Prakash Adhikari March 19, 2022

नेपालगञ्ज(बाँके), ५ चैत्र । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाश शरण महतले आगामी स्थानीय निर्वाचनमा गठबन्धनको संभावनालाई नकार्न नसकिने बताउनुभएको छ ।

सल्यानको एक कार्यक्रममा सहभागी हुने क्रममा शनिवार दिउँसो नेपालगञ्जमा उत्रिनुभएका प्रवक्ता डा. महतले नेपाल प्रेस युनियन बाँकेद्धारा आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताउनुभएको हो ।

“गठबन्धनको संभावनलाई नर्कान सकिदैन”,  प्रवक्ता डा.महतले भन्नुभयो, “यस विषयमा पार्टीको केन्द्रीय समितिमा छलफल हुन्छ । गठबन्धन गर्दा बढी सिट जितिन्छ भन्नेमा सहमति बन्यो र इच्छुक दलहरुको उपयुक्त प्रस्ताव आयो भने गठबन्धन हुन्छ । प्रस्ताव कस्तो आउछ त्यसमा भरपर्दछ । विनविन पोजिसनमा हुन सक्छ ।”

उहाँले हरेक पार्टीको लक्ष्य निर्वाचनमा सकेसम्म बढी सिट जित्ने भएकोले गठबन्धन गर्दा धेरै सिट जित्ने देखियो भने गठबन्धन हुने र त्यसको मोडेल केन्द्रले निर्धारण गर्ने पनि बताउनुभयो ।


उहाँले नेपाली कांग्रेसका कार्यकर्ताहरु अहिले गठबन्धन गर्न हुन्छ हुँदैन भन्ने बहसमा नअल्झन नहुने पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, “गठबन्धनको बारेमा अहिल्यै जनतालाई भन्न जरुरी छैन । हामी सत्यमा, कानूनमा, नागरिक स्वतन्त्रतामा, मानव अधिकारमा, यथार्थमा विश्वास गर्ने, पारदर्शितामा विश्वास गर्ने पार्टी हो । हामीलाई विश्वास गर्नुस् भन्ने हो । कांग्रेसका प्रति गुनासो भए, विकासका समस्या भए भन्नुस् भन्ने हो ।”

नेपाली कांग्रेसले आरम्भ गरेको “घरघर जाऔं नेपाली कांग्रेसलाई जिताऔं” भन्ने राष्ट्रिय अभियानमा बढीभन्दा बढी जनतालाई पार्टींसंग जोड्न पनि पार्टीका हरेक तहका नेता तथा कार्यकर्ताहरुलाई उहाँले आग्रह गर्नुभयो ।

उहाँले यो अभियानका क्रममा नेपाली कांग्रेसका नेता कार्यकर्ताले आफ्नो पार्टीका प्रतिनिधिहरुले गरेका काम, तिनै तहका सरकारले गरेको कामका बारेमा नागरिककाबीचमा जानकारी गराउने र नागरिकका गुनासा सुनेर पार्टीका विभिन्न निकायमार्फत तिनको समाधान गर्ने पद्धति बसाउने पनि बताउनुभयो ।

उहाँले यस अभियानमा विपक्षीहरुद्धारा स्थानीय तथा राष्ट्रिय स्तरमा उठाइएका भ्रम तथा अफवाहलाई पनि चिरिने बताउनुभयो ।

उहाँले फागुन २९ गतेदेखि सुरु भएको घरघर जाऔं,कांग्रेस जिताऔं अभियानले स्थानीय निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी बनाउने आधार तयार गर्ने बताउदै भन्नुभयो,“स्थानीय निर्वाचन जितेपछि प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा नेपाली कांग्रेसलाई कसैले हराउन सक्ने छैन।”

उहाँले चुनाव जित्ने प्रयास नगर्ने पार्टीहरु क्लबमा परिणत हुने उल्लेख गर्दै भन्नुभयो, “राजनीतिक दलहरु निर्माण भएकै निर्वाचन जित्नलाई हो ।  निर्वाचन जितेर सत्तामा पुगेर पार्टीको नीति कार्यक्रम लागू गर्ने । स्रोत साधन देश रजनताको हितमा सदुपयोग गर्ने र जनतालाई सुख  र समृद्धि दिने हाम्रो लक्ष्य हो । ”

उहाँले आगामी स्थानीय निर्वाचनमा पार्टीका तर्फबाट उठाइने उम्मेदवारहरुकोटुंगो चैत्र महिनाभित्रै लाग्ने पनि बताउनुभयो ।

