Prakash Adhikari February 11, 2022

 

काठमाडौं, २८ माघ । नेपाली कांग्रेसको जारी कार्य सम्पादन समितिको बैठकमा नेता डा.शेखर कोइरालाले एमसीसी संसदबाट टुंग्याउनु पर्ने र सबै तहका चुनावमा गठबन्धन नगरी एक्लै लड्नुपर्ने विचार राख्नुभएको छ।

शुक्रबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा लिखित मन्तव्य राख्दै नेता कोइरालाले स्थानीय चुनावमा कांग्रेस एक्लै लडे पनि ठूलो दल बन्ने दाबी गर्नुभएको छ।

‘हामीले गाउँदेखि सहरसम्म सबै स्थानीय निकायमा लोकप्रिय, क्षमतावान्, इमान्दार र पार्टीमा योगदान पुर्‍याएका साथीहरूलाई बिनाभेदभाव, न्यायोचित र पूर्वाग्रहरहित तरिकाले उम्मेदवार चयन गरौं। यसो गर्न सकेमात्र हाम्रो जीत सुनिश्चित हुनेछ। र, मैले विगतदेखि नै कांग्रेसले कांग्रेसलाई अर्थात् रुख छापमै मतदान गर्न पाउनु पर्छ भन्दै आएको तथ्यलाई यहाँ स्मरण गराउन चाहन्छु,’ नेता कोइरालाको लिखित मन्तव्यमा भनिएको छ, ‘यसको अभिप्राय भनेको हाम्रो राजनीतिक आदर्शविपरीत अप्राकृतिक गठबन्धन गर्नुको साटो पार्टीभित्र सुदृढ एकता कायम गर्दै, कार्यकर्ता साथीहरूको न्यायोचित व्यबस्थापन गरेर जाँदा कांग्रेस एक्लैले स्थानीय तहमा अत्यधिक सिट जित्न सक्छ। यही जितको बलले प्रदेश र संघीय निर्वाचनमा समेत कांग्रेसले एक्लै बहुमत प्राप्त गर्न सक्छ भन्ने मेरो मान्यता छ।’

कोइरालाले बिना गठबन्धन निर्वाचन लड्ने कुरा तल्लो तहमा बसेर काम गरेका साथीहरूसँगको अन्तरक्रियाबाट प्राप्त सुझावको आधारमा गरेको दाबी गर्नुभएको छ ।

अमेरिकी सहयोग एमसीसी परियोजना अब सहयोग र अनुदानमा मात्रै सीमित नभएर धेरै माथि उठिसकेकाले यसप्रति निकै गम्भीर बन्नु पर्ने उहाँको मत छ ।

‘यो परियोजनासँगै हाम्रो कूटनीतिक कौशलता र देशलाई नेतृत्व दिने क्षमता जोडिन्छ। नेपालको विकासका लागि आएको अनुदानलाई विभिन्न रङ दिएर अहिले भइरहेको राजनीति सस्तो लोकप्रियताका लागि हो,’ नेता कोइरालाले भन्नुभएको छ,‘एमसिसीलाई सम्भव भए राजनीति दलहरूबीचको सहमतिबाट, नभए सार्वभौम संसदमा संसदीय प्रक्रियामार्फत् यथाशीघ्र निकास दिनुपर्छ।

उहाँले एमसिसीबारे गठबन्धनमा सहमति नजुट्ने र संसदीय प्रक्रियामा पनि लान नदिने हो भने अहिलेको गठबन्धन, सरकार, हाम्रो पार्टी र संसदको क्षमतामाथि नै गम्भीर प्रश्नहरू तेर्सिने कुरा स्मरण गराउनुभएको छ ।

कोइरालाले पार्टीका हरेक संरचनालाई बिनाभेदभाव र पूर्वाग्रहरहित ढंगले, मापदण्ड बनाएर, विधान र लोकतान्त्रिक प्रक्रियाबमोजिम पूर्णता दिन पनि पार्टी सभापति शेरबहादुर देउवासंग आग्रह गर्नुभएको छ ।

नेता डा. कोइरालाले पार्टीका भातृ तथा शुभेच्छुक संस्थाका प्रमुखहरु केन्द्रीय सदस्यमा चुनिएर वा अरू कारणले रिक्त भएकोमा नेतृत्वलाई तत्काल पूर्ति गर्न माग गर्नुभएको छ।

