Prakash Adhikari February 1, 2022

 

काठमडौं, १८ माघ । नेपाल खुला विश्वविद्यालयको उपकुलपतिमा डा. शिलु बज्राचार्य नियुक्त हुनुभएको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बज्राचार्यलाई उपकुलपतिमा नियुक्त गर्ने निर्णय गरेको हो।

८ महिनापछि विश्वविद्यालयले उपकुलपति पाएको हो। उहाँ विश्वविद्यालयको उपकुलपति बन्ने नेपालकै दोस्रो महिला हुनुहुन्छ। यसअघि सुदूरपश्चिम विश्वविद्यालयमा भुषण श्रेष्ठ पहिलो उपकुलपति बन्नुभएको थियो।

विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष भिमप्रसाद सुवेदी संयोजकत्वको सिफारिस समितिले बज्रचार्यसहित प्रा.डा. मनप्रसाद वाग्ले र प्रा.डा. इन्द्रबहादुर कार्कीको नाम उपकुलपतिका लागि सिफारिस गरेको थियो।

शंकरदेव क्याम्पसको पूर्वप्रमुख समेत रहिसक्नुभएकी नवनियुक्त उपकुलपति बज्राचार्य यसअघि खुला विश्वविद्यालयको व्यवस्थापन तथा कानुन संकायको डिन हुनुहुन्थ्यो।

त्रिभुवन विश्वविद्यालयको प्राध्यापक रहनुभएकी डा. बज्राचार्यले त्रिविबाटै व्यवस्थापन संकायमा विद्यावारिधि गर्नुभएको हो।

खुला विश्वविद्यालयमा शिक्षामन्त्री कुलपति रहने व्यवस्था छ। कुलपतिको प्रस्तावमा मन्त्रीपरिषद्ले उपकुलपति नियुक्ति गर्ने व्यवस्था छ।

Share Now

Leave a comment.