“यसपटक विगतमा भए जस्तो उम्मेवादी दिने अन्तिमदिनसम्म को उठ्ने हो भन्ने टुंगो नलाग्ने स्थिति रहने छैन् । निर्णय गर्ने प्रकृया पनि विभिन्न तहमा विकेन्द्रित छ । चैत्र महिनाभित्रै उम्मेदवारको टुंगो लगाउने कोशिस गछौं ।”, प्रवक्ता महतले भन्नुभयो ।

उहाँले पार्टीका तल्लो तहका समितिले टुंग्याउन नसकेका विवाद भए केन्द्रले हेर्न सक्ने पनि बताउनुभयो । उहाँले भन्नुभयो ,“जुन तहको हो उम्मेद्वारी हो , त्यही टुंगियोस् । सर्वसम्मत भएर टुंगियोस् भन्ने केन्द्रको चाहना छ ।”

प्रवक्ता डा.महतले अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेञ्ज कर्पोरेशनबाट नेपालको सडक विस्तार र विद्युत प्रशारण लाईन निर्माणका लागि प्राप्त ५० करोड अमेरिकी डलर (झण्डै ६० अर्ब नेपाली रुपया भन्दमाथि)को अनुदान सहयोग लने संबन्धमा भएको संझौता नेपाली कांग्रेसको प्रयासले संसदबाट पारित भएको पनि बताउनुभयो ।

उहाँले यो संझौता लिने सम्बन्धमा अहिले संसदमा रहेका सबै दलहरु  सरकारमा बस्दा अगाडि बढाउन सहमति दिएकोले नेपाली कांग्रेसले कुनै दलले विपक्षमा नहुने विश्वासमा लामो समयसम्म यसका बारेमा मुख नखोलेको बताउनु भयो ।

बीपी कोइरालाको भनाईलाई उद्घृत गर्दै उहाँले भन्नुभयो, “वी पीले भन्नुभएको थियो, जब सत्यको मुख बन्द हुन्छ, झूटाको थुतुनो चल्छ । अर्थात सत्य जानेका चुप बसेपछि जसले झूटो बोल्छ । बाँकीले त्यसको कुरा पत्याउने स्थिति हुन्छ । एमसीसीमा त्यही भएको हो ।”

प्रवक्ता डा.महतल थप्नुभयो, “जब नेपाली कांग्रेसले सत्य बोल्न थाल्यो । एमसीसीका बारेमा कम्युनिष्टहरुले सिर्जना गरेको झूठको पर्दा गिर्न थाल्यो । आफू सत्तामा बस्दा ठिक हुन्छ भनेर सहमति गरेको छ । अगाडि बढाएको छ । पारित गर्ने बेलामा सडकमा उफ्रिएको छ । नेपालको अन्तराष्ट्रिय साखः गिरिसकेको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाको सुझबुझपूर्ण नेतृत्वले एमसीसीमा राष्ट्रिय सहमति जुटाएर पुनस्थापित गर्ने काम गरेको छ ।”

उहाँले नेपाली कांग्रेसले एमसीसी लगायत सबै राष्ट्रिय मुद्दाहरुमा सत्तामा हुँदा र सधै एकैनासले सत्य र यथार्थमा आधारित कुरा राख्दै आएको पनि उहाँले दाबी गर्नुभयो ।

उहाँले अमेरिकी अनुदानमा आएको यो सहयोेग अरु विदेशी सहयोग  भन्दा उदार भएको उललेख गर्दै भन्नुभयो,“यो अनुदान सहयोगमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा हुन्छ । खर्च परिचालन र सञ्चालन अर्थसचिवको नेतृत्वमा रहने एमसीए नेपालले गर्छ । नेपालको महालेखाले लेखापरीक्षण गर्दछ । यसमा आउने सहयोग निर्धारित परियोजना बाहेक अन्यन्त्र खर्च गर्न पाइदैन । यो परियोजना सकिएपछि यसले बनाएका  संरचना नेपाल सरकारलाई हस्तान्तरण हुन्छ ।”

प्रवक्ता डा. महतले एमसीसीको पारदर्शी र उदार मोडललाई अन्य दातृ राष्ट्र र निकायले समेत अबलम्बन गर्न उचित हुने बताउनुभयो ।

संवाददाताहरुले निर्वाचन आयोगले स्थानीय तहका पदाधिकारीले निर्वाचनमा उम्मेद्वारी दिन पदबाट राजिनामा दिनपर्ने सम्बन्धमा संवाददाताहरुले सोधेको प्रश्नमा भन्नुभयो,“त्यो आवश्यक थिएन । व्यवहारिक पनि छैन ।”

उहाँले सत्ता वगठबन्धनमा सहभागी दलहरु आगामी निर्वाचनमा मिलेर लड्ने सम्बन्धमा एमसीसी पास गर्दा सहमति नभएको बताउनुभयो ।
Share Now

Leave a comment.