‘सबै भातृ संस्थाहरूलाई विधानअनुसार अधिवेशनको प्रकियामा लैजानु पर्छ। कुनै पनि बहाना वा पार्टी बिधानको धारा निलम्वन गरेर अगाडि जान हुँदैन। हामीले निष्ठापूर्वक पार्टी बिधानको पूर्ण पालना गर्नुको विकल्प छैन,’ कोइरालाले भन्नुभएको छ,‘अतः अब रत्तिभर ढिला नगरी ती संस्थाहरूलाई चलायमान बनाउन विधान, लोकतान्त्रिक विधि र प्रक्रियाबमोजिम नेतृत्व चयनका लागि महाधिवेशन प्रकिया अगाडि बढाउन प्रस्ताव गर्दछु।’

डा. कोइरालाको मन्तव्यको सारः

आदरणीय सभापतिज्यू, पदाधिकारीहरु तथा केन्द्रीय कार्य सम्पादन समितिका साथीहरु,

महाधिवेशन सकेलगत्तै हामी चुनावी बर्षमा प्रवेश गर्न लागेका छौँ । पार्टीभित्रको एकता, सद्भाव र साथीहरुको न्यायोचित व्यवस्थापन नै हाम्रो शक्ति हो । हाम्रा घरभित्रका सानातिना घरेलु समस्या, आपसी रिस राग, मनमुटाव र असन्तुष्टि भन्दा माथि उठेर एकढिक्का हुँदै चुनावी अभियानमा लाग्नुको विकल्प छैन । सभापतिज्यूले केन्द्रदेखि वडासम्मका साथीहरुलाई एकढिक्का बनाएर पार्टी सञ्चालन गर्नुहुनेछ भन्ने विश्वास लिएको छु र यसमा मेरो पूर्ण सहयोग रहने प्रतिवद्धता व्यक्त गर्दछु ।

पार्टीका हरेक संरचनालाई विना भेदभाव र पुर्वाग्रहरहित ढंगले, मापदण्ड बनाएर, विधान र लोकतान्त्रिक प्रक्रिया बमोजिम पूर्णता दिन आग्रह गर्दछु । मैले यो विषयलाई यस कारण प्रारम्भमै राखेको हुँ, कि पार्टीको केन्द्रीय समितिमा मनोनयन तथा केन्द्रीय कार्य सम्पादन समिति गठन गर्दा सभापतिज्यूबाट कति न्याय र विवेक अपनाइयो भन्ने विषय बहसमै छ ।

मेरो अपेक्षा के हो भने देशकै नेतृत्व गरिरहेको लोकतान्त्रिक पार्टीमा संकिर्णता अपनाउने, भागबण्डामा रमाउने र पार्टीका धेरै साथीहरुको लामो योगदानलाई भुलेर पूर्वाग्रह र भेदभाव गर्ने प्रवृत्तिको अन्त्य हुनु पर्दछ । यसकारण सभापतिज्यूले सानातिना कुराबाट माथि उठेर न्यायोचित र सम्मानजनक निर्णय गर्नुहुन्छ भन्ने  विश्वास लिएको छु ।

१. हाम्रा भातृ तथा शुभेच्छुक संस्था भनेका पार्टीका शक्ति हुन् । आम समुदायलाई पार्टीको मूलधारसँग जोड्ने प्रमुख माध्यम हुन् । त्यसकारण विधि, विधान र लोकतान्त्रिक प्रकियाबाटै यी संस्थाहरुको नेतृत्व चयन हुनुपर्छ । अहिले कतिपय भातृ संस्थाका सभापतिहरु केन्द्रीय समितिमा हुनुहुन्छ । विधानतः यी संस्थाहरु नेतृत्वविहीन छन् । कतिपय भातृ र शुभेच्छुक संस्थाहरुको समयावधि सकिएको बषौँ समेत भइसक्यो । ती सबै भातृ संस्थाहरुलाई विधान अनुसार अधिवेशनको प्रकियामा लैजानुपर्छ । कुनै पनि बहाना वा पार्टी विधानको धारा निलम्वन गरेर अगाडि जान हुँदैन । हामीले निष्ठापूर्वक पार्टी विधानको पूर्ण पालना गर्नुको विकल्प छैन ।

अतः अब रत्तिभर ढिला नगरी ती संस्थाहरुलाई चलायमान बनाउन विधान, लोकतान्त्रिक विधि र प्रक्रिया बमोजिम नेतृत्व चयनका लागि महाधिवेशन प्रकिया अगाडि बढाउन प्रस्ताव गर्दछु ।

२. वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै फागुन १० गतेभित्र विधानसम्मत ढंगले बाँकी रहेका जिल्लाहरुको अधिवेशन गरौं भन्नेमा जोड दिन चाहन्छु ।

३. स्थानीय तहको निर्वाचन घोषणा भइसकेको छ । अब हामीले गाउँदेखि सहरसम्म सबै स्थानीय निकायमा लोकप्रिय, क्षमतावान, इमान्दार र पार्टीमा योगदान पुर्‍याएका साथीहरुलाई बिना भेदभाव, न्यायोचित र पूर्वाग्रहरहित तरिकाले उम्मेदवार चयन गरौं । यसो गर्न सकेमात्र हाम्रो जित सुनिश्चित हुनेछ । र, मैले विगतदेखि नै कांग्रेसले कांग्रेसलाई अर्थात रुख छापमै मतदान गर्न पाउनुपर्छ भन्दै आएको तथ्यलाई यहाँ स्मरण गराउन चाहन्छु ।

यसको अभिप्राय भनेको हाम्रो राजनीतिक आदर्श विपरीत अप्राकृतिक गठबन्धन गर्नुको साटो पार्टीभित्र सुदृढ एकता कायम गर्दै, कार्यकर्ता साथीहरुको न्यायोचित व्यवस्थापन गरेर जाँदा कांग्रेस एक्लैले स्थानीय तहमा अत्यधिक सिट जित्न सक्छ । यही जितको बलले प्रदेश र संघीय निर्वाचनमा समेत कांग्रेसले एक्लै बहुमत प्राप्त गर्न सक्छ भन्ने मेरो मान्यता छ । मैले यो विषय आफ्नो व्यक्तिगत धारणाका रुपमा भन्दा पनि तल्लो तहमा बसेर काम गरिरहनुभएका पार्टीका साथीहरुसँगको अन्तर्क्रियाबाट प्राप्त सुझाव र उहाँहरुको भावनालाई जस्ताको त्यस्तै राखेको हुँ ।

४. अहिले विश्वले नै कौतुहलतापूर्वक हेरिरहेको नेपाल सरकार तथा संसदको परीक्षणको विषय बनेको बहुचर्चित अमेरिकी सहयोग एमसीसी परियोजना अब सहयोग र अनुदानमा मात्रै सीमित रहेन । यो बिषय निकै माथि उठिसक्यो । यसप्रति हामी निकै गम्भीर बन्नु पर्ने परिस्थिति छ । यो परियोजनासँगै हाम्रो कुटनीतिक कौशलता र देशलाई नेतृत्व दिने क्षमता जोडिन्छ भन्ने मलाई लाग्दछ । नेपालको विकासका लागि आएको अनुदानलाई बिभिन्न रंग दिएर अहिले भइरहेको राजनीति सस्तो लोकप्रियताका लागि हो भन्ने मेरो ठहर छ ।

अतः एमसीसीलाई सम्भव भए राजनीति दलहरुबीचको सहमतिबाट, नभए सार्वभौम संसदमा संसदीय प्रक्रियामार्फत यथाशीघ्र निकास दिनुपर्छ । यदि एमसीसीबारे गठबन्धनमा सहमति नजुट्ने र संसदीय प्रक्रियामा पनि लान नदिने हो भने अहिलेको गठबन्धन, सरकार, हाम्रो पार्टी र संसदको क्षमतामाथि नै गम्भीर प्रश्नहरु तेर्सिने देख्दैछु ।
५. नयाँ क्रियाशिल सदस्यता वितरण तत्काल सुरु गरौँ र विवाद भएर थाती रहेका पुराना क्रियाशील सदस्यताको विधान अनुसार टुङ्गो लगाऔँ ।

अन्त्यमा,

कांग्रेसभित्रको एकता, सबै साथीहरुको सम्मान र न्यायोचित व्यवस्थापनबाट मात्रै मुलुक, लोकतन्त्र र संविधानको रक्षा तथा संवर्द्धन सम्भव छ । मुलुकलाई सुशासन प्रदान गरी समृद्ध बनाउन सकिन्छ । जनताको मुहारमा उज्यालो भर्न सकिन्छ । जय नेपाल ।

डा. शेखर कोइराला
२८ माघ २०७८

Share Now

Leave a comment.