Prakash Adhikari February 5, 2022

बिजुबार(प्युठान), २२ माघ । प्युठानमा बेहुली लिएर फर्किंदै गरेको जिप दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य पाँचजना घाइते भएका छन्।

प्युठानको नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ जाँदै गरेको ग १ ज ५०९२ नम्बरको जिप गएराति ३ बजे गौमुखी ६ ओखरपाटामा दुर्घटनामा परेको हो।

जिप सडकबाट झण्डै ३ सय मिटर अग्लो भिरबाट तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सत्यनारायण थापाले जानकारी दिनुभएको छ।

‘दुर्घटनामा ६ जनाको घटनास्थलमै र दुई जनाको उपचारको लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो,’ डिएसपी थापाले भन्नुभयो , ‘मृतकको सनाखत हुन बाँकी छ।’

ज्यान गुमाउनेमध्ये पाँचजना महिला र तीनजना पुरुष भएको छन्।

घाइते पाँच जनालाई जिल्ला अस्पताल बिजुवार लगिएको छ। उनीहरुमध्ये केहीको अवस्था गम्भीर छ।

बेहुलासहित घाइतेको उपचार भइरहेको र सोही गाडीमा सवार बेहुलीको अवस्थाबारे जानकारी नआएको प्रहरीले जनाएको छ ।

सदरमुकामभन्दा टाढा भएकोले घटनाको सबै विवरण आइ सकेको छैन ।

घटनास्थल इलाका प्रहरी कार्यालय पुजा निवासीबाट पनि १५ किलोमिटर टाढा रहेको छ ।

Share Now

Leave a comment.