काठमाडौं, १६ माघ । नेपालमा विगत २४ घण्टामा झन्डै ५ हजार ३ सय जनामा कोभिड पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
गत साताको तुलनामा यो दैनिक सङ्क्रमितको सङ्ख्यामा देखिएको उल्लेख्य कमी हो।
तर अझै पनि देशभरि झन्डै ८० हजार सक्रिय सङ्क्रमितहरू रहेको मन्त्रालयको तथ्याङ्कले देखाउँछ। केही दिनअघि देशभरि भएका सक्रिय सङ्क्रितको सङ्ख्या ९० हजार नाघेको थियो।
आइतवार देशभरि कुल ३ हजार ५ सय ४० सङ्क्रमित थपिएको विवरण आएको थियो।
अहिले पुष्टि भएका सङ्क्रमितमध्ये झन्डै एकतिहाई काठमाडौं उपत्यकाका तीन जिल्लाका र बाँकी बाहिरका जिल्लाका हुन्।
तथ्याङ्कमा कोरोना संक्रमण
विगत २४ घण्टामा १० हजार ३ सय ६८ पीसीआर र ५ हजार ७ सय २० एन्टिजन गरी कुल १६ हजार ८८ वटा परीक्षण गरिएका थिए।
त्यसमध्ये पीसीआर गरिएका ३ हजार ४ सय ७२ र एन्टिजन विधिबाट गरिएका १ हजार ८ सय २० वटा नमुना सङ्क्रमण देखिएको हो।
सो अवधिमा झन्डै ८ हजार २ सय जना सङ्क्रमितहरू निको भएका थिए भने कोभिडका कारण ८ जनाको ज्यान गएको छ।
ओमिक्रोन भेरिअन्टविरुद्ध नयाँ कोभिड खोप परीक्षण सुरु
अधिकारीहरूले यो अवधिमा ३ लाख ६६ हजार व्यक्तिलाई खोप दिइएको जनाएका छन्।
विगत २४ घण्टामा काठमाडौंमा १ हजार ३ सय ६१ जना, ललितपुरमा २ सय ७१ जना र भक्तपुरमा ९० जनामा कोभिड पुष्टि भएको छ।
कहाँ कति सक्रिय सङ्क्रमित
अहिले काठमाडौं जिल्लामा मात्र ३२ हजार भन्दाबढी सक्रिय सङ्क्रमित छन्।
ललितपुरमा झन्डै १० हजार र भक्तपुरमा झन्डै ५ हजार ५ सय सक्रिय सङ्क्रमित रहेका तथ्याङ्कले देखाउँछ।
पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित १८ वटा जिल्लामा रहेको तथ्याङ्क छ।
त्यसमा प्रदेश नं १ को मोरङ, सुनसरी र झापा, मधेश प्रदेशको धनुषा, सप्तरी र सिराहा, गण्डकी प्रदेशको कास्की र नवलपरासी पूर्व, लुम्बिनी प्रदेशको बाँके, रूपन्देही र दाङ अनि सुदूरपश्चिम प्रदेशको कैलाली रहेका छन्।
सोमवार सार्वजनिक तथ्याङ्कले अन्य १८ जिल्लामा २ सय भन्दाबढी सक्रिय सङ्क्रमित रहेको देखाएको छ।
कतिपय विज्ञहरूले सीमित सङ्ख्यामा मात्रै परीक्षण गरिएकाले सरकारी तथ्याङ्कलाई पूर्ण मान्न नसकिने धारणा राख्ने गरेका छन्।
हिजोआजा मानिसहरूले घरबाटै एन्टिजन परीक्षण गर्ने गरेको पाइएको छ। त्यसबारे पनि विवरण सङ्कलन गर्ने प्रयास स्वास्थ्य मन्त्रालयले अघि बढाएको बताइन्छ।
तर धेरै मानिस अझै परीक्षण गर्न नगएको जनस्वास्थ्यविद्हरूको भनाइ छ ।(बीबीसी नेपाली सेवा)


















