किएभ(रुस), १८ फागुन(बीबीसी) । युक्रेनी अधिकारीहरूले दिएको पछिल्लो जानकारीमा एक साता अगाडि सुरु भएको रुसी अतिक्रमणका कारण हालसम्म २ हजार गैरसैनिकको ज्यान गइसकेको बताएका छन्।
त्यहाँको आपत्कालीन सेवासम्बन्धी निकायका अनुसार १० जना उद्धारकर्मीहरू पनि मारिएका छन्।
रुसी आक्रमणले निम्त्याएको ४०० वटा आगजनीका घटना नियन्त्रण गरिएको अनि ४१६ बम निष्क्रिय पारिएको पनि उसले बताएको छ।
“सात दिनको युद्धमा रुसले सयौँ यातायात सञ्जाल, आवासीय भवनहरू, अस्पतालहरू तथा बालबालिका पढ्ने स्थलहरू ध्वस्त पारिसकेको छ,” उसले उल्लेख गरेको छ।
९ लाखले युक्रेन छोडे
संयुक्त राष्ट्रसङ्घले रुसी फौजको आक्रमण युक्रेनमा विस्तार भइरहँदा करिब ९ लाख मानिसले युक्रेन छाडेको जनाएको छ।
पोल्यान्डले युक्रेनमाथि आक्रमण थालिएयता ४ लाख ५० हजार युक्रेनीहरू आफ्नो देश प्रवेश गरेको जनाएको छ।
एक लाखभन्दा बढी मानिसहरू हङ्गेरीमा पुगेका छन्।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने मानिसहरूको प्रतिरोधी क्षमताको प्रशंसा गर्नुभएको छ।
उहाँले रुसले बम र हवाई हमलाबाट आफ्नो देशलाई लिन नसक्ने बताउनुभएको छ।
रुसद्धारा दोस्रो शान्तिवार्ताको जिकिर
सोमवार बेलारुसको गोमेल क्षेत्रमा पहिलो चरणको शान्तिवार्ता भएको थियो ।
रुसले युक्रेनी प्रतिनिधिहरूसँग दोस्रो चरणको शान्तिवार्ता गर्न आफू तयार रहेको जनाएको छ।
यसअघि युक्रेनी सीमा नजिकै बेलारुसमा भएको पहिलो चरणको वार्ता कुनै समाधान निकाल्न विफल भएको थियो।
क्रेम्लीनका प्रवक्ता डिमित्री पेस्कोभले रुसी प्रतिनिधि उपलब्ध रहेको बताउनुभएको हो।
राष्ट्रपति पुटिनका सहयोगी भ्लादिमिर मेदिन्स्की फेरि पनि रुसका तर्फबाट प्रमुख वार्ताकार हुने विवरणहरूमा जनाइएको छ।
युक्रेनी राष्ट्रपतिका सल्लाहकारले भने कुनै प्रगति हुनेबारे निराशा व्यक्त गर्नुभएको छ।
उहाँले युक्रेन आफ्नो अडानमा कायमै रहेको बताउनुुभयो।
पूर्वराष्ट्रपतिलाई युक्रेनी नेता बनाउने रुसको चाहना
पूर्वराष्ट्रपति भिक्टोर यानुकोभीचलाई युक्रेनको नयाँ नेता घोषणा गर्ने रुसको चाहना भएको विवरण युक्रेयिन्स्का प्राभ्दा वेबसाइटले युक्रेनी गुप्तचर संयन्त्रलाई उद्धृत गर्दै प्रकाशित गरेको छ। उक्त वेबसाइटमा समाचार र विश्लेषण प्रकाशित हुने गर्छ।
यानुकोभीच सन् २०१३-१४ मा भएको सरकारविरोधी आन्दोलनका बेला पदच्युत हुनुभएको थियो।
स्रोतका अनुसार यतिबेला उहाँ मिन्स्कमा भएको उक्त युक्रेनी वेबसाइटले लेखेको छ। उनी सन् २०१४ मा भागेर रुस जानुभएको थियो।
यानुकोभीचलाई पुनः स्थापना गर्न क्रेम्लिनले सञ्चारमाध्यममा एउटा अभियान चलाउने वा उहाँले युक्रेनी जनतालाई सम्बोधन गरेको भाषण प्रकाशित गराउने तयारी गरेको हुनसक्ने रुसको आकलन छ।
