Prakash Adhikari January 27, 2022

विराटनगर(मोरड.), १३ माघ । बुधबार सम्पन्न राष्ट्रियसभाको निर्वाचनमा प्रदेश १ मा रोचक परिणाम निस्कियो । एमालेलाई एक सिट पनि जित्न नदिने गठबन्धनको रणनीतिलाई छिचोल्दै अल्पसंख्यकबाट एमालेका सोनाम ग्याल्जेन शेर्पाले गठबन्धनका ( जनता समाजवादी पार्टीका तर्फबाट )उम्मेदवार हेमराज राईलाई पराजित गर्नुभयो ।

तर खसेको मतमा बराबर मतभार प्राप्त गरेपनि एमालेका गुरु बराललाई गोलामा पराजित गर्दै गठबन्धनका(नेपाली कांग्रेसबाट उम्मेदवारी दिनुभएका) गोपाल बस्नेत विजयी बन्नुभयो ।

एमालेका ४० जना सदस्यले मात्रै मत हालेको राष्ट्रियसभाको बुधवारको निर्वाचनमा सोनाम ग्याल्जेनलाई ४२ जना प्रदेश सांसदले भोट हालेको देखिन्छ। अर्थात् एमाले बाहेक अन्य २ सांसदले सोनामलाई मत हाले।

राप्रपाको अल्पसङ्ख्यक तर्फको उम्मेदवार नभएकाले सोनामलाई एक मत त्यताबाट आएको अनुमान छ। तर अर्को मत उहाँले गठबन्धनको तर्फबाट तानेको देखिन्छ।

प्रदेशतर्फ सोनमले ४२ जना प्रदेश सांसद र १ सय ५२ स्थानीय प्रतिनिधिको मतभारसहित ४ हजार ६ सय ५२ मत ल्याउनुभयो।

जसपाका हेमराज राईले ४९ प्रदेश सांसदको र १ सय ३३ स्थानीय प्रतिनिधिको मतभार सहित ४ हजार ३ सय ८६ मत ल्याउनुभयो।

यता खुलातर्फ गठबन्धनका उम्मेदवार गोपाल बस्नेत र एमालेका गुरु बरालको समान ४ हजार ४ सय ८८ मत आयो।

गोपाल बस्नेतलाई प्रदेशसभाका ५० संसदहरुबाट २ हजार ४ सय र स्थानीय प्रतिनिधिहरू १ सय १६ जनाको २ हजार ८८ मत आएको देखिन्छ।
बरालले प्रदेशसभाका ३८ सांसदहरूबाट १ हजार ८ सय २४ मतभार पाउनुभयो भने स्थानीय तहबाट १ सय ४८ जनाको २ हजार ६ सय ६४ मत।

दुई जनाको बराबरी भएपछि गोला तान्दा बस्नेत विजयी हुनुभयो।

गुरुमाथि अन्तरघात !

प्रदेश १ सभामा एमालेका ४१ जना सांसद छन्। त्यस मध्ये गुलेफून खातुन जेल सजायमा हुनुहुन्छ । सत्ता गठबन्धनसंग ५० सांसद छन् । दुवै पक्षमा नरहेको राप्रपाबाट प्रदेश १ मा एक जना सांसद छन्।

एमाले सांसद गुलेफुन खातुनलाई अदालतले कैद सजाय सुनाएको उहाँ फरार हुनुहुन्छ। खातुन नआएकाले एमालेको प्रदेशसभाका ४० सांसदले मात्रै राष्ट्रियसभा निर्वाचनमा मत हाले

बरालको परिणाम हेर्दा भोट एमाले ४० सांसदहरूमध्ये ३८ जनाले मात्रै मत दिए। दुई सांसदले अन्तरघात गर्दा बराल गोला प्रथामा पुग्नु पर्‍यो। र, पराजित पनि हुनुभयो।

एमाले नेता बरालले उम्मेदवारी दिएको पदमा राप्रपाका उम्मेदवार अमरबहादुर थापाले भने प्रदेशसभाका २ जना सांसदले पाउनुभयो। प्रदेश १ मा राप्रपाका एक मात्रै सांसद छन्। तर थापालाई एमालेकै १ जना प्रदेश सांसदले मत दिएको देखिन्छ।

