरका उपकरण, स्याउ, ओखर, तयारी पोसाक, जुत्ताचप्पल, बच्चाका खेलौना, रोल कपडा, विद्युतीय सामग्रीजस्ता विविध सामग्री आयात भइरहेको भन्सार कार्यालय टिमुरेले जनाएको छ ।

यस वर्षको वार्षिक असुली लक्ष्य भने ६ अर्ब ८१ करोड ११ लाखको छ । सवारी साधन बढी मात्रामा आयात हुन थालेसँगै राजस्वमा वृद्वि हुन थालेको हो। गत वर्षदेखि हालसम्म जुमक्रेन, टिपर, एम्बुलेन्स, माइक्रोबस, मिनीबस, जीप तथा कारसमेतका एक हजारभन्दा बढी सवारी आयात भइसकेको छ। कोरोना संक्रमणविरुद्ध सावधानीका लागि सामान पल्टी गर्दा क्वारेन्टिनमा राखिएका कामदार मात्र मितेरी पुलमा परिचालन गरिएको छ।

सामान पल्टी गर्ने स्थल पूरै घेरावाल लगाइ पीपीई लगाएका चालक एवं कामदारका अलावा नेपाल प्रहरी, सशस्त्रका साथै भन्सार कर्मचारीले मात्र प्रवेश पाउने बनाइएको छ ।

नेपाल डेमोक्रेट युनियनले चीनले नेपालको आर्थिक विकासमा भन्दा नेपालमो राजनीतिलाई आफ्नो नियन्त्रणमा लिन प्रयास गरिरहेको तर्फ पनि आफ्नो ध्यान आकृष्ट भएको जनाएको छ ।

Share Now

Leave a comment.