रुसलाई समर्थन गर्ने कुनै एक व्यक्तिलाई युक्रेन सरकारको प्रमुख बनाउने मस्कोले योजना बनाइरहेको यूकेले ज्यानुअरीमा बताएको थियो।
यूकेको फरेन अफिसले युक्रेनी सांसद येभ्हेन मुरायेभको नाम उल्लेख गर्दै उहाँ त्यसका लागि मस्कोको सम्भावित पात्र हुनसक्ने जनाएको थियो।
प्रतिरोधको तयारी गर्न मेयरको अनुरोध
युक्रेनको राजधानी किएभका मेयरले नगरका बासिन्दाहरूलाई रुसी फौज नजिक आइरहेको भन्दै मानिसहरूलाई घरभित्रै रहन र सहरको रक्षाका निम्ति तयारी गर्न आह्वान गर्नुभएको छ।
“दुस्मनले आफ्नो फौजलाई झन् झन् नजिक भेला गराइरहेको छ,” मेयर भिताली क्लित्स्कोले भन्नुभयो। सहरको बाहिरी भेगमा सङ्घर्ष सुरु भएको उहाँले बताउनुभयो।
“हामी तयारी गरिरहेका छौँ र हामी किएभको रक्षा गर्नेछौँ१ आफ्नो साहस कम हुन नदिन म किएभका बासिन्दाहरूलाई आग्रह गर्छु।”
हालसम्म किएभले रुसी अतिक्रमण प्रयासको प्रतिरोध गरिरहेको छ।
रुसी बख्तरबन्द गाडीहरूको करिब ६५ किलोमिटर लामो लस्कर उत्तरतिरबाट किएभतर्फ अघि बढिरहेका छन्।
सैन्य विश्लेषकहरू ठान्छन् पश्चिमबाट हुनसक्ने अतिक्रमणको प्रयासलाई बल पुर्याउन उक्त लस्कर त्यहाँ जम्मा भइरहेका छन्।
झन्डै ६ हजार रुसी सैनिक मारिएको युक्रेनको दाबी
युक्रेनी सेनाका अनुसार रुसले देशमा आक्रमण सुरु गरेयता अहिलेसम्म ५ हजार ८ सय ४० रुसी सैनिकको ज्यान गएको छ।
बीबीसीले उक्त दाबीको स्वतन्त्र पुष्टि गर्न सकेको छैन।
तर यूकेको रक्षा मन्त्रालयले युक्रेन अतिक्रमणका क्रममा रुसी सेनाले ठूलो क्षति बेहोरेको विश्वास गरेको छ।
युक्रेनले गरेको दाबीअनुसार हालसम्म रुसले यस्तो क्षति बेहोरेको छस्
- ५,८४० सैनिक
- ३० विमान
- ३१ हेलिकप्टर
- २११ ट्याङ्क
- ८६२ सशस्त्र गस्ती गाडी
- ८५ आर्टिलरी प्रणाली
- ९ विमानभेदक प्रणाली
- ६० इन्धन ट्याङ्क
- ३५५ गाडी
- ४० एमएलआर रकेट लन्चर (कब्जा गरिएको)
‘देशको लागि लड्न युक्रेनी यूकेबाट फर्किँदै
विदेशमा रहेका युक्रेनीहरु रुसी सेनासँग लड्न फर्किन लागेका छन् । रुसी सेनासँग लड्न यूकेबाट फर्किन लागेका युक्रेनी पुरुषहरूको एउटा समूहसँगबीबीसीले कुराकानी गरेको छ।
खेअरसन रुसी कब्जामा
रुसको रक्षा मन्त्रालयले रुसी सैनिकहरूले युक्रेनको दक्षिणी सहर खेअरसन आफ्नो नियन्त्रणमा लिएको बताएको छ।
यदि त्यसको पुष्टि भयो भने रुसले अहिलेसम्म कब्जामा लिएको त्यो सबैभन्दा ठूलो सहर हुनेछ।
राति खेअरसनका सडकहरूमा रुसी सैनिकहरू देखिएका थिए।
नगरप्रमुखले रुसी सेनाले खेअरसनको रेल स्टेशन र बन्दरगाह आफ्नो नियन्त्रणमा लिएको बताएका थिए।
खार्किभको गोलाबारीमा कम्तीमा २१ जनाको मृत्यु
युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा रुसले गरेको गोलाबारीमा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने १ सय १२ जना घाइते भएका छन्।
