लण्डन(संयुक्त अधिराज्य), २७ माघ(बीबीसी) । बेलायतमा अध्ययन गर्ने र आंशिक समय काम पनि गर्ने आशाले घरखेत गरेर बेलायत पुगेका नेपालसहित विभिन्न देशका विद्यार्थीहरुलाई उनीहरुले नक्कली भाषा परीक्षाको प्रमाण पत्र पेश गरेको भन्दै सुनुवाईको मौका समेत नदिईकन बेलायत छोड्न बाध्य पारिएको थियो ।
अहिले बेलायत प्रशारण संस्था बीबीसीले उक्त घटनामा अनुसन्धान गर्ने इटीएस भन्ने संस्थाले यसमा बदमासी गरेको पत्ता लगाएको छ । यो विषय बेलायतको संसदको सार्वजनिक लेखा समितिसमक्ष पुगिसकेको छ ।
बीबीसीको एउटा अनुसन्धानले यूकेले अङ्ग्रेजी भाषा परीक्षामा ठगेको आरोपमा देशनिकाला गरेका हजारौँ मानिसबारे निर्णय लिन प्रयोग गरेका प्रमाणबारे आशङ्का जन्माएको छ।
मानिसहरूको विवरण र न्यूजनाइटले प्राप्त गरेका आधिकारिक दस्ताबेजले गृह मन्त्रालयले ईटीएस नामक अन्तर्राष्ट्रिय भाषा परीक्षासम्बन्धी संस्थाका दाबीका आधारमा मानिसहरूलाई देशबाट निकालिरहेको देखिन्छ।
उक्त संस्थाको व्यवहारबारे गम्भीर आशङ्का र उसको तथ्याङ्कमा रहेका त्रुटिबारे जानकार हुँदाहुँदै मन्त्रालयले यस्तो कदम चालिएको पाइएको छ।
ईटीएसले लिएको र अङ्क दिएको परीक्षामा ठगी गरेको आरोपमा २ हजार ५ सय भन्दाबढी मानिसहरूलाई देशनिकाला गरिएको छ र कम्तीमा ७ हजार २ सय जनालाई ब्रिटेन छाड्न बाध्य बनाइएको छ।
यूकेमा नै बसिरहेका अन्यहरूले आफ्नो नाम त्यो सूचीबाट हटाउन सङ्घर्ष गरिरहेका छन्।
विवाद के हो ?
सन् २०१४ मा बीबीसी पानोरोमाले गरेको अनुसन्धानले लन्डनका दुई वटा परीक्षा केन्द्रहरूले नक्कली परीक्षा सञ्चालन गरिरहेको पत्ता लगाएको थियो।
त्यस्तो परीक्षामा बसेर प्राप्त हुने झुट्टा विवरणलाई मानिसहरूले भिसा प्राप्त गर्न प्रयोग गरेको देखिएको थियो।
त्यो खुलासापछि सरकारले ईटीएसलाई एक सय भन्दा बढी केन्द्रहरूमा विद्यार्थीहरूले ठगी गरेको या नगरेको जाँच्न भनेको थियो।
ईटीएसले ठगी गरेको आरोपितको लामो सूची उपलब्ध गराएको थियो तर त्यसमा केही निर्दोष व्यक्तिहरू परेका थिए।
लेबर दलका सांसद स्टेफन टिम्सले भन्नुभयो, “स्पष्ट रूपमा ईटीएस बदनाम छ तर पनि गृह मन्त्रालय पूर्ण रूपमा उसैमा निर्भर रहेको छ।”

ब्रिटेनको गृह मन्त्रालय
बीबीसीले थप प्रमाणहरू पनि सार्वजनिक गरेको छ जुन मन्त्रालयलाई वर्षौँदेखि थाहा थियो।
त्यसले ईटीएसलाई किन अनुसन्धान गर्न दिइयो भन्ने प्रश्न खडा गरिदिएको छ।
सुरुको जालझेल खुलासा गरेका पत्रकारहरूले नै गरेको नयाँ अनुसन्धानका आधारमा बीबीसीले निम्न कुराहरूको खुलासा गर्न सक्छ ?
- ईटीएसका कर्मचारीहरूले गृह मन्त्रालयलाई पानोरोमाले खुलासा गर्नुभन्दा करिब दुई वर्षअघि नै सङ्गठित रूपमा ठगी भइरहेको बताएका थिए,
- उनीहरूले मन्त्रालयका अनुसन्धानकर्तालाई कतिपय नक्कली परीक्षा केन्द्र बन्द गर्ने आफ्नो प्रयासलाई आम्दानी घट्ने कारणले
- चिन्तित रहेका व्यवस्थापकहरूले अवरुद्ध पारेको जानकारी गराएका थिए,
- यी विवरणहरूका आधारमा मन्त्रालयले आफूलाई ठगीबारे अन्धकारमा राखिएको जानकारी पाएको थियो र
- अनुसन्धानकर्तालाई प्रत्यक्षदर्शीका बयान पनि उपलब्ध गराइएको थियो र त्यसमा कतिपय परीक्षा रिमोट टेस्टिङ भनिने विधिमार्फत झुट्टा ढङ्गले सञ्चालन गरिएको जनाइएको थियो। वकिलहरूले त्यसले ईटीएसको प्रमाणलाई कमजोर तुल्याएको विश्वास गर्छन्
अबको बाटो
संसद्को सार्वजनिक लेखा समितिका अध्यक्ष मेग हिलिअरले बीबीसीलाई भन्नुभयो, “तपाईँहरूले जे पत्ता लगाउनुभएको छ त्यसबाट मलाई के लाग्छ भने गृह मन्त्रालयले ईटीएस तथ्याङ्कहरूमा भर पर्न मिल्दैन।”
उहाँले सरकारको कदमले ुठूलो अन्यायु गरेको भन्दै अन्तर्राष्ट्रिय विद्यार्थीका रूपमा ब्रिटेन आएकाहरूमाथि लगाइएका ठगीका बाँकी आरोपहरू हटाउनुपर्ने माग गर्नुभयो।
त्यसको सट्टा उनीहरूलाई नयाँ अङ्ग्रेजी भाषा परीक्षामा बस्न दिनुपर्ने उहाँको भनाइ ।
आफूमाथि गृह मन्त्रालयले लगाएका आरोप सात वर्षको कानुनी लडाइँपछि उल्टाउन सफल भएका वाहिदुर रहमान भन्नुहुन्छ, “उनीहरूले माफी नमागेकोमा मसँग मात्र नभई अन्य निर्दोष विद्यार्थीहरूसँग समेत आफ्नो टाउको लाजले झुकाउनुपर्ने हो।”
ठगीको आरोप लागेका व्यक्तिहरूलाई आफू विरुद्धका निर्णयमाथि कानुनी चुनौती समेत दिने मौका नदिई वा प्रमाण समेत हेर्न नदिई देशबाट निकालिएको थियो।
गृह मन्त्रालयले उनीहरूको भिसा रद्द गर्ने क्रममा ब्रिटेनमा पुनरावलोकन गर्न नसक्ने निर्णय गरेको थियो।


















