Prakash Adhikari March 9, 2018

काठमाडौं, २४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका स्रोत साधनका बारेमा विश्वलाई जानकारी दिन र लगानीको संभावनाको बारेमा सन्देश दिन नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला महत्वपूर्ण अवसर भएको बताएका छन् ।

उनले बुधबारदेखि काठमाडौंको भृकुटीमण्डपस्थित प्रदशर्नी स्थलमा शुरु भएको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।

नेपाल सरकाररवाणिज्य मन्त्रालयको सहयोग, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको प्रवर्द्धनमा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सह(आयोजना मेला आयोजना भएको हो ।

कार्यक्रमलाई संवोधन गर्नुहुंदै प्रधानमन्त्री ओलीले मेलाको सफलताको कामना गर्दै नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाले व्यापार प्रवर्द्धन गर्न सघाउ पुर्‍याउने पनि उल्लेख गरे।

उनले मेलाले रोजगारी सृजना, मुलुकको निर्यात अभिवृद्धि, नयाँ वस्तु उत्पादन विस्तार, नेपाली उत्पादनको अन्तराष्ट्रिय बजार प्रवर्द्धनमा समेत मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्रीले अब सरकारले आर्थिक समृद्धि र विकासलाई केन्द्रमा राखेर काम गर्ने बताउदै त्यसका लागि निजीक्षेत्रसंग मिलेर काम गरिने जानकारी दिए । उनले नियम कानून र प्रक्रिया सरल र उद्योग व्यवसाय मैत्रीपूर्ण बनाइने पनि बाचा गरे ।

कार्यक्रममा अर्थमन्त्री डा। युवराज खतिवडाले मुलुकको आर्थिक अवस्थाका विषयमा निजी क्षेत्र जानकार रहेको र यो कठिन अवस्थामा अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्रको नेतृत्वदायी भूमिका सरकारले खोजेको बताए ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले आआफ्नो क्षेत्रगत स्वार्थ त्यागेर अव सवैले देशको स्वार्थमा अगाडि बढ्नु पर्ने सुझाव दिंदै कर्मचारी तन्त्रले झैझमेला उत्पन्न गरेमा तत्काल कारवाही गर्ने अभिव्यक्ति दिए । उनले सरकार लगानीको प्रत्याभूति दिने प्रतिबद्धता व्यक्त गर्दै वाह्य लगानी प्रवर्द्धन गर्न पनि उद्यमी व्यवसायीहरुलाई आव्हान गरे ।

त्यसअघि महासंघका अध्यक्ष भवानी राणाले आर्थिक समृद्धिको अभियानको थालनी महासंघले शुरुवात गरिसकेको भन्दै अन्तराष्टिय व्यापार मेला समग्रमा नेपालको प्रवद्र्धनमा महत्वपूर्ण मंच रहेको स्पष्ट पारेकी थिइन् ।

महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले पूर्वाधारमा लगानी ल्याउन निजीक्षेत्रले व्यवसायीलाई प्रोत्साहन गर्न सक्ने बताए ।

कार्यक्रममा महासंघको व्यापार मेला समितिका सभापति दिल सुन्दर श्रेष्ठले मेलाका वारेमा जानकारी दिएका थिए।

कार्यक्रममा चीनको वाणिज्य मन्त्रालयको व्यापार विकास विभागका उप निर्देशक चीन होङले मेलाले दुई देशको आर्थिक व्यापारिक सम्बन्ध विस्तारमा सहयोग पुर्याउने धारणा राखेका थिए ।

“सोकेशिङ नेपाल एण्ड दी ग्लोव”को मुख्य थिममा प्रत्येक वर्ष आयोजना हुँदै आएको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको यो सातौं संस्करण हो ।

मेलामा नेपाल सहित भारत, पाकिस्तान, बंगलादेश र चीन लगायतका देशहरूको ३ सय स्टलहरु रहेका छन् । नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलामा हस्तकला, पर्यटन, सूचना प्रविधि एवं व्यवसायिक सूचना, कृषि उत्पादन, उर्जा, भवन तथा निर्माण सम्बन्धी, शिक्षा, औषधि, फलाम तथा स्टील, सवारी साधन आदिका छुट्टाछुट्टै स्टलहरू रहेका छन् ।

यस वर्षको मेलाको सहयोगी संस्थाहरुमा चाइना एक्जिविसन एण्ड फोरम कम्पनी लि., अर्घाखाँची ओपीसी सिमेन्ट, गार्मेन्ट एशोसिएसन नेपाल, फुटवेयर म्यानुफेक्चरर्स एसोसिएसन अफ नेपाल, प्रान, नेपाल टेलिकम, ग्लोवल आइएमई बैंक, इभेन्ट म्यानेजमा डीएन इभेन्टस्, आफिसियल इन्स्योरेन्समा प्रिमियर इन्स्योरेन्स कम्पनी नेपाल, अफिसियल कार्गो गणेश एयर कार्गो लि., अफिसियल आइएसपीमा मर्कन्टायल कम्युनिकेशन प्रा.लि. रहेका छन् ।

समुद्घाटन कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारका, पूर्व अध्यक्ष एवं विशिष्ट सदस्य चण्डिराज ढकाल, पूर्व अध्यक्ष रविभक्त श्रेष्ठ, उपाध्यक्षहरु उमेशलाल श्रेष्ठ, चन्द्रप्रसाद ढकाल, ज्ञानेन्द्रलाल प्रधान, कार्यकारिणी समितिका सदस्यहरु, पूर्व पदाधिकारीहरु, नेपाल सरकारका उच्च पदाधिकारीहरु, विभिन्न देशका राजदूतहरु, राजदूतावासका उच्च अधिकारीहरु, महासंघका सदस्य संघ संस्थाका पदाधिकारीहरु, उद्यमी व्यवसायी र व्यापारीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

Share Now

Leave a comment.