मस्को(रुस), १० फागुन(बीबीसी) । अमेरिकी सुरक्षा र गुप्तचर निकायको सूचनालाई पुष्टि गर्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा पृथक्तावादीको नियन्त्रणमा रहेका दुईवटा क्षेत्रलाई स्वतन्त्र राज्यको रूपमा मान्यता दिँदै ुशान्तिपूर्ण कार्युका लागि आफ्ना सेनालाई परिचालन गर्ने घोषणा गर्नुभएको छ ।
यस पहिले उहाँले युक्रेनका दुईवटा पृथक्तावादी नियन्त्रित क्षेत्रलाई स्वतन्त्र राज्यको रूपमा मान्यता दिनुभएको थियो।
राष्ट्रपतिको घोषणा आउनु पहिले रुसी संसद डुमाले ती क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिन वा त्यहाँ भएको पृथकतावादी आन्दोलनलाई साम्य पार्न रुसले हस्तक्षेप गर्नुपर्ने बहस चलाएको थियो ।
पुटिनले हस्ताक्षर गर्नुभएको आदेशमा रुसी सेनाले दुवै क्षेत्रमाुुशान्ति स्थापनाका लागि भूमिका निर्वाहुु गर्ने उल्लेख गरिएको छ जसले सैन्य बलले छिट्टै सीमा पार गर्न सक्ने चिन्ता बढाएको छ।
एउटा टेलिभिजन सम्बोधनका क्रममा पुटिनले राष्ट्रका रूपमा युक्रेनको अस्तित्व नरहेको बताउनुभयो।
युक्रेनले के भन्यो ?
युक्रेनका राष्ट्रपतिले भोलोदीमिर जेलेन्स्कीले मङ्गलवार बिहान राष्ट्रको नाममा सम्बोधन गर्दै युक्रेनका राष्ट्रपति रुसी गणराज्यको कदमले आफ्नो देशको अखण्डता र सम्प्रभुताको उल्लङ्घन भएको बताउनुभएको छ।
रुसले जस्तो सुकै टिप्पणी गरे पनि युक्रेनको अन्तर्राष्ट्रिय सीमा परिवर्तन नहुने उहाँले बताउनुभयो।
रुसको कदमले शान्ति स्थापना गर्ने प्रयास र अन्तर्राष्ट्रिय वार्ताको विद्यमान प्रक्रियालाई ध्वस्त पारेको युक्रेनले जनाएको छ।
जेलेन्स्कीले युक्रेनले शान्ति चाहेको र राजनीतिक तथा कूटनीतिक समाधानको समर्थन गर्ने बताउनुभयो।
‘‘हामी डराएका छैनौँ,’’ आफ्नो राष्ट्र अन्तर्राष्ट्रिय साझेदारहरूबाट स्पष्ट अनि प्रभावकारी कदमहरूको पर्खाइमा रहेको बताउँदै उहाँले घोषणा गर्नुभयो।
युक्रेनले कसैलाई केही पनि नदिने जेलेन्स्कीले वाचा गर्नुभएको छ।
अमेरिकाले विद्रोहहरूको नियन्त्रणमा रहेको क्षेत्रहरूमा प्रतिबन्ध लगाएको छ, आफ्ना नागरिकहरूलाई त्यहाँ थप लगानी गर्न वा व्यापार नगर्न भनेको छ।
अमेरिकी कूटनीतिज्ञ पोल्यान्डमा
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले सुरक्षाका कारण युक्रेनको लीभीभ सहरमा रहेका आफ्ना कूटनीतिज्ञहरू पोल्यान्डमा बास बस्ने बताउनुभएको छ।
ती अधिकारीहरूलाई यसअघि नै राजधानी कियभबाट पश्चिमा सहर लीभीभ स्थानान्तरण गरिएको थियो।
ब्लिङ्कनले उनीहरू आफ्नो काम जारी राख्न र कन्सुलर सेवा उपलब्ध गराउनका लागि युक्रेनमा नियमित रूपमा फर्कने बताउनुभएको छ।
चीनद्वारा सबै पक्षलाई संयमित हुन आग्रह
संयुक्त राष्ट्रसङ्घका लागि चिनियाँ राजदूतले सुरक्षा परिषद्को बैठकमा सबै पक्षलाई संयम अपनाउन आग्रह गर्नुभएको छ।
उहाँले तनाव थप बढाउने कुनै पनि कार्यलाई बेवास्ता गर्न पनि सबै पक्षलाई आग्रह गर्नुभएको छ।
चीनले कूटनीतिक समाधानका लागि सबैखाले प्रयासको स्वागत गर्ने उहाँले बताउनुभयो।
त्यसअघि समाचारसंस्था रोएटर्सले एक वरिष्ठ अमेरिकी अधिकारीले “हामी बख्तरबन्द गाडीहरू परिचालन नभएसम्म कूटनीतिलाई निरन्तरता दिनेछौँ” भनेको जनाएको थियो।
रुसले युक्रेनमाथि औँला ठड्यायो
संयुक्त राष्ट्रसङ्घका लागि रुसी राजदूतले सुरक्षा परिषद्को बैठकमा बोल्दै रुससमर्थित पृथक्तावादीहरू भएको युक्रेनी क्षेत्रलाई ‘युक्रेनी आक्रामकता’ बाट जोगाउनुपर्ने बताउनुभएको छ।
रुस राष्ट्रसङ्घीय सुरक्षा परिषद्को स्थायी सदस्य हो।
भसिली निबिन्ज्याले ‘डोन्बासमा नयाँ रक्तपात हुन दिने काम नचाहेका’ बताउनुभयो।
युक्रेनले आफूले तनाव बढाएको भन्ने आरोपको खण्डन गरेको छ।
उहाँका अनुसार रुस कूटनीतिका लागि अझै खुला रहेको र मिन्स्क सम्झौतामा प्रतिबद्ध रहेको बताउनुभयो।
युक्रेनको पूर्वी क्षेत्रमा आठ वर्ष लामो द्वन्द्व अन्त्य गर्न र छुट्टिएर बसेका क्षेत्रको हैसियत निर्धारण गर्न उक्त सम्झौता गरिएको थियो।
त्यसअघि अमेरिकी राजदूतले मस्कोले उक्त सम्झौतालाई ध्वस्त पारेको आरोप लगाएका थिए।
युक्रेनमा आक्रमण गर्नका लागि मस्कोले उक्त देशमा रहेका रुसी जातीय समूहलाई संरक्षण गर्ने बहाना बनाउन खोजिरहेको आफ्नो विश्वास रहेको अमेरिकाले बताएको छ।
स्वघोषित जनगणतन्त्र डोनेट्स्क र लुह्यान्सक रुसले समर्थन गरेका विद्रोहीका पकड क्षेत्र हुन् र उनीहरूले युक्रेनको सैन्य बलसँग सन् २०१४ देखि लडिरहेका छन्।
रुसको पछिल्लो कदमले उक्त क्षेत्रमा शान्ति वार्ता समाप्त हुने सम्भावना देखिएको बताइएको छ।
उक्त कदमले युक्रेनको पूर्वी क्षेत्रमा रुसी सेना प्रवेश गर्नका लागि आधार तय गर्न सक्ने विषयबारे पश्चिमा शक्तिहरू चिन्तित छन्।




















