सानेपा(ललितपुर), २९ फागुन । नेपाली काँग्रेसले आजदेखि “घर-घर जाऔं, नेपाली कांग्रेस जिताऔ” अभियान सुरु गर्दैछ ।
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी नेपाली कांग्रेसले यो एक महिने अभियान प्रारम्भ गरेको हो ।
यस अभियानको समुद्घाटन प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गर्नुहुने कार्यक्रम रहेको छ।
‘घर–घर जाऔँ, काँग्रेस जिताऔँ’ नारासहित प्रारम्भ हुने अभियान ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि परिचालन गरी एकैसाथ थालनी गर्ने काँग्रेसको तयारी छ ।
काँग्रेस उपसभापति पूर्णबहादुर खड्काले २०७९ वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई दृष्टिगत गरी काँग्रेसले पहिलो चरणमा ‘घर–घर जाऔँ, काँग्रेस जिताऔँ’ अभियान सुरु गरेको बताउनुभयो ।
फागुन २९ देखि चैत २९ गतेसम्म सञ्चालन हुने अभियानमार्फत जनतालाई पार्टीका एजेन्डाबारे जानकारी दिने र जनस्तरबाट आएका सुझाव सङ्कलन गर्ने उहाँले बताउनुभयो । काँग्रेसको दृष्टिकोण, राष्ट्रिय मुद्दाहरूमा लिइएका अडान र महìवपूर्ण विषयलाई जनतामाझ प्रस्तुत गर्ने उहाँले उल्लेख गर्नुभयो ।
नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आठवटा मुद्दामा केन्द्रित रहेर यो अभियान सञ्चालन हुने बताउनुभयो । उहाँका अनुसार स्थानीय तहको निर्वाचनमा मतदानमा सहभागी भएर आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदातालाई अपिल गर्दै निर्वाचनको माहोल बनाउने उद्देश्य अभियानको छ ।
‘हरेक काँधलाई भारी, हरेक हातलाई जिम्मेवारी’को नीति साथ पार्टीको विधानमा व्यवस्था गरिएका विभिन्न जिम्मेवारी बाँडफाँट गरेर पार्टी पङ्क्तिलाई स्थानीय निर्वाचनमा बृहत्तर परिचालनतर्फ उन्मुख गराउने उद्देश्यका साथ एक महिने अभियान सञ्चालन हुने उहाँले बताउनुभयो ।
काँग्रेसको नेतृत्वमा विगतमा हासिल राजनीतिक र आर्थिक उपलब्धि जनसमक्ष विस्तारित रूपमा राख्ने र नेकपा सरकारको गत तीन वर्षे कार्यकालमा भएका जनविरोधी गतिविधि, असंवैधानिक कदम र भ्रष्टाचार प्रकरण जनतासमक्ष उजागर पनि गरिने डा. महतले उल्लेख गर्नुभयो ।
यस अभियानका क्रममा नेपाली कांग्रेसले कम्युनिष्टहरुद्धारा छरिएका भ्रमहरुको पनि निवारण गर्ने छ । नेपालको विकास,वैदेशिक सम्बन्ध, विदेशी सहयोग, राष्ट्रियता, लोकतन्त्र,सुशासनका बारेमा पनि जनतालाई जागरुक बनाउने छ ।।
अभियानका क्रममा प्रधानमन्त्री देउवाकै नेतृत्वमा एमसीसी कम्प्याक्ट अनुमोदन भएको र यसबारे जनस्तरमा छरिएका भ्रम र दुष्प्रचारलाई बुँदागत रूपमा चिर्दै वास्तविकता नागरिकहरुसमक्ष पुर्याउने इरादा पनि कांग्रेसले राखेको छ ।
नेपाली कांग्रेसका प्रवक्ता डा. महतका अनुसार अभियान अघि बढाउन ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि पुगिसक्नुभएको छ ।
स्थानीय घोषणापत्र जारी गर्ने योजनाअनुरूप स्थानीय घोषणापत्र निर्माण समिति गठन गरेर काम सुरु गरिने छ ।
अभियानका दौरान ‘घोषणापत्र निर्माण संवाद’ तथा जनतासँग ‘विकास संवाद’ गरी जनअपेक्षा र आवश्यकताअनुरूपको बाटो, कल्भर्ट, कजवे, तटबन्ध वा अन्य कुनै पनि स्थानीय विकासका विषयमा स्थलगत रूपमै संवाद गर्ने उहाँले बताउनुभयो ।
साथै मतदाताको दृष्टिकोण, भावना र सुझाव सङ्कलन तथा काँग्रेसलाई ‘जनता के सुनाउन चाहन्छन्, के अपेक्षा राख्छन्’ भनेर नागरिक पङ्क्तिबाटै सुझाव लिने कार्यक्रम राखिएको उहाँले बताउनुभयो ।
केन्द्रीय प्रतिनिधि को कहाँ ?


















