काठमाडौं, ८ फागुन । सत्ता गठबन्धनका दलहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।
संसदमा दर्ता भएको एमसीसी प्रस्ताव छलफलका लागि टेबल गर्नका लागि सहमति जुटाउने प्रयास स्वरुप सत्ता गठबन्धनको बैठक बसेको हो ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरु सहभागी हुनुभएको छ ।
एमसीसीका बारेमा सत्तारुढ पाँच दलीय गठबन्धनमा रहेको विमति क्रमशः कम हुँदै गएको छ । हिजो शनिवार मात्र नेकपा (एकीकृत समाजवादी) पार्टीको स्थायी समितिको बैठकले अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेञ्ज कर्पोरेशन(एमसीसी)बाट नेपालको सडक विस्तार र प्रशारण लाईन निर्माणको लागि दिइएको ६० अर्बभन्दा बढीको अनुदान सहयोग सम्बन्धी संझौता छलफलका लागि संसदमा प्रस्तुत गर्न दिने लचिलो नीति लिएको छ ।
एकीकृत समाजवादी पार्टीले लिएको लचिलो निर्णयको प्रभाव नेकपा माओवादी केन्द्रमा पनि पर्ने देखिन्छ ।
डा.बाबुराम भट्टराईले नेतृत्व गर्नुभएको तात्कालीन नेकपा माओवादीको सरकारको पालामा नेपालमा पुनर्निर्माण र नवनिर्माणको लागि अमेरिकासंग एमसीसी अन्तरगतको अनुदान सहयोग लिने प्रक्रिया सुरु भएकोले नेकपा माओवादी केन्द्र यसको नैतिक बन्धनबाट निस्कन सक्दैन ।
यो सहयोग लिने संबन्धी विषयमा वार्ता गर्ने समिति नेकपा माओवादीका अध्यक्ष प्रचण्डको नेतृत्वमा बनेको सरकारका पालामा भएको र यसको संझौतामा हस्ताक्षर गर्ने सरकारमा पनि माओवादीका नेताहरु सरकारमा रहेकोले माओवादी एमसीसीको विरोधमा उभिन सक्ने अवस्थामा छैन ।
गत असोज महिनामा नेपालको भ्रमणमा आएका अमेरिकी विदेश सहायक मन्त्री डोनाल्ड लु र एमसीसीका उपाध्यक्ष फतिमा सुमारसगको भेटघाटपछि नेकपा माओवादीका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीका अध्यक्षलाई संबोधन गर्दै ५ महिनाभित्र संसदबाट पारित गर्ने प्रतिबद्धतासहितको पत्र पठाएकोले पनि नेकपा माओवादी केन्द्रका नेताहरु एमसीसीको विरुद्धमा उभिएर टिक्न नसक्ने अवस्थामा पुग्नुभएको छ ।
प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डले प्रतिबद्धता जनाएको ५ महिनाको अन्तिम मिति फागुन १६ गते पूरा हुने भएकोले प्रधानमन्त्री सो समयसीमा पहिले नै यो संझौता संसदबाट पारित गर्ने तयारीमा हुनुहुन्छ ।
त्यसको लागि उहाँले आज गठबन्धनको बैठक बोलाउनुभएको हो । प्रधानमन्त्री देउवाले फागुन ४ गते,फागुन ६ गतेको तयारी एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रको अनुरोधमा स्थगित गरी आज सो संझौता छलफलका लागि प्रतिनिधिसभाको बैठकमा पेश गर्ने सहमति जुटाउन गठबन्धनको बैठक बोलाउनुभएको हो ।
अमेरिकी सहयोग लिने विषयमा चीनको विदेश मन्त्रालयले विरोधमा वक्तव्य दिएपछि नेपालका बामपन्थी नेताहरु घरेलुमामिलामा विदेशी हस्तक्षेप आमन्त्रण गरेको विषयले वदनाम हुन लागेको अवस्था छ । यसले माओवादीसहित राष्ट्रिय जनमोर्चालाई पनि अनुदान सहयोग स्वीकार गर्न दबाव पर्न गएको छ ।
सत्ता गठबन्धनको अर्को साझेदार जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराई विकास सहयोग लिने र संसदबाट पारित गर्ने कुराको सुरुबाटै पक्षमा देखिनुभएको छ ।
के.पी.शर्मा ओलीले सरकारको नेतृत्व गरेको समयमा एमसीसी कार्यान्वयन संझौता गरिएको र संन्धी ऐन अन्तरगत यसलाई संसदबाट पारित गर्न संसदमा दर्ता गरिएकोले यो प्रस्ताव संसदमा पेश गर्दा विरोध गर्ने नैतिक आधार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि गुमाईसकेको छ ।
गठबन्धनका दलहरुमा सहमति भएमा आज दिउँसो बस्ने प्रतिनिधिसभाको बैठकमा एमसीसी संझौता टेबल गर्ने तयारी प्रधानमन्त्री देउवाको रहेको छ ।


















