किभ(युक्रेन), १ फागुन(बीबीसी) । पश्चिमा राष्ट्रहरूले युक्रेनमाथि रुसले आक्रमण गर्न सक्ने चेतावनी दिएको अवस्थामा एक दर्जनभन्दा बढी राष्ट्रहरूले आफ्ना नागरिकहरूलाई युक्रेन छाड्न आग्रह गरेका छन्।
त्यस्तो आग्रह गर्ने राष्ट्रमा अमेरिका, यूके र जर्मनीसहित विभिन्न अरू देश छन्।
मस्कोले युक्रेनसँगको सीमा नजिकै एक लाख भन्दा बढी सेना तैनाथ गरेको छ। तर उसले आक्रमणको योजना रहेको अस्वीकार गर्दै आएको छ।
पछिल्लो टेलिफोन संवादका क्रममा अमेरिकी राष्ट्रपति जो बाइडनले उनका रुसी समकक्षी भ्लादिमिर पुटिनलाई आक्रमणका कारण चुकाउनुपर्ने मूल्यबारे चेतावनी दिनुभएको छ।
युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले भने आक्रमणको चेतावनीले त्रास बढाउन सक्ने बताउँदै आउनुभएको छ।
कुनै पनि बेला आक्रमण हुनसक्छ

बेलारुसमा रुसी सेना
ह्वाइट हाउसले कुनै पनि समय युक्रेनमाथि आक्रमण सुरु हुनसक्ने चेतावनी दिएको छ। आक्रमण हवाई बम प्रहारबाट सुरु हुनसक्ने अमेरिकी भनाइ छ।
बाइडनले यदि रुसले हमला गरेमा उद्धारका लागि सेना नपठाइने भन्दै आफ्ना नागरिकहरूलाई सजग गराउनुभएको छ।
अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सलेभनले रुसी सेनाहरू अब ठूलो सैन्य कारबाही अघि बढाउन सक्षम रहने स्थितिमा रहेको बताएका छन्।
आफ्नो प्रशासनलाई आक्रमणबारे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अन्तिम निर्णय गरे र नगरेको जानकारी नरहेको तर क्रेमलिनले सैन्य कारबाहीको औचित्य सिद्ध हुने बहाना खोजिरहेको हुँदा तीव्र हवाई बम आक्रमणबाट थप कारबाही सुरु हुनसक्ने सलेभनले बताउनुभयो।
यसअघि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले पनि युक्रेनमा रुसी आक्रमण जुनसुकै बेला सुरु हुनसक्ने बताउनुभएको थियो ।
अस्ट्रेलिया भ्रमणका क्रममा उहाँले सीमावर्ती क्षेत्रमा थप सैन्य अधिकारीहरू आएसँगै तनावका बढ्दो सङ्केतहरू अमेरिकाले देखेको बताउनुभयो।
“हामी यस्तो अवधिमा छौँ जहाँ जुनसुकै बेला आक्रमण सुरु हुन सक्छ। त्यो शीतकालीन ओलिम्पिक्सकै समयमा पनि हुन सक्छ”, उहाँले भन्नुभयो।
रुसको भनाइ

रुसले भने उक्त आरोपलाई उक्साहटपूर्ण अनुमानको संज्ञा दिएको छ।
रुसी विदेश मन्त्रालयले पश्चिमा राष्ट्रहरूलाई गलत सूचना फैलाएको आरोप लगाएको छ।
उत्तर एटलान्टिक सन्धि सङ्गठन, नेटोसँग युक्रेनले कहिल्यै उक्त सङ्गठनमा सामेल हुन नपाउने विषय सुनिश्चित गर्न पश्चमा राष्ट्र समक्ष रुसले माग गरेको छ।
तनाव कम गर्नका लागि कूटनीतिक पहल जारी छ।
अमेरिकालाई रुसको चेतावनी
युक्रेनस्थित अमेरिकी दूतावासमा अत्यावश्यक काममा खटिएका बाहेकका कर्मचारीहरूलाई राजधानी किएभ छाड्न आदेश दिइएको छ।
ुुआपतकालिन अवस्था व्यवस्थापन गर्नका लागिुु युक्रेनको पश्चिमी सहर लीभीभमा ‘सामान्य उपस्थिति रहने भए पनि’ आइतवारबाट कन्सुलर सेवा बन्द गरिने जनाइएको छ।
क्यानडाले पनि आफ्नो दूतावासका कर्मचारीलाई पोल्यान्ड नजिकै रहेको लीभीभमा स्थानान्तरण गर्न लागेको त्यहाँका सञ्चार माध्यमहरूले जनाएका छन्।
यूकेकी राजदूतले आफू र ु’मुख्य टोली’कीएभमै बस्ने ट्विट मार्फत जानकारी गराउनुभएको छ।
अस्ट्रेलिया, इटली, इजरेल, नेदरल्यान्ड्स अनि जापानले पनि आफ्ना नागरिकहरूलाई युक्रेन छाड्न भनेका छन्।
केहीले कूटनीतिक निकायका कर्मचारी अनि तीनका परिवारलाई फिर्ता लगिसकेका छन्।
पृष्ठभूमि

रुस-युक्रेन सीमाक्षेत्रमा रुसी बख्तरबन्द गाडीहरू
रुसले युक्रेनको दक्षिणी क्राइमिया प्रायद्वीपलाई आफ्नो नियन्त्रणमा लिएको र पूर्वी डोनबास क्षेत्रको रक्तपातपूर्ण विद्रोहलाई समर्थन गरेको झन्डै आठ वर्षपछि तनाव पुनस् चर्केको हो।
मस्कोले युक्रेन सरकारलाई पूर्वी क्षेत्रमा शान्ति पुनर्स्थापनाका लागि अन्तर्राष्ट्रिय सम्झौताहरू लागु गर्न असफल भएको आरोप लगाएको छ।
त्यस क्षेत्रमा हालसम्म कम्तीमा १४ हजार मानिसको ज्यान गइसकेको छ र रुस समर्थित विद्रोहीहरूले अधिकांश क्षेत्रहरू नियन्त्रण गरेका छन्।
युक्रेनमा रुसी आक्रमणको निरन्तरको चिन्तामाझ गत साता युरोपमा थप सेना पठाउने पेन्टागनले जनाएको थियो।
अमेरिकी सैनिकहरूले युक्रेनमा लड्ने छैनन् तर अमेरिकी साझेदारको सुरक्षा गर्न काम गर्नेछन्।
उक्त अमेरिकी निर्णयलाई रुसले विनाशकारी कदम भनेको छ।
विश्वका सबैभन्दा ठूला आणविक हतियार भएका रुस र अमेरिका बीचको शीतयुद्ध कालदेखि द्वन्द्व रहेको छ।
युक्रेन कम्युनिस्ट सोभियत सङ्घको महत्त्वपूर्ण हिस्सा रहेको थियो।


















