काठमाडौं, २१ माघ । आज बिहान पनि पश्चिमदेखि पूर्वसम्म देशका धेरै स्थानमा मेघगर्जन र चटयाङसहित हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगले दिएको जानकारीअनुसार बिहिबार रातिदेखि नै देशका धेरैजसो स्थानमा पानी परिरहेको छ। काठमाडौं उपत्यकामा पनि बिहान फाटफुट वर्षा भएको थियो।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीले देशभर मौसम बदली गराई वर्षा तथा हिमपात गराइरहेको छ।
‘यो क्रम आज पनि रोकिने सम्भावना छैन, आज पनि देशका धेरै स्थानमा वर्षा हुने देखिएको छ’, मौसमविद् प्रधानांगले भन्नुभएको छ, ‘यो (पश्चिमी न्यून चापीय) प्रणाली अहिले पूर्वतिर सर्ने क्रममा छ।’
उक्त प्रणाली गत बुधबार बेलुका नेपालको पश्चिमी क्षेत्रबाट प्रवेश गरेको हो। मौसमविद् प्रधानांगका अनुसार राति पूर्वदेखि पश्चिमसम्मै वर्षा भए पनि देशका पश्चिमी प्रदेशहरूतिर अलि बढी वर्षा भएको छ। कतै कतै असिना पनि परेको छ।
मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो पनि देशका धेरै स्थानमा मेघगर्जन, चटयाङ र असिनासहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।
साथै गण्डकी तथा लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ। अनि देशका उच्च पहाडी तथा हिमाली भेगका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ।
यसैगरी आज राति प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन, चटयाङ, असिनासहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। साथै सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ। अनि देशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना बुलेटिनमा उल्लेख छ।
महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।
जसमा भनिएको छ, देशका धेरै स्थानमा मेघगर्जनरचटयाङरअसिना सहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना साथै गण्डकी तथा लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना र देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन हुन अनुरोध छ।
नेपाल सरकार
ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय
जल तथा मौसम विज्ञान विभाग
मौसम पूर्वानुमान महाशाखा
मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)
जारी मिति: २०७८/१०/२१ गते विहान ६:०० बजे
मौसम विश्लेषण (Meteorological Analysis)
हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ ।
हाल मौसमको अवस्था (Present Weather Status)
हाल देशभर सामान्य देखि पुर्ण बदली भई धेरै स्थानहरुमा मेघगर्जन/चटयाङ सहित हल्का वर्षा भइरहेको छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
२०७८ माघ २१ गते (शुक्रबार)
दिउँसो : देशभर सामान्य देखि पूर्ण बदली रहने छ। देशका धेरै स्थानहरुमा मेघ गर्जन/चटयाङ/असिना सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।साथै गण्डकी तथा लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
राती : देशभर सामान्य देखि पूर्ण बदली रहने देखिन्छ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/चटयाङ/असिना हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको देखिन्छ साथै सुदुरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको देखिन्छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
२०७८ माघ २२ गते (शनिबार)
दिउँसो : देशका प्रदेश नं १, मधेस प्रदेश, वागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहि अन्य प्रदेशमा आंशिक वदली रहनेछ। प्रदेश नं १, मधेस प्रदेश, वागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा तथा अन्य प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । देशका पूर्वी तथा मध्य भूभागका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना समेत छ ।
राती : देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।
२०७८ माघ २३ गते (आइतबार)
दिउँसो : देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।
राती : देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours)
देशका धेरै स्थानहरुमा मेघ गर्जन/चटयाङ/असिना सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको साथै गण्डकी तथा लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको र देशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना
रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनु हुन अनुरोध छ।


