तर खार्किभ क्षेत्रका गभर्नरले भने रुसले गरेका सबै आक्रमणहरूको प्रतिकार गरिएको दाबी गर्नुभएको छ।
रुसले खार्किभमा मङ्गलवार र रातभरि ठूलो आक्रमण गरेको थियो। गभर्नर ओले सिनेगुबोभले शत्रुको पक्षमा ठूलो क्षतिभएको बताउनुभएको छ।
रुसले लडाकु विमानबाट गोलाबारी गरेको थियो भने सैनिकहरू खार्किभका उत्तरी र पूर्वोत्तर भागबाट सहरभित्र प्रवेश गरेका थिए।
एउटा स्थानीय समाचारसंस्थाका अनुसार खार्किभस्थित क्षेत्रीय प्रहरी विभागको एउटा भवनमा रकेट आक्रमण गरिएको छ।
युक्रेन सरकारका एक सल्लाहकारले टेलिग्राममा प्रेषित गरेको भिडिओमा एउटा भवनमा आगो लागेको देखिन्छ।
एन्टन गेराशेन्कोका अनुसार उक्त आक्रमणपछि काराजिक विश्वविद्यालयमा पनि आगो लागेको छ।
बीबीसीले उक्त भिडिओको स्वतन्त्र पुष्टि गरेको छैन।
युक्रेनीलाई स्वागत
सङ्ख्याको हिसाबले पोल्यान्डपछि हङ्गेरीले धेरै युक्रेनी शरणार्थीलाई आफ्नो देशमा आश्रय दिएको छ।
रुसी अतिक्रमणयता हङ्गेरीमा एक लाखभन्दा बढी युक्रेनी शरणार्थी पुगेका छन्।
सयौँका सङ्ख्यामा शरणार्थीहरू विद्यालयका कक्षाकोठा तथा खेलकुद हलमा अस्थायी आश्रय लिइरहेका छन्।
आश्रयस्थलसम्म पुग्न युक्रेनी शरणार्थीहरूलाई बस, मिनीबस र कारबाट निःशुल्क ओसारिँदैछ।
स्वयंसेवक तथा दोभाषेहरूले भिडमा पुगेर नामले पहिचान गर्ने तथा प्रतीक्षामा रहेकालाई सघाइरहेका छन्।
पुटिनलाई मूल्य तिर्न लगाउनुपर्छः बाइडन
अमेरिकी राष्ट्रपति जो बाइडनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक तानाशाहको सङ्ज्ञा दिँदै युक्रेनमाथि गरेको अतिक्रमणको मूल्य तिर्न लगाउनुपर्ने बताउनुभएको छ।
युक्रेनमाथि सुनियोजित र बिनाउक्साहट आक्रमण गर्दा रुसी राष्ट्रपतिले गलत आँकलन गरेको स्टेट अफ द यूनिअन सम्बोधनका क्रममा बाइडनले बताउनुभयो।
रुस अहिले हालसम्मकै सबैभन्दा धेरै एक्लिएको बाइडनले दाबी गर्नुभयो।
आफ्नो प्रशासनले अमेरिकी हवाई क्षेत्रमा निजी तथा व्यावसायिक सबै रुसी उडानहरूमाथि प्रतिबन्ध लगाएको सम्बोधनका क्रममा उहाँले पुष्टि गर्नुभयो।
अमेरिकी हवाई क्षेत्रमा रुसी विमान प्रतिबन्धित
अमेरिकाले आफ्नो हवाई क्षेत्रमा निजी तथा व्यावसायिक सबै रुसी उडानहरूमाथि प्रतिबन्ध लगाएको छ।
स्टेट अफ युनिअन सम्बोधनका क्रममा अमेरिकी राष्ट्रपति जो बाइडनले आफ्नो प्रशासनले प्रतिबन्ध लगाएको पुष्टि गर्नुभएको हो।
युरोपेली देश तथा क्यानडाले रुसी विमानहरूमाथि प्रतिबन्ध घोषणा गरेपछि अमेरिकी निर्णय बाहिर आएको हो।
राष्ट्रपति बाइडनले पछिल्लो कदमले रुस थप एक्लिने र उसको अर्थतन्त्रमाथि अझ दबाव सिर्जना हुने बताउनुभयो।
रुसी मुद्रा रुबलको मूल्यमा र शेअर बजारमा ३० देखि ४० प्रतिशतसम्म गिरावट आइसकेको छ।


















