काठमाडौं, ३० फागुन । फागुन महिनाको मसान्तमा नेपालको शेयर बजार कारोबार प्राविधिक समस्याले रोकिन गएको छ ।
सोमबार २ घण्टा पनि नचली सेयर कारोबार रोकिएको छ ।
ब्रोकरहरुको डाटा सेन्टरमा समस्या देखिएपछि १२ बजेर ५३ मिनेटदेखि शेयर किनबेच रोकिएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले जानकारी दिएको छ ।
नेप्सेका प्रवक्ता मुराहरि पराजुलीका अनुसार ब्रोकर कम्पनीहरुको डाटा सेन्टरमा देखिएको समस्याका कारण कारोबार रोकिएको हो ।
नेप्सेका महाप्रबन्धक कृष्णबहादुर कार्कीले यो समस्या नेप्सेको आइटी निर्माता कम्पनीलाई जानकारी गराई सकिएको र समयमा नै मर्मत संभार भएमा समय थप गरेर शेयर कारोबार सुचारु गरिने जानकारी दिनुभएको थियो ।
तर अहिलेसम्म समस्या समाधान भएको सूचना आएको छैन । यसैले आज पुनः कारोबार हुने संभावना कम हुँदै गएको छ ।
नेपाल स्टक एक्सचेञ्जले ठूलो धनराशी खर्चेर पनि विश्वस्तरीय र विश्वमा प्रमाणित प्रविधि जडान नगरेकोमा यसको आलोचना भएको थियो ।


