एमालेका उम्मेदवार बरालकहाँ ४० सांसद मध्ये ३८ सांसदको मात्रै मत आउनु र राप्रपाका उम्मेदवारको मत बढी देखिनुले बराललाई एमालेबाटै अन्तर्घात भएको बुझिन्छ।

बराललाई गोलाप्रथामार्फत पराजित गर्नुभएका गोपाल बस्नेतलाई भने गठबन्धनका सबै अर्थात् ५० जना सांसदहरूले मत गएको देखिन्छ।

एमालेकी सुमित्रालाई पनि अन्तर्घात !

एमालेबाटै महिलातर्फ उम्मेदवार बनेकी सुमित्रा भण्डारीलाई पनि प्रदेश १ का एमाले सांसदहरूले अन्तर्घात गरेको देखिन्छ।

प्रदेश १ बाट एमालेकी सुमित्रालाई पराजित गर्दै महिला सदस्यमा नेकपा एकीकृत समाजवादीकी जयन्ती राई विजयी बन्नुभएको थियो । भण्डारीले पनि पार्टीका तर्फबाट ४० सांसदको मत पाउनुपर्नेमा ३८ को मात्रै मत पाउनुभएको देखिएको छ।

गठबन्धनमा अन्तरघात !

उता गठबन्धनमा पनि स्थानीय जनप्रतिनिधि र सांसदहरुबाट अन्तरघात भएको छ।

अल्पसंख्यक तथा अपाङ्गता कोटामा गठबन्धनका हेमराज राईलाई ५० मध्ये ४९ मात्रै सांसदले मत दिए। अर्कातिर स्थानीय तहका १२ जनाले पनि उहाँलाई अन्तरघात गरेको देखिएको छ। राईले १ सय २५ जनाको मत पाउनुपर्नेमा १ सय १३ ले मात्रै मत हालेको देखिएको छ।

अर्कातिर खुल्लातर्फ राष्ट्रिय प्रजातन्त्र पार्टीका अमर विष्टलाई एकजना अन्य दलका सांसदको मत गएको छ। प्रदेश १ मा राप्रपाका एक मात्रै सांसद छन्। त्यस्तै उनलाई चार स्थानीय प्रतिनिधिले मत दिए। जबकि त्यहाँ राप्रपाका तीन मात्रै स्थानीय प्रतिनिधि छन्।

प्रदेश १ मा एमालेबाट राष्ट्रियसभाका सांसदहरु पर्शु मेघी गुरुङ, अगम बान्तवा र नैनकला ओझाको पदावधि फागुन २० मा सकिँदैछ।

उनीहरुको स्थानमा बुधबार निर्वाचन हुँदा पाँच दलीय गठबन्धनले २ र एमालेले एक सिटमा जित निकालेका हुन्।

हिजो भएको राष्ट्रिय सभाको निर्वाचनमा प्रदेश १ को मतदानमा तीन जना अनुपस्थित भएका थिए। प्रदेशमा ९२ जना प्रदेश सांसद र २ सय ७२ स्थानीय पालिका प्रमुख उपप्रमुख मतदाता थिए । ह्

प्रदेश निर्वाचन कार्यालय प्रमुख लेवन कास्यप अधिकारीका अनुसार २ सय ७० पालिका प्रमुख उपप्रमुख र ९१ सांसदले मतदान गरे।

मतदानमा अनुपस्थित हुनेमा विराटनगरका उपमेयर इन्दिरा कार्की, झापाको गौरीगन्ज गाउपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ र प्रदेश सांसद गुलेफुन खातुन हुनुहुन्थ्यो ।

उपमेयर कार्की विरामी हुनहून्छ । खातुन फौजदारी मुद्दामा फरार हुनुहुन्छ भने श्रेष्ठ छोरीको विवाहका लागि काठमाडौंमा बस्नुभएको छ ।

 

Share Now

Leave a comment.