काठमाडौं, २६ माघ । नेपाली काँग्रेसका पदाधिकारीहरुले सभापति शेरबहादुर देउवासँग बुधबार सामूहिक छलफल गरेका छन् ।
प्रधानमन्त्रीको निवास बालुवाटारमा भएको छलफलमा पदाधिकारीहरु मंगलबार पदाधिकारीहरुबीच भएको छलफलको विवरण प्रस्तुत गरेका थिए ।
कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले कार्यसम्पादन समितिको बैठकअघि पदाधिकारीहरुले बैठक एजेण्डामा केन्द्रित रहेर सभापति देउवासँग सामुहिक छलफल गरेको बताउनुभयो ।
‘हिजो हामीले सभापति बाहेकका पदाधिकारी बसेर भोलि बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सन्दर्भमा छलफल गरेका थियौं । त्यसबारे उहाँलाई बिफ्रिङ गर्यौँ ।’ पार्टी प्रवक्ता डा.महतले भन्नुभयो ।
भोलि २ बजे बस्ने कार्यसम्पादन समितिको बैठकम सदस्यहरुले आफ्नो धारणा राख्ने उहँको भनाइ छ ।
भोलिको बैठकलाई स्थानीय निर्वाचनमा पार्टी पंक्तिको परिचालन, म्याद समाप्त भएका भ्रातृ तथा शुभेच्छुक संस्था र अधिवेशन हुन बाँकी जिल्लाका सन्दर्भमा छलफल गर्ने एजेण्डा तय गरिएको छ ।
यस विषयमा समितिका सबै सदस्यको राय लिएर निर्णयमा पुगिने डा. महतले बताउनुभएको छ ।


















