काठमाडौँ, २ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को संसदीय दलको बैठक अहिले नयाँ बानेश्वरस्थित संसद भवनमा बसिरहेको छ ।
हिजो निर्धारित कार्यक्रम अनुसार आज बिहान ११ बजेपछि नयाँ बानेश्वरस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय केन्द्रको ल्होत्से हलमा बैठक बसिरहेको छ ।
आइतबार प्रधानन्यायाधीश विरुद्ध दर्ता गरिएको महाअभियोगबारे पार्टीको आधिकारिक र साझा धारणा बनाउन बैठकमा छलफल केन्द्रित हुने बताइएको छ ।
एमालेका प्रमुख सचेतक विशाल भट्टराईलेमहाअभियोगको विषयमा पार्टीको साझा धारणा बनाउन छलफल हुन लागेको जानकारी दिनुभएको छ । यसबाहेक एमसीसीबारे पनि बैठकमा छलफल हुने बताइएको छ ।
हिजो साँझ बसेको एमाले सचिवालय वैठकले महाअभियोगको राजनीतिक प्रतिवाद गरिने निर्णय गरको छ ।
कतिपयले आजको संसदीय दलको बैठकपछि एमालले पनि संसद पुनस्थापनाको फैसला दिने संवैधानिक इजलासका न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराई विरुद्ध एमालले पनि महाभियोग प्रस्ताव दर्ता गर्र्ने बताएका छन् ।
तर कतिपय एमाले नेताहरुले प्रतिशोधको राजनीति गरेर स्वतन्त्र न्यायपालिकाको अस्तित्वमा प्रहार नगर्न नेतृत्वलाई सुझाव दिएका छन् ।


















