काठमाडौँ, १९ फागुन । सत्ता गठबन्धन दलहरूले संसद्को अवरोध हटाउन प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले(लाई आग्रह गरेका छन्।
बिहिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा गठबन्धनमा रहेका चार दलका शीर्ष नेताहरुले संसद्को अवरोध हटाउन प्रमुख प्रतिपक्ष दल एमालेलाई आग्रह गर्ने निर्णय गरेको हो।
सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसद् लामो समयसम्म सुचारु नहुँदा जनतामा संसद्प्रति नै नकारात्मक धारणा बन्न सक्छ भन्ने बारेमा छलफल भएको बताउनुभये।
“बैठकले प्रमुख प्रतिपक्ष दललाई संसद्लाई सञ्चालन गर्न राष्ट्रका यावत समस्याको बारेमा संसद्मा छलफल गर्ने वातावरण तयार गर्नका निमित्त आग्रह गर्ने निर्णय गरेको छ।”,सञ्चारमन्त्री कार्कीले भन्नुभयो ।
लामो समयदेखि संसद् बैठक अवरुद्ध हुँदा संसद्मा विचाराधीन महत्त्वपूर्ण विधेयकमाथि छलफल हुन सकेको छैन।
बैठकमा अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कार्यान्वयनका सम्बन्धमा पनि छलफल भएको थियो । बैठकको प्रारम्भ मै प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीलाई सबैको सहमतिमा अनुमोदन गर्नका निमित्त योगदान गरेका सबै दलका नेतृत्वलाई धन्यवाद दिनुभएको थियो।
बैठकमा स्थानीय चुनाव र चुनावी गठबन्धनलगायत विषयमा छलफल भएको बताइएको छ ।
बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्तासमेत रहेका ज्ञानेन्द्रबहादुर कार्की, कांग्रेस नेता रामचन्द्र पौडेल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादवलगायतका नेता सहभागी हुुनुहुन्थ्यो ।
काग्रेसका शीर्ष नेता पौडेल सरकार संचालन संयन्त्रका संयोजक पनि हुनुहुन्छ ।


















