काठमाडौं, १९ फागुन । आज ग्ल्याल्पो ल्होसार पर्व परेको छ ।
शेर्पा समुदायको नयाँ वर्षको रुपमा लिइने ग्याल्पो ल्होसारको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
तिब्बती परम्परा अनुसारको नयाँ बर्ष मानिने ग्लाल्पो ल्होसारलाई शेर्पा समुदायले धुमधामसंग मनाउने गर्दछन् । यो फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइन्छ ।
तिब्बती क्यालेण्डरमा १२ बर्षको नामाकरण गरिएको छ । पशुपंछीका नाममा नामाकरणमा मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराहलाई समेटिएको छ । हरेक १२ वर्षमा यो चक्र अनुसार नयाँ बर्ष फेरिन्छ ।
किंबदन्ती अनुसार एक बृद्धा महिला बेल्माले चन्द्रमाको गतिको आधारमा समयको गणना गर्ने विधि पत्ता लगाएकोले उहाँकै संझनामा यो सम्बत् मनाउन थालिएको हो । यो तिब्बतका नवौं सम्राट पुदे गुनग्यालको शासनकालदेखि मनाउन थालिएको बताइन्छ ।
यो पर्व १५ दिनसम्म मनाइने भएता पनि यसको प्रथम तीन दिन महत्वपूर्ण मानिन्छ । पहिलो दिन तिब्बती तथा शेर्पा समुदायको सोमरस छाड.कोल खाइन्छ, जुन छ्याड.जस्तै हुन्छ । दोस्रो दिन नयाँ बर्षको सुरुआत भएकोले त्यसलाई हर्षोल्लासपूर्वक मनाइन्छ । तेस्रो दिन यस समुदायका मानिसहरु भोजभतेरमा सरिक हुन्छन् ।
नयाँ बर्षको अवसरमा गुम्बाहरुमा देव दानव संघर्षका नृत्यहरु गरिन्छ । राजा र हरिणका शिकारको प्रस्तुति पनि हुन्छ ।


















